पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता नेपालले स्वीकार गर्नु नहुने बताएका छन् ।

मंगलबार हेटौंडामा पार्टीका वडा कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा नेपालले पाँच वर्षभित्र नेपालमा करिब ५५ अर्ब रुपैयाँ खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालकै लागि घातक हुने दाबी गरे।

उनले इन्डो प्यासिफिक रणनीति भनेको अरुलाई पराजित गरी अमेरिकालाई शक्तिशाली बनाउने रणनीतिमा बनेको गठबन्धन भएको दाबी गरे।

नेपालको आन्तरिक मामिलामा अरुको हस्तक्षेप स्वीकार नभएको भन्दै नेता नेपालले आफूहरुले एमसीसीबाट अनुदान लिए दीर्घकालीन समस्या देखा पर्ने दाबी गरे। एउटाको विरुद्धमा अर्काको पक्षमा लाग्न नहुने भन्दै उनले एमसीसी कसैको विरुद्ध नभई आर्थिक विकासको निम्ति मात्रै हो भने मात्र स्वीकार गर्न सकिने बताए।

नेता नेपालले अर्को प्रसंगमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूभाग भएको भन्दै भारतले उक्त भूमि नक्साबाट हटाउनुपर्ने बताए।नेपालको भूमि फिर्ता गराउनेबारे नेपाली कांग्रेस पनि सकारात्मक रहेको भन्दै उसलाई पनि सँगै लिएर राष्ट्रियताको लडाईं लड्नुपर्ने उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार