
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवात चितवन मेडिकल कलेजबाट गरिने चेतावनी दिएका हुन् ।
‘शुल्क फिर्ता नगरे कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं,’ चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुपमा चितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दी लगाइनेछ ।’ आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँग विद्यार्थीले मागेको अत्यावश्यक मागहरु लागू नगरेमा वा पूरा नगरेमा कठोर निर्णय लिन वाध्य हुने उनको चेतावनी थियो । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमा जाने अवस्थामा पुग्न लागेको उनको भनाई थियो ।
चन्दले चिकित्सा शिक्षामा चरम लुट, भ्रष्टाचार र कालोबजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्त गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नयाँ उचाईमा पु¥याइने बताए । आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने ‘हाम्रो आन्दोलन रोकेका छैनौ यसको रुप परिवर्तन हुनेछ ।’ अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाई थियो ।
माफियासंग लड्न सडकबाट बलिदान समेत दिन तयार रहेको उनले बताए । उनले भने ‘न्याय नपाएसम्म हामीले गरेको आन्दोलन रोकिने छैन् ।’ नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमा प्रस्तुत हुने बताए । पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभए सम्म अब तिर्नु पर्ने पैसामा रोक लगाउने बताए । उनले भने,‘माफिया र माफियासंग मिलेका सम्बन्धित निकायसम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं ।’ मेडिकल शिक्षा माफियामुक्त बनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो । उनले भने,‘ सरकारले खुल्ला रुपमा भन्नुपर्यो कि हामी माफियालाई साथ दिन्छौं ।’ राज्य लगायत सम्पूर्ण सरोकारवाला लाचार रहेको उनले बताए ।
संघर्ष समितिकी मान्यता थापाले सरकार मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लगाइन् । पाँच महिना अगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रति गम्भीर नरहेको बताइन् ।
उनले भनिन्,‘ मंसिर १० बाट मन्त्रीपरिषदबाट गरिएको निणर्यले पहिलो र दोस्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य कार्यवान्यन भएको छैन।’







