अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सबै अमेरिकीहरू घर फर्किऊन् भन्ने चाहन्छन् । उनीहरू विश्वको रखवाला बनिरहेका छन् भने त्यसका लागि विदेशीहरूले अमेरिकीलाई राम्रो पैसा तिर्नुपर्ने उनको भनाइ छ । कुनै क्षेत्रबाट चाहिँ अमेरिका पूरै हट्नुपर्ने ट्रम्प बताउँछन् ।

यो कुरा सन् २०२० मा थप सशक्त रूपमा राखिने सम्भावना छ । ट्रम्पलाई यस वर्ष हुने चुनावमा पुनर्निर्वाचित हुनबाट रोक्नका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवारहरू उनी एकान्तवादी भएको बताउँछन् । नोभेम्बर महिनामा अमेरिकी मतदाताहरू लामबद्ध हुनुअघि ट्रम्प कम्तीमा एउटा युद्धग्रस्त क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता बोलाउन चाहन्छन् । अनि कुनै पनि नयाँ युद्धमा अमेरिका सहभागी नहोस् भन्ने ट्रम्पको चाहना छ । सन् २०२० मा अमेरिका थप आफैंभित्र केन्द्रित हुँदा क्षेत्रीय शक्तिहरू र महाशक्ति चीनले फाइदा लिन खोज्दैछन् ।

चीनका राष्ट्रपति सी चिनफिङले यस अवसरलाई खेर जान दिने छैनन् । उनले दक्षिणपूर्वी एसियालाई पश्चिमी प्रभावबाट मुक्त गर्ने कोशिश गरिरहेका छन् । अमेरिकासँगको व्यापारयुद्धलाई उपयोग गरेर उनले चीनलाई माइक्रोचिप्स, सफ्टवेयर र सर्भरमा आत्मनिर्भर बनाउँदैछन् र यसका लागि बजार पनि तयार पार्दैछन् । अनि यसको डिजिटल स्ट्यान्डर्डलाई उनी संसारभरि निर्यात गर्दैछन् ।

रुसले पश्चिम एसिया, अफ्रिका र युरोपमा आफ्ना सैन्य हतियार बेच्नेछ । भ्लादिमिर पुटिन युक्रेनलाई क्राइमिया गुमाएको कुरालाई स्वीकार गर्न फकाइरहेका छन् ।

इरानले भूमध्यसागरसम्म पुग्ने गरी आफ्नो अनौपचारिक शिया साम्राज्य निर्माण गरिसकेको छ । ट्रम्पले युद्ध गर्न नचाहेको तथ्यलाई मद्देनजर गर्दै तेहरानले यमनमा आफ्नो पकड थप मजबूत बनाउनेछ र कट्टर शत्रु साउदी अरबलाई कुनामा पार्नेछ । इरान अहिले हावी हुँदैछ यद्यपि तेलको मूल्य यथावत रहँदा अनि अमेरिकी प्रतिबन्धले निसासिँदा उसको अर्थतन्त्र मन्द हुँदैछ ।

सन् २०२० को आरम्भतिरै युरोपेली संघबाट बेलायत बाहिरिनेछ तर त्यसबाट धेरै परिणामको अपेक्षा गर्न सकिन्न । अमेरिका र चीनबीचको ध्रुवीकरणको बारेमा जति नै चेतावनी दिए पनि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों आफ्नै देशको येल्लो भेस्ट आन्दोलनमा घेरिएका छन् । जर्मनी, स्पेन, इटली र लगभग पूरै युरोप स्थिर नेतृत्वको खोजीमा छ ।

ब्रेक्जिटपछि बोरिस जोनसन देशको अर्थतन्त्र नडुबोस् भनी सुनिश्चित गराउने दिशामा अघि बढ्नेछन् । उनले ट्रम्पकै शैलीमा करछुट दिने र मौद्रिक उदारता देखाउने अपेक्षा छ ।

जापान राजनीतिक रूपमा स्थिर रहनेछ तर उसको अर्थतन्त्रले संघर्ष गर्नेछ र प्रधानमन्त्री शिन्जो आबेको आफ्नो देशलाई पुनः सैन्यीकृत गर्ने आशा पनि पूरा हुन गाह्रो छ ।

इजरायलको राजनीतिक गतिरोध सन् २०२० मा पनि कायम रहनेछ तर जेसुकै परिणाम आए पनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युग अब अन्त्य भएको छ ।

अफगानिस्तानको युद्ध अन्त्य भएर अमेरिका त्यहाँबाट हटोेस् भन्ने ट्रम्पको उत्कट चाहना छ । नयाँ दिल्ली यो सम्भावना देखेर दंग छ । अमेरिका हिँडेपछि तालिबानले अफगानिस्तानमा शासन गर्ला भनेर मुख मिठ्याइरहेको पाकिस्तानसँग यसबाट फाइदा लिने ह्याउ छैन । सन् २०२० मा पाकिस्तान बंगलादेशभन्दा पनि सानो अर्थतन्त्र बन्नेछ । तर अमेरिकाको राष्ट्रपति निर्वाचनमा आपसी झैझगडा चर्किरहने भएकाले कुनै नीतिगत पहलको अभावमा अफगान युद्ध चलिरहने सम्भावना छ ।

यो सब भइरहँदा अफ्रिकी मुलुक बुर्किनो फासो भूराजनीतिक डार्क हर्स बन्न सक्ने सम्भावना छ किनकि त्यो सानो देश इस्लामिक स्टेट आतंकवादीहरूको कब्जामा जाने सम्भावना छ ।

अमेरिकी निर्वाचन विश्वको भविष्य निर्धारण गर्ने प्राथमिक तत्त्व हो । ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भए भने अमेरिकाले अन्तर्राष्ट्रिय मञ्चबाट हात झिक्नेछ र बहुपक्षीय संगठनहरूलाई कमजोर बनाउनेछ । अनि चीनसँग अमेरिकाको व्यापार विवाद चलिरहनेछ ।

उनलाई वामपन्थी डेमोक्रेटले हराएमा अमेरिका अन्तर्राष्ट्यि मञ्चबाट हट्ने काम जारी रहनेछ तर चीनसँगको व्यापारयुद्ध हुने छैन । तर मूलधारे राजनीतिकर्मी जो बाइडेनले चुनाव जिते भने चीनसँगको व्यापारयुद्ध अन्त्य हुने मात्र हो । त्यसैले अमेरिकी निर्वाचन अभियान चल्दै जाँदा संसारले उत्सुकताका साथ हेरिरहेको छ ।

ट्रम्पको विजय सुनिश्चित छैन किनकि स्वतन्त्र मतदाताहरूले मन बनाइसकेका छैनन् । विश्व अर्थतन्त्र जस्तै अमेरिकी अर्थतन्त्र पनि सन् २०२० मा मन्द हुन सक्छ । ट्रम्पले खतरनाक तवरले मनोरञ्जन दिइरहने र ट्विटरलाई आफ्नो चुनावी अभियानको अनौपचारिक माध्यम बनाइरहने कुरा निश्चित छ । मिशिगनका मजदूर र विस्कोन्सिनका दुग्ध कृषकहरूको मूडले नै ट्रम्पलाई जिताउने वा हराउने कुरा निर्धारण गर्नेछ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित प्रमित पाल चौधरीको विश्लेषण

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार