
संयुक्त राज्य अमेरिकाले कासिम सुलेमानीको हत्या गरेकै राति एक अर्का इारनी शीर्ष अधिकारीलाई निशाना बनाएको खुलासा भएको छ । अमेरिकाको उक्त प्रयास भने असफल भएको जनाइएको छ ।
अमेरिकी उच्च सुरक्षा अधिकारीका अनुसार सुलेमानीको हत्या गरेकै शैलीमा यमनमा रहेका ती इरानी उच्च अधिकारीको हत्या गर्ने अमेरिकी योजना असफल भएको छ । उक्त मिसन र अमेरिकाले कसरी उक्त प्रयास गरेको थियो भन्ने विषयमा भने स्रोतले कुनै खुलाएको छैन । अमेरिकाले उक्त समय इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स-कुद्स फोर्सका नेतालाई निशाना बनाएको स्रोतको दाबी छ ।
पेन्टागनस्थित रक्षा मन्त्रालयकी प्रवक्ता रेबिका रिब्रिकले उक्त घटनाको विषयमा अध्ययन भइरहेको बताइन् । उनले यस विषयमा थप सूचना दिन भने अस्वीकार गरिन् । “हामी जनवरी २ मा यमनमा भएको आक्रमणको रिपोर्टको अध्ययन गरिरहेका छौं । उक्त क्षेत्र आतंककारीहरुको सुरक्षित स्थान मानिन्छ,” प्रवक्ता रिब्रिकले भनिन् ।
अमेरिकाले अर्का इरानी शीर्ष व्यक्तिलाई निशाना बनाएको पहिलोपटक वाशिङ्टन पोस्टले समाचार प्रकाशन गरेको थियो । वाशिङ्टन पोस्टका अनुसार अमेरिकाको निशानामा रहेका अर्का इरानी शीर्ष व्यक्ति इरानी अर्थ र कुद्स फोर्सका कमाण्डर अब्दुल रेजा सहलाइ थिए । उनी नेतृत्वको इरानी सैन्य टोली मध्यपूर्वीको शक्तिशाली सैन्य दस्ता मानिन्छ ।
जनवरी २ मा अमेरिकी ड्रोन आक्रमण इरानी दोस्रो तहका व्यक्ति सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेको थियो । त्यसको जवाफमा इरानले पनि इराकस्थित अमेरिकी बेस क्याम्पमा मिसाइल आक्रमण गरेको थियो । तर, उक्त आक्रमणमा कुनै मानवीय क्षति भने नभएको दाबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले चाहेमा इरानलाई समाप्त पार्नसक्ने भए पनि अहिले त्यसो नगर्ने र मध्यपूर्वमा शान्ति स्थापना होस् भन्ने चाहेको बताएका थिए । – सीएनएन







