सरकारका गलत निर्णयको चर्काे आलोचना गर्दै राष्ट्रवादी छवि मनाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावललाई ज्यान मार्ने धम्की आएको छ ।

नेता भीम रावलले सञ्चारमाध्यमसँग कुरा गर्दै आफूलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् ।

अनलाइन मिडिया खबरहबसँगको विशेष कुराकानीमा स्थायी कमिटी सदस्य रावलले बालुवाटारमा बस्ने व्यक्तिबाट ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । नेता रावलले धम्की दिने व्यक्तिको नाम भने खुलाएनन् । बालुवाटार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास हो ।

‘मलाई ज्यानको समेत धम्की दिइएको छ, बालुवाटार बस्ने व्यक्तिबाट,’ नेता रावलले भने, ‘लेडी डायनाले जसरी ज्यान गुमाउनुपर्‍यो, तिमीले पनि त्यसरी नै ज्यान गुमाउनुपर्ला भनेर मलाई धम्की दिइयो । यो बिडम्बना हो ।’

नेता रावलले कसैको मृत्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरू हराएर नजाने बताएका छन् ।

‘मलाई मार्छु भन्ने व्यक्तिले के सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरू हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ,’ उनले भने, ‘मदन भण्डारीलाई दासढुंगामा गाडी दुर्घटनाको मञ्चन गरेर हत्या गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’

बालुवाटारबाट आएको धम्कीबाट आफू विचलित नहुने समेत नेता रावलले स्पष्ट पारेका छन् । ‘म त्यसबाट डराउँदिन र म स्मरण गराउन चाहन्छु कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ,’ उनले भने ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार