पार्टी एकताको सकसमा लामो समय गुजारेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख चयनको विवादले नयाँ द्वन्द्व जन्माइदिएको छ ।

द्वन्द्वको असर दुई अध्यक्षबीच मात्र होइन, पार्टीको सर्वोच्च कमिटी सचिवालयको बैठकमा समेत देखिन थालेको छ । नयाँ सभामुख चयनको सकस अन्त्य गरी प्रतिनिधिसभामा आइतबारबाट प्रक्रिया अगाडि बढाउने सचिवालयको तयारी त्यही द्वन्द्वका कारण तुहिन पुग्यो ।

अध्यक्षद्वयको सल्लाहमै आवश्यक निर्णय लिन शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको थियो । तर, बैठकमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहे । प्रधानमन्त्री ओली सरकारी निवासको माथिल्लो तलामै आराम गरिरहे भने तल्लो तलामा उनीबाहेक सचिवालयका बाँकी सबैको उपस्थितिमा बैठक चलेको थियो । बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिई निकास दिन निर्देशन जारी ग¥यो । तर, सचिवालयको उक्त निर्णय कार्यान्वयनमा आउन सकेन । सचिवालयको निर्देशन बमोजित राजीनामा दिएर सभामुख चयनको प्रक्रिया अगाडि बढाउनुपर्ने तुम्बाहाङ्फेले माघ ६ गते सम्मका लागि संसद् बैठक नै स्थगित गरिदिइन् । पार्टीको निर्देशनबाट नभई महाअभियोग लगाएर आफूलाई हटाउन उनले चेतावनीसमेत दिएका खबर आइरहेका छन् । स्रोतहरूका अनुसार सचिवालयको पछिल्लो निर्णयप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन् । त्यसको संकेत पाएकी तुम्बाहाङ्फेले त्यसैको आडमा सचिवालयको निर्देशन लत्याएकी हुन् ।

१२ असोज २०७६ मा महिला सहकर्मीमाथि दुव्र्यवहार गरेको अभियोगमा सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेयता नेकपामा नयाँ सभामुखको खोजी चलिरहेको छ । तर, अहिलेसम्म टुंगिन सकेको छैन । प्रधानमन्त्री ओली संविधानसभामा अध्यक्षको जिम्मेवारी निर्वाह गरेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पुनः सभामुख बनाउन चाहन्छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पूर्वसहमतिअनुसार नै सभामुख पूर्वमाओवादीले पाउनुपर्ने अडानमा छन ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)सँगको सम्झौता अनुमोदनमा सभामुख रहेकै बेला महराले बाधा पारेकाले प्रधानमन्त्री ओली अब पूर्वमाओवादीलाई सभामुख दिन अनिच्छुक देखिएको उनीनिकटहरूको भनाइ छ । त्यसैकारण उनले आफूअनुकुल निर्णय गर्न तयार हुने नेम्वाङलाई सभामुख बनाउन खोजिरहेका छन् । प्रचण्ड भने पूर्वसहमतिअनुसार पूर्वमाओवादीले सभामुख पाउनुपर्ने र नपाउने भए प्रधानमन्त्री ओलीले राजीनामा दिई आफूलाई प्रधानमन्त्री बन्न बाटो खोलिदिनुपर्ने अडानमा रहेको उनीनिकट बताउँछन् । सकस नयाँ सभामुखको खोजीमा देखिए पनि यसको साइनो भने एमसिसी सम्झौता अनुमोदनदेखि प्रधानमन्त्री बन्ने रहरसम्मै जोडिएको देखिन्छ । त्यसैले यो द्वन्द्वको समाधान सहजै निस्कने छाँट देखिँदैन ।

शनिबार बालुवाटारमा बैठक राख्नुअघि पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास खुमलटारमा सचिवालयको बैठक बसेको थियो । त्यहाँ पनि ओली उपस्थित थिएनन् । सोही बैठकले उपसभामुखलाई राजीनामा गर्न लगाएर नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाउने निधो गरेको थियो । त्यसलाई अनुमोदन गर्न शनिबार बालुवाटारमै बैठक राखिएको थियो ।

आआफ्ना स्वार्थका कारण सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । बरु, पार्टी र संसद्समेत बन्धक बनेको छ । सो बैठकलाई लिएर ओली रुष्ट देखिएका छन् । आफूलाई एक्ल्याउन गौतम निवासमा गोप्य बैठक गरिएको बुझाइ ओलीको रहेको बालुवाटार स्रोतको भनाइ छ । तर, सो बैठकमा सहभागी नेताहरू भने बैठकलाई स्वभाविक बताइरहेका छन् । सोही बैठकलाई संकेत गर्दै ओलीले एक्लाएक्लै बैठक गरेर सभामुख छान्न सक्ने भए छानेर देखाउन चुनौतिसमेत दिएको बालुवाटार स्रोत बताउँछ ।

‘गौतमनिवास खुमलटारमा बसेको बैठकलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सन्तुष्ट हुनुहुन्न,’ प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘प्रधानमन्त्रीलाई नै छलेर सभामुख चयनलाई प्रभावित पार्न खोज्दा प्रधानमन्त्री रुष्ट हुनुभएको हो । यो स्वभाविक पनि हो ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार