
प्रतिनिधि सभाको सभामुखको औपचारिक घोषणा नहुँदै सरकारले बन्दोबस्तीको काम सुरु गरेको छ । सभामुख चयन भएको औपचारिक घोषणा १२ माघमा हुँदैछ ।
पूर्वमाओवादी खेमाका अग्नि सापकोटाको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध ठहरिएका छन् ।अब सरकारले सभामुखका लागि यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बसेको लैनचौरस्थित भवनमा बस्ने व्यवस्था मिलाउँदै छ ।
सरकारले कपुरधारामा रहेको त्यो भवन सभामुखलाई दिने भएको हो । यसअघि बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन् । उनले प्रयोग गरेको सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली सरेपछि सभामुखलाई लैनचौर सार्नु परेको हो ।
प्रधानमन्त्री ओली गएको मंसिर पहिलो साता राष्ट्रिय सभा अध्यक्ष बसेको सरकारी निवासमा सरेका हुन् । सभामुख चयन प्रक्रिया सुरु हुनासाथ संसद सचिवालयले निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो ।
मन्त्रालयले त्यो भवनको मर्मत सम्भार गरी हस्तान्तरणको तयारी गरिरहेको छ । रङरोगनसहितका अधिकांश काम सकिएका छन् । शुक्रबार संसद सचिवालयले सभामुख बस्ने घरको अनुगमन समेत गर्दै छ ।
सभामुखका लागि सिंगारिदै गरिएको यो निवास पहिले काठमाडौं महानगर प्रमुखले समेत प्रयोग गरेका थिए । पछि अख्तियार प्रमुखका लागि व्यवस्थापन गरियो । अख्तियार प्रमुखका लागि कार्यालयसँगै निवास बनेपछि त्यो निवासलाई उपराष्ट्रपति निवास बनाइयो ।
तत्कालीन उपराष्ट्रपति परमानन्द झा त्यही भवनमा बसेका थिए । पछि नन्दबहादुर पुन पनि त्यही घरमा बसे । उनी समाजकल्याण परिषदको घरमा सरेपछि केही समय पर्यटनमन्त्री योेगेश भट्टराई त्यो घरमा बसे । त्यो बेला पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ अभाव भएको थियो ।
समाजवादीले सरकार छोड्नासाथ मन्त्री भट्टराई पुल्चोक सरे । त्यसपछि भने यो भवन खाली छ ।







