
प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै उपनेता नेम्वाङले सभाध्यक्षका लागि आफूहरुको चयन उपयुक्त भएको बताएर पार्टीको निर्णय सही भएको स्पष्ट पारे ।
नेता सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक समेत रहेकोले सभामुखका लागि उनी उययुक्त पात्र रहेको पूर्व सभामुखसमेत रहेको नेम्वाङको भनाइ थियो ।
‘कञ्चन’ उपनामले चिनिएका सापकोटालाई आम मानिसले हेडसरका रूपमा चिन्छन् । राजनीतिमा लाग्नुभन्दाअघि लामो समय शिक्षक हुँदै प्रधानाध्यापकसमेत भएका उनलाई सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक दोलखा, सिन्धुली र रामेछापका धेरैजसोले ‘माड्साप’ वा ‘अग्नि सर’ का रूपमा चिन्छन् ।
धेरैले ‘अग्नि सर’ का रूपमा चिन्ने सापकोटा आज प्रतिनिधिसभाको नयाँ सभामुखका रूपमा निर्वाचित भएका छन् । संविधानसभाबाट जारी भएको संविधानपछि गठन भएको प्रतिनिधिसभाको दोस्रो सभामुखका रूपमा सापकोटाले आफ्नो यात्रा तय गरेका हुन् ।
संसदीय गतिविधिमा लामो समय व्यतित गरेका पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता नेम्वाङले भनेजस्तै सापकोटा लामो समयदेखि यो क्षेत्रमा क्रियाशील छन् । “जीवनकालमा राम्रो र मेहेनती शिक्षकका रूपमा क्रियाशील रहेका थिए । यी सबै पृष्ठभूमिलाई ध्यान दिएर माननीय अग्निप्रसाद सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा लिएको छु”, उनले भने ।
सापकोटालाई सभामुख बनाइयोस् भन्ने नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतले पनि उम्मेदवारी नदिएर सापकोटालाई नै समर्थन गर्यो । नेपालको संसदीय इतिहासमा प्रमुख प्रतिपक्षीको समेत समर्थनमा सभामुख बन्न पाउने सौभाग्य सापकोटाले पाउने भएका छन् ।
नेता सापकोटालाई नेकपाले यही माघ ५ गते सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेदवार टुङ्गो लगाएको थियो । सभामुखविहीन हुँदा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको थियो ।
सभामुखको आसनमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । सो घोषणालाई सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, सङ्घीय समाजवादीलगायतले स्वागत गरेका थिए । ज्येष्ठ सदस्य ठाकुरले सभामुखमा सापकोटा निर्वाचित भएको घोषणा गरेपछि सबैभन्दा पहिले पूर्वसभामुख ओनसरी घर्तीले बधाई दिनुभयो भने सँगै रहनुभएका नेकपा नेत्री फम्फा भुसालले बधाइ दिए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खादा ओढाउँदै सापकोटालाई सफल कार्यकालको सफलताको शुभकामना दिए । नेकपाका सांसदहरुको बधाइसँगै नवनिर्वाचित सभामुख सापकोटा आफ्नै शैलीमा प्रधानमन्त्री केपी शर्मा ओली बसेका आसन नजिक पुगे । प्रधानमन्त्रीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाइ दिए ।
सापकोटा आफैँले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतका नेताहरुसँग पनि पालैपालो हात मिलाए । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि बधाइ आदानप्रदान गरे ।
नवनिर्वाचित सभामुख सापकोटा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होस् वा राजकीय जिम्मेवारीमा रहँदा नै किन नहोस्, प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सादगी र इमान्दार नेताका रूपमा परिचित छन् । माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी हुँदा होस् वा शान्ति प्रक्रियामा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लावासीले उनलाई सादगी नेताका साथै ‘अग्नि सर’का रूपमा चिन्छन् । विसं २०१४ फागुन २४ गते सिन्धुपाल्चोकको कुविण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रूपमा जन्मनुभएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् ।
नवनिर्वाचित सभामुख सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । नेकपा स्थायी कमिटी सदस्य रहनुभएका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन नेकपा (माओवादी)ले विजय हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एकमात्रै नेता उनी थिए । सापकोटाले २०७३ सालमा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।
विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निवाचित सापकोटा २०४८ सालदेखि सक्रियरूपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य हुनुभएका उहाँ २०५२ माघदेखि भूमिगत राजनीतिमा समेत संलग्न थिए ।
उनले विसं २०५८ मा तत्कालीन नेकपा (मोआवादी)का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बन्नुभएका उहाँले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे ।
सानैदेखि विद्रोही स्वभावका सापकोटा कुविण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्यापक हुने पहिलो व्यक्तिका रूपमा समेत परिचित छन् ।
स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका सापकोटालाई प्रतिनिधिसभाको ‘हेडसर’ अर्थात सभामुख बन्ने सौभाग्य मिलेको छ । जनयुद्धकाल तथा शान्ति प्रक्रियामा समेत पार्टी, देश र जनताप्रति इमान्दार भएर लागेका सापकोटाकै पहलमा लामो समयदेखि बन्द भएको तातोपानी नाकासमेत खुलिसकेको छ । राजधानीभन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन् ।
नेकपाको बहुमत रहेको प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने र नीति निर्माणमा विगतमा जस्तै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने दायित्व समयक्रमले सापकोटाको काँधमा ल्याइदिएको छ । सभामुखमा निर्वाचित भएपछि उहाँले दिनुभएको प्रतिक्रिया नै काफी छ । उनले भने, “सङ्घीय संसद्लाई थप जनमुखी, जिम्मेवार, तठस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” – रासस







