तपाईको विचारमा प्रचण्ड बहुमत भएर पनि सरकारले काम गर्न नसक्नुको कारण के होला ?

यहाँ कुनै राम्रै एउटा पक्ष आउने हो भने पनि त्यसले काम गर्न सक्दैन । हाम्रै चित्रबहादुर केसी नै सरकारमा जानुभयो । उहाँले पनि आफ्नै विभागमा रहेको भ्रष्ट्राचार अन्त्य गर्ने काम गर्न सक्नुभएन । कतिपय भ्रष्ट कर्मचारीलाई उहाँले निकालिदिनुभयो । तर, उनीहरुले सर्वाेच्चमा गएर फेरि ‘स्टे अडर’ लिएर आएर बस्ने काम गरे । प्रशासन यस्ता मान्छेहरूले भरिएका छन् । त्यसकारण यो सम्पूर्ण व्यवस्था नै गलत छ । यहाँ कुनै सरकार आए पनि काम गर्न सक्दैन ।

तपाईं केपी शर्मा ओली र प्रचण्डलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? को बढी क्रान्तिकारी ?

त्यसरी एउटा व्यक्तिको तुलना गरेर नजाऊँ । गणतन्त्रको पक्षमा र धर्मनिरपेक्षताको पक्षमा केपी र प्रचण्ड दुबैले स्पष्ट अडान लिएका छन् । तर, राष्ट्रियताको पक्षमा उनीहरूले त्यति स्पष्ट अडान लिएको हामी देख्दैनौं । उनीहरू कयौँपटक ढुलमुल भएको देखिएको छ ।

जस्तो- पेपरहरूमा आयो । यहाँको पुलिसको संरचना निर्माणका लागि पुरै भारतलाई जिम्मा दिने प्रकारको निर्णय भएछ । जस्तो- केपी शर्माले पहिले महाकाली सन्धिमा पनि त्यो सन्धिलाई पारित गराउन पूरै भूमिका खेलेका थिए । नागरिकतासम्बन्धी विधेयकमा बारम्बार उनीहरूले उदारवादी बनाउने कोशिस गरिरहेका छन् ।

केपी शर्माकै कुरा गर्दा सुशील कोइरालाले जब जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्छ भनेर प्रस्ताव ल्याए, त्यो मूलरूपमा भारतले ल्याएको प्रस्ताव हो ।

मधेसवादीहरूले ल्याइरहेका थिए, त्यसलाई सुशील कोइरालाले विधेयक ल्याए । पछि केपी शर्माले पारित गराए । यसरी केपी शर्माको विषयमा पनि बारम्बार ढुलमुल चरित्र देखिइरहेको छ ।

त्यसै गरेर प्रचण्डको विषयमा कुरा गर्दा, केपी शर्मा ओलीले चीनसँग सम्झौता गरेर आए । त्यसमा भारत असन्तुष्ट भयो । प्रचण्डलाई उचालेर उनलाई प्रधानमन्त्री दिने भनेर त्यो सरकारलाई अपदस्थ गर्न लगाइयो । आफंैले समर्थन गरेको, आफैं सहभागी भएको सरकारलाई प्रचण्डले त्यसैका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याए । त्यसैले यी कम्युनिस्ट भए पनि ढुलमुल छन् । अवसरवादी छन् ।

विगतमा तपाईसँग रहँदाका प्रचण्ड र सत्तामा पुगेपछिका पुष्पकमल दाहालमा के फरक पाउनुहुन्छ ?

त्योबेला उनलाई हाम्रो युवक मोर्चाको अध्यक्ष बनाएका थियौँ । त्यसबेला उनमा राम्रो जोस, उत्साह र सक्रियता थियो । पछि उनले सशस्त्र युद्धको सञ्चालन गरे । त्यसको नेतृत्व गरे । उनको चरित्र क्रान्तिकारी प्रकारको छैन, दक्षिणपन्थी संशोधनबादी प्रकारको छ । उनले गरेको सशस्त्र क्रान्तिको दिशामा लैजानका लागि होइन, आफ्नो व्यक्तिगत महत्वकांक्षा पूरा गर्नका लागि हो भनेर हामीले त्योबेला नै विरोध गरेका थियौँ ।

अनलाइनखबरसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार