
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले केन्द्रदेखि तल्लो तहसम्मै उपाध्यक्ष पदको व्यवस्था गर्न माग गरेका छन् ।
नेकपाको जारी सचिवालय बैठकमा २५ पृष्ठ लामो सुझाव राखेका रावलले केन्द्रीय कमिटीमा मात्र उपाध्यक्षको पद राख्दा विरोधाभाषपूर्ण निर्णय हुने भन्दै तल्लो तहसम्म पार्टीमा उपाध्यक्ष पद राख्न माग गरेका छन् ।
नेकपाले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने उद्देश्यले विधान संशाेधन गरेर उपाध्यक्ष पद राख्न स्थायी समितिमा प्रस्ताव पेश गरेको छ । रावलले पार्टीमा वरिष्ठ नेता पदप्रति पनि असन्तुष्टि जनाएका छन् ।
उनले विधानमा रहेको वरिष्ठ शब्दलाई संशाेधन गरी वरिष्ठता क्रममा अगाडि भन्ने शब्दावली राख्न प्रस्ताव गरेका छन् ।
उनले विधानको धारा २ को उपधारा ३९ मा रहेको वरिष्ठ भन्ने शब्दको सट्टा वरिष्ठता क्रममा अगाडि भन्ने शब्दावली राख्न प्रस्ताव गरेका हुन् ।
१५ सदस्यीय सचिवालय प्रस्ताव
नेता भीम रावलले केन्द्रीय सचिवालयको संख्या बढाउन बैठकमा प्रस्ताव गरेका छन् । हाल कायम ९ सदस्यीय सचिवालयलाई १५ सदस्यीय बनाउन उनले प्रस्ताव गरेका छन्, जसमा उनले हाल थप गर्न खोजिएका उपाध्यक्षलाई भने अटाएका छैनन् ।
उनको प्रस्तावित सचिवालयमा अध्यक्ष, वरिष्ठतम् नेता, प्रवक्ता र महासचिवसहित १५ सदस्यीय हुनुपर्ने प्रस्ताव गरेका छन् ।
उनले सचिवालयले पर्याप्त समय नदिई विधान संशाेधनको प्रस्ताव गरेको भन्दै सचिवालयका नेताहरूको लिखित रूपमै आलोचनासमेत गरेका छन् ।
प्रस्तावनामै संशाेधन माग
नेता रावलले पार्टी विधानको प्रस्तावना नै संशाेधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा पार्टीको रणनीतिक लक्ष्य अर्थात् आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हुनुपर्ने प्रस्ताव गरेका छन् । त्यसैगरी, तत्कालीन कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हुनुपर्ने भनेका छन् ।







