सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए । २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उनी त्यती बेला पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए । प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए ।०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए । सापकोटा २ पटक मन्त्री भइसकेका छन् । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् । मुलुकको शत्तिशाली संबैधानीक निकाय संसदको प्रमुख बन्न लागेका सापकोटा विवादरहित भने छैनन् ।सर्वोच्च अदालतमा उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा परेको छ । गत असार २५ गते सर्वोच्चले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा उजुरी परेको भए त्यसको प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको थियो ।
काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले मुद्दा दायर गरेकी थिइन् ।