CPN-UML Vice-Chairman Bhim Rawal speaks with journalists in Kathmandu, on Monday, July 18, 2016. Photo: Reporters’ Club Nepal

विकास गर्न सरकारलाई पुँजी चाहियो । नेपालभित्रै पर्याप्त पुँजी छैन । त्यसैले एमसिसी एउटा ठूलो आर्थिक स्रोत हो भन्नेहरू पनि छन् नि ?

विकास गर्न पुँजी छैन भन्नेहरूलाई म भन्न चाहन्छु, एनसेलले ६२ अर्ब कर तिरेको छैन । अदालतले बीस प्रतिशत शेयरधनीबाट असुल गर्नुपर्ने १४ अर्बभन्दा बढी जरिवाना असुल गरेका छैनन् । दूरसञ्चार सञ्चालनको लागि लाइसेन्स लिएर, सञ्चालन गरेर कमाउने तर सरकारलाई तिर्नुपर्ने अर्बौँ रुपैयाँ कर नतिर्नेहरूलाई सहयोग पुग्ने गरी यो सरकारले भर्खरै मात्र मन्त्रिपरिषद्बाट उनीहरूको पक्षमा निर्णय ग¥यो । साढे तीन अर्ब रुपैयाँ नतिरेपछि असुल गर्न दूरसञ्चार प्राधिकरणले पाइला चालेको थियो । उनीहरूको इजाजत प्रमाणपत्र रद्द गरेको थियो । उल्टै मन्त्रिपरिषद्ले भन्यो, तिमीहरूले अहिले तिर्नुपर्दैन । पाँच वर्षमा तिरे पुग्छ । फेरि पनि राज्यलाई कर गुम्यो । तपाईं यसरी गुमेका ती सबै कर जोड्नुस् त कति हुन्छ ? सबै उठाउने हो भने खर्बौं रुपैयाँ यही छ । राज्यको ढुकुटीमा दाखिला हुनुपर्ने कर नउठाउने, आफ्नै देशमा करमार्फत उठ्ने रकमलाई राम्ररी सदुपयोग नगर्ने, अनियमित–भ्रष्टाचार गर्नेलाई नियन्त्रण नगर्ने अनि राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, आफैँले बनाएको संविधान, आफैँले गरेको बाचा, घोषणाविपरीत सम्झौता गरिहिड्ने ? यो अत्यन्त दुःखदायी छ ।

सरकारभित्र तपाईंहरू एमसिसीका विषयमा जसरी लडिरहनुभएको छ, त्यो हेर्दा प्रतिपक्षी भूमिकाजस्तो देखिन्छ । तर, साँच्चैको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तुरुन्तै एमसिसी अनुमोदन गर्नुपर्छ भनिरहेको छ । यो के आश्चर्य हो ?

यो आश्चर्य होइन, नेपाली कांग्रेसको चरित्र नै यही हो । नेपाली कांग्रेसको इतिहास फर्केर हेर्नुभयो भने यस्तै धोका, राष्ट्रघात नशानशामा देख्नुहुन्छ । २००७ सालपछि हेर्नोस्, मन्त्रिपरिषद्मा विदेशी सल्लाहकार आएर बसे । कोशी सम्झौता, गण्डक सम्झौता हेर्नोस्, महाकाली सम्झौता हेर्नोस्, महाकाली सम्झौता हुँदा त कांग्रेसका अहिलेका सभापति नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँहरू भन्नुहुन्थ्यो, अब खर्बौं–खर्बौं रुपैयाँ आउँछ । अब पश्चिमबाट सूर्य उदाउँछ । हाम्रा पनि कतिपय नेताले त्यसै भनेका थिए । तर, पश्चिमबाट सूर्य उदाएको छैन । महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा हो भन्ने कुरा प्रमाणित नगरेसम्म महाकाली सन्धी नगरौँ भन्ने आवाजलाई त्यतिबेला सुनिएन । त्यहाँ पनि नेपाली कांग्रेसको चरित्र देखियो । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, माथिल्लो कर्णाली जिएमआर कम्पनीलाई दिने निर्णय हुने भयो । मैले २१ वटा बुँदा अगाडि सारेर भनेँ, यो कम्पनीले बनाउँदैन । त्यहाँ यतिसम्म लेखिएको थियो कि कर्णालीबाट एउटा कुनै कुलो जनताले लियो भने त्यो पनि जिएमआर कम्पनीलाई सोध्नुपर्ने भनेर लेखिएको थियो ।

ठूलो लडाइँ गरेर म १६ वटा बुँदा सच्याउन सफल भएँ । तर, कतिपय कुरा सकिएन । अहिले के भइरहेको छ, ११ वर्ष भयो जिएमआर कम्पनीलाई त्यो दिएको, साढे पाँच वर्ष भयो परियोजना विकास सम्बन्धी सम्झौता (पिडिए) भएको । एक वर्षभित्र उसले बित्तीय व्यवस्थापन गर्नुपर्ने, नसके एक वर्ष मात्र म्याद थप्न सकिने भन्ने त्यसमा स्पष्ट लेखिएको छ । तर, यही नेपाली कांग्रेसका प्रधानमन्त्रीले त्यसलाई मिचेर म्याद थप्नुभयो । फेरि अहिले त्यसलाई नै म्याद थप्ने षड्यन्त्र हुँदैछ भन्ने मैले सुनेको छु । बंगलादेशले विद्युत किन्ने भो भन्ने हल्ला मच्चाएर नेपाली जनतालाई भ्रम पार्न खोजिँदैछ । यो कुरामा कांग्रेस बोलेको छैन । उल्टै कांग्रेस सम्झौता गर्नुपर्छ भन्नेमा देखिन्छ । शक्ति राष्ट्रहरूका सामु झुक्ने, स्वार्थको कुरालाई प्राथमिकता दिने चरित्र नै कांग्रेसकै चरित्र हो भन्ने पटकपटकका घटनाले पुष्टि गरेको छ । म नेपाली कांग्रेसका सबै नेता–कार्यकर्तालाई नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता राम्रोसँग पढ्न आग्रह गर्छु । यो मुलुकको हितको आँखाले पढ्नुभयो भने धेरै गम्भीर त्रुटी भेटिनेछन् । तर, पनि कांग्रेस छिटोछिटो पास गरौँ भनिरहेको छ । मलाई के लाग्छ भने, यो नेपाली कांग्रेसको पार्टीगत चरित्र नै हो ।

पछिल्लो समय मुलुकभित्रका राष्ट्रवादी शक्ति कमजोर हुँदै गएको हो कि, बाह्य शक्ति बलियो हुँदै गएको हो कि जस्तो देखिन थालेको छ नि ?

हामीले नेपाली जनताको आकांक्षा, देशको आवश्यकतालाई पूरा गर्नका लागि काम गर्छौँ भनेर हामीले बाचा गर्दै आयौँ । हामीले संविधान बनायौँ । त्यसैले मैले बारम्बार त्यो कुरालाई स्मरण गराउने गरेको छु । मैले यो कुरा गर्दा मलाई मेरो ज्यानको समेत धम्की दिइएको छ । बालुवाटार बस्ने व्यक्तिबाट । लेडी डायनाले जसरी ज्यान गुमाउनु प¥यो, तिमीले पनि त्यसरी ज्यान गुमाउनुपर्ला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको छ । यो विडम्बना हो । तर, त्यस्तो भन्नेहरूले के कुरा सम्झनुपर्छ भने, पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएनन् भन्ने कुराको स्मरण गर्नुपर्छ । मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गर्दैमा मदन भण्डारीका देशभक्तिपूर्ण आवाजहरू नेपाली धर्तीबाट मेटिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्दछ । म त्यसबाट डराउँदिनँ । र, म प्रत्येक व्यक्तिलाई यो कुराको पनि स्मरण गराउन चाहन्छु भने, यो धर्तीमा कोही व्यक्ति अजर अमर छैन भन्ने कुराको पनि प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ ।

यहाँ खोलिने राजनीतिक दलहरू, हामी राजनीतिक दलका सदस्यहरू, प्रतिनिधिसभाका सदस्यहरू माध्यम मात्र हौँ । नेपाल जो हाम्री आमा भन्दा पनि ठूली छन्, यो मात्रै धेरै कालसम्म अस्तित्वमा रहन सक्छ । हुन त पृथ्वीको अस्तित्व पनि कुनै निश्चित छैन । यो ब्रह्माण्डमा पनि परिवर्तन भइरहन्छ । त्यो हामीले बुझेका छौँ । आजको विश्व कार्ल माक्र्सले भनेजस्तो देशका सीमा मेटाऔँ अब भन्ने अवस्थामा पुगिसकेको छैन । त्यो नपुगिसकेको र अमेरिकाले म अमेरिकन फस्र्ट, मेरो अमेरिका महान् भन्ने भारतका प्रधानमन्त्रीले मेरो भारत महान् भन्ने, चीनका राष्ट्रपतिले मेरो चीन महान् भन्ने अनि आफ्नो राष्ट्रको हितअनुकुल काम गर्ने अनि हामी नेपालीले देशको हितको कुरा गर्दा, राष्ट्रको स्वाधीनताको कुरा गर्दा, अखण्डताको कुरा गर्दा भीम रावलले पापाराजीको कारण दुर्घटनामा परेर मृत्यु भएकी लेडी डायनाकै अवस्थामा पुग्नुपर्छ भनेर बालुवाटारमा बस्ने मान्छेले भन्दा देशभक्त मान्छेको मन रोएको हुनुपर्छ । तर, म रोएको छैन ।

देशको पक्षमा आवाज उठाउँदा धन्यवाद दिनुपर्नेमा उल्टो ज्यानकै धम्की आएको छ । तर, म डराउँदिन । हिजो निरंकुश व्यवस्थामा पनि ज्यानको धम्की दिनेहरू थिए । हिजो पनि डराइएन, आज पनि डराएको छैन ।

दृष्टि साप्ताहिकसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार