
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रस्तावित पार्टी उपाध्यक्ष बामदेव गौतमले सांसद बन्न अस्वीकार गरेका छन् ।
नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय सभा उम्मेदवार बन्न गरेको प्रस्तावलाई गौतमले अस्वीकार गरेका हुन् ।
उनले राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान भएका कारण आफु सांसद नबन्ने बताएका छन् ।
‘सचिवालय बैठकमा अध्यक्षद्धयले राष्ट्रियसभाको उम्मेदवार बनेर सांसद बन्न गरेको आग्रहलाई उहाँ (गौतम)ले राष्ट्रियसभाका सांसदले प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्ने हो भने मात्र आफू सांसद बन्न सक्ने बताउँदै अस्वीकार गर्नुभयो,’ सचिवालयका एक सदस्यले भने ।
यसअघि उनले प्रतिनिधिसभा सांसद बन्न पटक-पटक लविइङ गर्दै आएका थिए ।
गौतमले बर्दिया–१ बाट प्रतिनिधि सभाको निर्वाचन नेपाली कांग्रेसका सञ्जय गौतमसँग हारेका थिए । कांग्रेसका सञ्जय गौतमले ४४ हजार ८ सय २९ मत ल्याएका थिए भने वामदेव गौतमले ४४ हजार ७६ मत ल्याएका थिए ।
गौतम पराजित भए पछि पनि सांसद हुने रहर भने रोकिएन । उनले उपनिर्वाचन लडेर भएपनि सांसद हुने तयारी गरे । सबै भन्दा पहिला डोल्पाबाट निर्वाचन लड्ने तयारी गरे । डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन तयार पारे ।
तर उनको त्यो योजना प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले साकार हुन दिएनन् । उसो त उनले बर्दियका सांसदलाई पनि राजीनामा गराउने प्रयास गरे । तर त्यो प्रयास असफल भयो ।
२०७५ असोजमा काठमाडौं क्षेत्र–७ बाट प्रतिनिधि सभाका सदस्य रामविर मानन्धरले राजीनामा दिए । उनले गौतमलाई उपनिर्वाचनबाट सांसद बनाउन राजीनामा दिएका थिए । तर उनको राजीनामा अस्वीकृत भयो । त्यसपछि वामदेव गौतमको सांसद बन्ने सपना सपना पुरा भएन ।
गौतम त्यो समयमा निर्वाचन गराएर जितेमा प्रधानमन्त्री हुने योजना बनाएका थिए । उनको यो योजनामा अधयक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले साथ दिएका थिए । तर ओलीले यो योजना सफल हुन दिएनन् ।
अहिले नेकपाले गौतमलाई राष्ट्रिय सभामा लिन तयारी गर्दा अस्वीकार गरेका छन् । अस्वीकारको एउटै कारण हो, उनी प्रधानमन्त्री हुन पाउदैनन् । नेपालको संविधानमा राष्ट्रिय सभाको सदस्य मन्त्री हुन पाउने तर प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरेको छ ।
गौतमले धेरै पहिला देखि नै राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नु पर्ने माग गदै आएका छन् । तर उनको मागको सुनुवाई भएको छैन ।
कृष्ण गिरिले शिलापत्रका लागि तयार पारेको रिपोर्ट ।







