सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले गुटबन्दी र विधिहीनताले फरक परिणाम नदिने बताएका छन् ।

स्थायी कमिटी बैठकको तेस्रो दिन अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि आफ्ना विचार प्रस्तुत गर्दै वैचारिक नेता भुसालले उही काम दोहोर्‍याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी नहुने विचार व्यक्त गरे ।

“उही काम दोहोर्‍याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिए झैँ, आजकै वैचारिक र साङ्गठानिक अस्पष्टता, गुटबन्दी र विधिहीनता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नआउने कुरा स्पष्ट छ,” उनले बैठकमा लिखित धारणा राखे ।

बरु यथास्थितिकै विस्तार हुने बताउँदै केन्द्रीय कमिटीको आगामी बैठकभन्दा अघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यका बीच ‘आजको पार्टी’ वा ‘कम्युनिष्ट पार्टीको आजको कार्यभार’ वा यस्तै कुनै उपयुक्त शीर्षकमा ५–७ दिनको कार्यशाला आयोजना गर्न भुसालले सुझाव दिएका छन् ।

त्यस कार्यशालामा पार्टीका सैद्धान्तिक, राजनीतिक र साङ्गठानिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकाल्न उनको सुझाव छ ।

गम्भीरतापूर्वक विचार गरौं हामी कता जाँदैछौं ?

स्थायी कमिटी बैठकमा भुषालले कम्युनिस्ट पार्टी र नेकपा आन्दोलन कता जाँदैछ भनेर समीक्षा गर्न आग्रह गरेका छन् ।

दलाल पुँजीवादले कम्युनिस्ट आन्दोलनलाई निल्ने खतरा बढेको औंल्याउँदै भने, “आजको कम्युनिष्ट पार्टीले पनि राष्ट्रिय पुँजी र समाजवादको राजनीति, अर्थतन्त्र र संस्कृतिको पुनरुत्पादन गर्नु पर्छ, र अझ बढी मात्रामा उत्पादन गरेर मात्रै क्रान्तिले जित्छ । नत्र दलाल पुँजीवादले कम्युनिस्ट पार्टी स्वयंलार्ई निलिदिनेछ । कमरेडहरू ! गम्भीरतापूर्वक विचार गरौँ, हामी कता जादैछौँ !”

अहिलेको पुँजीवादको खास चरित्र दलाल पुँजीवादी छ भन्नुको कारण आर्थिक, राजनीति, कानुनी तथा न्यायिक व्यवस्था, कर्मचारीतन्त्र, बौद्धिक तथा नागरिक समाज, संस्कृति र सामाजिक चेतनामा त्यसले हाँगा हालेको र आफूजस्तै बनाएको भुसालको निष्कर्ष छ ।

“हरेक उत्पादन पद्धतिले आफूलार्ई निरन्तर पुनरुत्पादन गरिरहन्छ । दलाल पुँजीवादले पनि आफू अनुकूलका पार्टी, नेता, मन्त्री, सांसद, बौद्धिक, पत्रकार, कर्मचारी, सामाजिक अभियानकर्ताहरू पनि जन्माइरहन्छ,” उनले किटान गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार