तपाईंहरूले विकासको वैकल्पिक भाष्यको वकालत गरिरहनु भएको छ। अहिलेका प्रधानमन्त्रीले चाहिँ विकास–विकास भनिरहनु भएको छ नि? 

उहाँहरूले भनेको पञ्चायतको निरन्तरता हो। पञ्चायतमा पनि त थियो नि विकासको मुल फुटाउने नारा। यहाँ ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा दिएर हुन्छ र? दुई वर्षसम्म गरेको कामचाहिँ के हो त ? केही देखिँदैन।

ठूला–ठूला टावरहरू बनाउने कुरा सरकारले भनिरहेको छ। स्थानीय सरकारहरूले पनि त्यसैलाई प्राथमिकता दिएको देखिन्छ। अहिलेको सरकारको दिशा सामान्य मान्छेले समेत अनुभूत गर्ने खालको विकास गर्नेतिर छैन?

मैले अघि भनें यो पञ्चायतको निरन्तरता हो। कुनै ‘ब्रेक थ्रु’ छैन। त्यसको त कुरै छोडौं, अलि वैकल्पिक सोचाइ पनि छैन। बहस पनि छैन। हाम्रो प्राथमिकतामा के हुनुपर्ने हो भन्ने बहस पनि छैन। टावर बनाएर के हुन्छ? कुनै संकट पर्‍यो, युद्ध भएर २० लाख मान्छे खाडीबाट फर्केर आए भने यहाँ के गराउनुहुन्छ उनीहरुलाई? केही सोचाइ छ त्यसको?

भारतमा नागरिकताका नामबाट नयाँ संकट  सुरु भएको छ। दुई लाखभन्दा बढी नेपाली अहिले पनि काम गर्न भारत जान्छन्। तिनीहरूलाई खेदाइयो भने उनीहरु आएको अवस्थामा के गर्ने भन्नेमा सोचाइ छैन। ५० प्रतिशतभन्दा बढी हाम्रो जमीन बाँझो छ। उब्जाउ नगरिकन, जमिनसँग जनताको नाता नजोडीकन, उत्पादन नगरिकन, भारतले रोकिदियो भने के हुन्छ? भारतले दाल चामल रोकिदियो भने हामीले खान नपाउने अवस्था छ।

यो अवस्थामा हामी बाँचिरहेका छौं। अनि त्यो टावरले समस्याको समाधान दिन्छ? तपाईंसँग कमसेकम जीविका चलाउने अर्थतन्त्र नै छैन।

त्यतिमात्रै भए पनि संसारले सबथोक रोके पनि खाना नपाएर त मर्दैनथ्यौं। आत्मनिर्भर त हुनुपर्‍यो नि। बरु ठीक्क–ठीक्कको कपडा लगाउँला। खाने कुरा र हाम्रा आधारभूत आवश्यकताका कुरा हुन्छन्, तिनका लागि त आत्मनिर्भर हुनुपर्‍यो नि। त्यतातिर  पो लैजाने हो नि हामीले। नलगेपछि हामीले एक/दुई दिन एमसिसीको नाममा राजनीति गरेर के हुन्छ? एमसिसीबाट नआए यूएसएआइडीबाट आउँछ नि पैसा अथवा विश्वबैंकबाट आउँछ। के फरक पर्‍यो उही कुरा त हो।

अहिलेको सरकार विकाससम्बन्धी लामो भिजनसहित अगाडि आउने देख्नु भएको छ कि छैन? 

उहाँहरूले गर्न सक्नुहुन्न। उहाँहरूको चाहिँ यो पञ्चायतदेखिको निरन्तरता हो। राज्यसत्ता जसरी बनेको छ, त्यसमा जाने हो, खाने हो हिँड्ने हो। उहाँहरू जागिर खान जानु भएको हो, त्योभन्दा बढी गर्न सक्नुहुन्न।

विकाससम्बन्धी वैकल्पिक भिजन भनेको सिधा भाषामा के हो भने तपाईं जसरी पनि विदेशीको पैसा ल्याएर हुन्छ कि अथवा २० औं लाख नेपालीलाई विदेश पठाएर, त्यहाँबाट रेमिट्यान्स ल्याएर हुन्छ। जागिरैमात्र खान चाहनुहुन्छ। एउटा अर्थतन्त्र त्यही हो। त्यसबाट अलिअलि आफ्ना मान्छे, व्यापारीहरूले डोजर किनेका छन्। बाटो बनाउने नाममा बजेट दिनुहोस्, डोजरको व्यापार चल्छ। आफ्ना ठेकेदार छन्, धन्दा चल्यो। बाटोको ठेक्का दिनुहोस्, धन्दा चल्यो। त्योभन्दा बढी केही पनि हुने छैन।

जनतालाई कसरी बलियो बनाउने भन्ने विकासको रणनीति चाहियो। त्यो रणनीति बनाएर काम गर्ने हो भनेचाहिँ अहिले भनिरहेको विकासको सम्पूर्ण भाष्य परिवर्तन हुन्छ।

विश्लेषक युग पाठकसँग नेपाल लाइभले गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार