
राष्ट्रपति विद्या भण्डारी निकट मानिएकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफुलाई सभामुख बनाउन सारेको ३ प्रस्तावपछि केपी ओली र प्रचण्ड थप दबाबमा परेका छन् ।
पछिल्लो समय विन्दा पाण्डेको नेतृत्वमा नेकपाका माहिला सांसदको समेत साथ पाएकी तुम्बाहाम्फेले भने नेकपा नेतृत्वलाई प्रष्ट भाषामा तीन कुरा भनेकी छन् ।
१. मलाई सभामुख उम्मेदवार बनाउने निर्णय गर्नुुस्, राजीनामा दिन्छु ।
२. उम्मेदवार नबनाएर उपसभामुखकै हैसियतमा सभामुख निर्वाचन थाल्छु र सभामुख नेकपाले गुमाउछ ।
३. संविधानअनुसार मलाई महाअभियोग ल्याएर हटाउनुस् ।
उपसभामुख तुम्बाहाम्फे एकाएक यस्तो अडान लिएपछि सभामुख चयनको विषय नेकपामा झनै पेचिलो बनेको छ । यस प्रकरणले नातामा सानिमा छोराको सम्बन्धमा रहेका शिवमाया र सुवास नेम्वाङको बीचमा समेत पारिवारिक बेमेल उत्पन्न भएको निकट स्रोतले जनाएको छ ।
तुम्बाहाम्फेले अप्ठ्यारो पार्दै लगेका बेला प्रचण्डले भने सभामुखमा आफ्नो तर्फबाट पम्फा भुसाल अघि सारेको प्रधानमन्त्री ओली निकट एक नेताले बताए । भुसाल सार्दा महिलालाई सभामुख बन्नबाट बञ्चित गरियो भन्नेलाई जवाफ मिल्ने र पार्टीको पूर्व माओवादी समूहमा पनि रामबहादुर थापा बादल पक्षलाई सन्तुलनमा राख्न सकिने प्रचण्ड निकट नेताहरुहरुको विश्लेषण छ ।
त्यही कारण पूर्वमाओवादीका महिला सांसदहरुले खुलेर शिवमायाको पक्षमा नबोलेको नेकपाकै नेताहरुको दाबी छ । पूर्वएमालेतर्फ भने महिला सांसद भने हस्ताक्षरको तयारीमा छन् ।
कतिपयले भने सभामुख चयनको विषय पेचिलो बन्दै जाँदा नेकपा शीर्ष नेतृत्वले पुनः राष्ट्रपति गुहार्ला भन्ने प्रश्न पनि गर्न थालेका छन् । राष्ट्रपतिलाई नेकपाको माइक्रो म्यानेजमेन्टमा सहभागी गराएको आरोप खेपिरहेका बेला यो प्रश्न पुनः उठेको हो ।







