
क. मोहन वैद्यको एउटा आलेखमा पुष्पलाल श्रेष्ठलाई ‘संसदवादी’ करार गरिएको छ, जुन गलत र वस्तुतः आनन्दबहादुर क्षेत्री उपनामका मोहनविक्रम सिंहको निरन्तरता मात्र बन्न पुग्छ ।
जहानिया राणाशासन र राजतन्त्रात्मक निर्दलीय पञ्चायतविरुद्ध संसदीय प्रजातन्त्र प्रगतिशील तत्व हो, जसरी आज सामन्ती राजतन्त्रको सट्टा पुँजीवादी गणतन्त्रलाई प्रगतिशील मान्नु पर्दछ । नेपाली क्रान्तिको सामरिक कार्यदिशाको प्रश्नमा, प्रधान दुस्मनका विरुद्ध संयुक्त जनआन्दोलनको पुष्पलाल रणनीति माओ विचार आधारित थियो । राजतन्त्रात्मक मण्डले निरङ्कुशताविरुद्ध संसदवादी नेपाली काँग्रेस समेतलाई लिएर संयुक्त जनआन्दोलन तत्कालीन परिस्थितिको वस्तुगत आवश्यकता थियो । आफ्नो नयाँ जनवादी कार्यक्रममार्फत दीर्घकालीन सशस्त्र किसान सङ्घर्षको अपरिहार्यता जाहेर गरेका पुष्पलाल श्रेष्ठ संयुक्त जनआन्दोलन विकसित गर्दै त्यसको उत्कर्षमा सशस्त्र विद्रोहद्वारा नयाँ जनवादी गणतन्त्र स्थापनाको रणनीतिमा थिए ।
परन्तु, कम्युनिस्ट विरोधी बीपी कोइरालाको निधनपछि मात्र ०४६ मा निर्दलीयता विरोधी संयुक्त जनआन्दोलनमा पुष्पलाल विचार अभिव्यक्त भयो । नयाँ जनवादी क्रान्तिका निमित्त संयुक्त जनआन्दोलनको पुष्पलाल रणनीति माले हुँदै एमाले तथा मनमोहन अधिकारीको संसदीय विसर्जनवादका कारण बहुदलीय प्रजातन्त्रमा सीमित गर्ने धृष्टता बढ्यो । परन्तु, अघि बढेर नेपाली कम्युनिस्ट आन्दोलन महान जनयुद्ध हुँदै पुँजीवादी गणतन्त्रसम्म पुगेको छ । यसमा पुष्पलाल विचारको संयुक्त जनआन्दोलनले महत्त्वपूर्ण योगदान गरेको छ र समाजवादी गणतन्त्रका लागि संयुक्त जनआन्दोलनको ऐतिहासिक महत्त्व अझ बढेको छ ।
अतः राजतन्त्रात्मक निर्दलीय शासनविरुद्ध बहुदलीय संसदको पुष्पलाल कार्यनीति, जसमा नेपाली काग्रेससँग जसरी माओवादीले बाह्रबुँदे समझदारी गरियो, लाई ‘संसदवादी करार’ गर्न मिल्दैन ।
त्यसो गर्दा पुष्पलालप्रतिको पूर्वाग्रह, संयुक्त जनआन्दोलनको रणनीतिबारे अज्ञानता र यान्त्रिकता मात्र हुन पुग्छ ।
रातोपाटी अनलाइनसँगको कुराकानीको छोटो अंश ।







