जुनसुकै बेला चुँडिन सक्छ सत्ता स्वार्थको धागो

सेक्टर काण्डको लगत्तैपछि २०४० को दशकको प्रारम्भबाट अहिलेसम्म पार्टीको शीर्ष नेतृत्व तहमा रहेका प्रचण्ड तीन दशकभन्दा लामो समयसम्म पार्टीको शीर्षतम स्थानमा लगातार रहिरहेका छन् ।

नेपालको इतिहासमा सबैभन्दा ठूलो र एक दशक लामो सशस्त्र संघर्ष उनले आफ्नै अगुवाइमा सञ्चालन गरेको जगजाहेर छ । केपी ओलीको सापेक्षतामा ‘देशमा गणतन्त्र, समतामूलक समावेशिता र समाजवाद उन्मुख संविधान ल्याउन मेरो ज्यादा योगदान छ’ भन्ने स्वभावतः र विद्यमान अहंकार देखिन्छ ।

उनी नेपालका सर्वाधिक महत्त्वाकांक्षी नेताका रूपमा समेत सुपरिचित छन् । यी सबै कुराको पृष्ठभूमिमा कसैको नेतृत्वमुनि दोस्रो तहको नेताको रूपमा रहने प्रवृत्ति उनमा देखिँदैन । त्यसमाथि, नेपाल त्यस्तो देश हो, जहाँ अहंकारजन्य सामन्ती संस्कृति हरेक राजनीतिक नेतामा टनाटन विद्यमान छ ।

यहाँ जापान, सिंगापुर वा युरोपेली मुलुकमा जस्तो प्रधानमन्त्री भइसकेको मान्छे मन्त्री हुन तयार हुँदैन । अध्यक्ष भइसकेको व्यक्ति सदस्य हुन सहमत हुँदैन । अहंकारले छेकिहाल्छ ।

त्यसैले प्रधानमन्त्री पद वा पार्टीको अध्यक्षमध्ये कुनै एक पद नपाएमा ओली र प्रचण्डबीचको सम्बन्ध अहिलेको जस्तो सुमधुर रहिरहला भन्न सकिन्नँ ।

त्यो स्थितिमा उनीहरूबीच सत्ताको स्वार्थले जाडेको मसिनो धागो चुँडिनेर त्यसले पार्टी एकता नै भताभुङ्ग हुने जोखिम प्रबल छ ।

एकताः टुप्पी बाँधिएका बेग्लाबेग्लै टाउका

कुनै बलियो वैचारिक, सैद्धान्तिक र राजनीतिक जगमा खडा नभएको हुनाले नेकपामा एमाले र माओवादी नामका दुई अलगअलग पार्टीको टुप्पी मात्र एक ठाउँमा बाँधिएझैं भएको छ ।

ती दुई दलको टाउको पनि अलग्गै छ, शरीर पनि अलग्गै र मन पनि अलग्गै । बेग्लाबेग्लै राजनीतिक र ऐतिहासिक पृष्ठभूमिबाट आएका ती दुईको रसायनिक रूपमा एकै भाँडोमा अन्तरघुलन भएकै छैन ।

ती दलहरू तेल र पानी एकै भाँडोमा परेझैं भएका छन् । नेकपा वास्तवमा राजनीतिक दल कम, सत्ता प्राप्तिका लागि चुनावी संयुक्त मोर्चा ज्यादा भएको छ ।

यस्तो मोर्चा सत्तास्वार्थ मिलुन्जेल एकजुट रहिरहन्छ, त्यो नमिल्नासाथ छताछुल्ल भइहाल्छ । मूलतः कार्यकारी अध्यक्ष प्रचण्ड र उनको सहयोगी जमात प्रधानमन्त्री ओलीले छुट्याइदिएको सत्ताको भागमा र प्रदान गरेको सम्मानमा सन्तुष्ट रहुन्जेल त्यो पार्टी एकतावद्ध रहिरहनेछ ।

त्यसमा दायाँबायाँ हुनेबित्तिकै यो पार्टीमा फुट अवश्यम्भावी हुनेछ । यो फुटले देशको राजनीतिमा निकै ठूलो उलटफेर ल्याउनेछ । संसदमा बहुमत नभएका दलहरू मिलेर त्रिशंकु सरकार बनाउने क्रम फेरि सुरु हुनेछ ।

राजनीतिमा अस्थिरता र त्यसको कारण देशको आर्थिक विकासका काममा पनि दुष्प्रभाव प्रारम्भ हुनेछ ।

शिलापत्रसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार