
अमेरिकी प्रोजेक्ट एमसीसीको विरोध गरेकोले सत्तारुढ नेकपाका नेता भीम रावललाई मार्ने धम्की आएको समाचार अहिले सबैको चासोको विषय बनेको छ ।
पक्कैपनि रावल जस्तो शिर्ष नेताले नभएको कुरा फतुरा लगाएका पक्कै होइन होला । उनलाई त्यस्तोखाले धम्की आएन होला भनेर अनुमान गर्न नसकीने वातावरण पनि छैन । जसरी कुनैबेला महाकाली सन्धीले नेपालको राजनीतिलाई विदेशीको हातमा पुर्याएको थियो । ठिक त्यसैगरी यसपटकको अमेरिकी एमसीसीले पनि नेपालको राजनीतिलाई भाँडभैलोमा हाल्ने लगभग निश्चित जस्तै भएको छ । किनकी यस्ता परियोजनाहरु विदेशीहरुले नेपालीलाई टुक्र्याएर फाइदा लुट्नको लागि नै ल्याउने गर्छन् ।
जब नेपालको शासनको मियो नारायणहिटी दरबारबाट विदेशीको हातमा गयो त्यतिबला देखि नै नेपाली पार्टी नामका झुण्डहरुलाई उनीहरुले नै चलाउँदै आएको प्रस्टै देखिन्छ । भारतीयहरुको स्वार्थमा धक्का लाग्ने देखेपछि हिजो मदन भण्डारीलाई खोलामा खसालियो । त्यसैगरी पश्चिमा सभ्यता भित्र्याउन असहमत हुँदा र चीनतिर ढल्केकै कारण राजा बिरेन्द्रको बंश विनास गरियो । नेपालमा बेला बेलामा यस्ता परिघटनाहरु जनताले भोग्दै आएका छन् । अब फेरि अर्को काण्ड घट्न लागेको त हैन ? फेरि आशंकाको बादल मडारिइरहेको छ ।
नेपाललाई लुट्ने विदेशी डाँकाहरुलाइ तह लगाउने पार्टी वा ब्यक्तिलाई प्रतिबन्ध नामको डन्डा बर्साएर तर्साउन खोजिएको छ । देशको माया गर्ने र देशको माटोका सुरक्षा गर्ने बहादुरहरुलाई हिँजैदेखि यसरी नै सिध्याउने गरिँदै आएको इतिहास साक्षि छ । त्यो इतिहास नदोहोरिएला भन्न सकिन्न । तर समय र मौका हिजो जस्तो छैन । हिजोको अन्धकार रातमा षडयन्त्रका तानाबाना बुन्न अब सजिलो छैन । बुनिहाले पनि जनताको चेतनाले त्यसलाई असफल बनाउने तागत राख्दछ । संसार सूचना, प्रविधि र विज्ञानको चमत्कारले सजिसजाउ भएका बेला कुनैपनि राष्ट्रवादी मान्छे विदेशी भाडाका टट्टुबाट मारिनु गलत हुनेछ ।
देशको स्वाधिनता रक्षाकोलागि, माटोको माया जीवित राख्नकोलागि र संसारका अगाडी एक स्वतन्त्र देशको नागरिक भएर शिर ठाडो पारेर बाँच्कोलागि जस्तोसुकै परिणाम झेल्न आजको जनता तयार नै छ । त्यसकारण बालुवाटारको धम्कीले नडराउ भीम रावलहरु । प्रतिबन्धले नतर्सेउ विप्लवहरु । किन की स्वाभिमानी जनता तिम्रो साथमै छन् । हिजो पनि थिए । आज पनि छन् । भोलीपनि रहने छन् । संसारमा धेरै लेण्डुप दोर्जेहरु होलान ।
नेपालमै पनि छन् । तिनीहरुले त तिमलाई मार्ने धम्की दिए । विप्लवहरुलाई प्रतिबन्ध लागाउने पनि तिनै त हुन् । जो राम्राज्यवादको जुठोपुरो खाएर बाँचेका छन् । भीम रावल कान खोलेर सुन । तिम्लाई धम्की बालुवाटारबाट होइन । वासिङ्टन डिसीबाट आएको हो । त्यसको प्रतिवाद तिमीले जनताको तहबाट र जनताको माझबाट खोज । धम्की, हप्की र खप्कीबाट नडराउ ।
विदेशी स्वार्थमा नबिक्ने बरु डटेर लड्नेहरुलाई सिध्याउने षडयन्त्र सधै हुनेगर्छन् । विदेशी स्वार्थमा नझुकेकै कारण विप्लवहरु लखेटिए, महराहरु जेलमा सडाइए, रावलहरुलाई मारिदिने धम्की आयो, भोली गुरुङहरुलाई पनि यस्तै बेही आउला । के जनता डराएर लुक्न सक्छ त ?
कुनैपनि हालतमा जनता हातमा दही जमाएर बस्न सक्दैन र बस्नपनि हुँदैन । किनकी नेपाली जाति त संसारकै बहादुर जाति हो ।







