राष्ट्रियसभा गृहको द्वार छिचोल्नेबित्तिकै चारैतिर हँसिया हथौडा अंकित रक्तरञ्जित झण्डा । चउरभरि नेता-कार्यकर्ताहरू । सरकारको विभिन्न तह र तप्कामा नेतृत्व गरिरहेका नेताहरूका गाडीको लावालस्कर । सञ्चारकर्मीहरूको उस्तै भीड ।

पहिलोपल्ट औपचारिक बैठकमा सहभागी हुन पाउँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरू पुलकित देखिए । सातदिनसम्म चल्ने ‘प्लेनम’मा सहभागी हुन पाउँदा उनीहरूमा खुसीको सीमा नै रहेन ।

जब राष्ट्रियसभा गृहको प्रेक्षालय भित्र छिरे । दृष्यले उनीहरूलाई बेचैन तुल्यायो ।

परिवर्तनका लागि दिलोज्यान दिएका, रगत–पसिना बगाएका नेताहरूलाई मञ्चको दृश्य पाच्य भएन । डाह, छटपटी भयो ।

सामन्तवाद हटाउन ऊर्जाशील समय, उमेर समर्पण गरेर आएका नेता कार्यकर्तालाई मञ्चमा नेताको फोटो टाँसेर देवत्वकरण गरिएको मन पर्ने कुरा थिएन । व्यक्ति पूजाको विद्रूप नमुना थियो त्यो ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको फोटोसँगै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड के-का लागि झुण्ड्याइएको हो उनीहरूले ठम्याउन सकेनन् ।

नेतृत्वले जे गरे पनि चुपचाप सहँदै आएका नेता कार्यकर्ताले प्रतिवाद गर्ने आँट गरेनन् । मुख फोरेर भन्न पनि सकेनन् ।

राजसंस्थाविरुद्ध विद्यार्थी आन्दोलनको अगुवाइ गरेका राजेन्द्र राइलाई पचेन । पार्टी कमिटीको बैठकमै सामन्तवादको छाया सलबलाएको सहन सकेनन् । उनले मुख फोरे ।

“मञ्चमा दुईजना अध्यक्षको फोटो किन टाँसियो ? यसको औचित्य के हो ? जवाफ चाहियो !,” बैठक सुरु हुनेबित्तिकै समय माग गरेर राईले जवाफको माग गरे ।

फोटो पूजाको संस्कृतिबाट पार्टी मुक्त हुनुपर्छ भन्ने मान्यतामा अडिए । र, तुरुन्तै मञ्चबाट दुईजना अध्यक्षको फोटो हटाउन अनुरोध गरे ।

राई एक्लो भएनन् । उनलाई साथ दिन पूर्वएमाले समूहका केन्द्रीय नेता जगन्नाथ खतिवडा पनि अघि सरे । उनले त अझै कडा भएर प्रश्न गरे, “मञ्चमा दुईजना अध्यक्षको फोटो झुण्ड्याउँदा तपाईंहरूलाई अलिकति पनि शरम लागेन ? लाज मान्नु भएन ?”

पूर्वमाओवादी केन्द्रले नेतृत्वको देवत्वकरण सुरुदेखि नै गर्दै आएको थियो । पार्टीले अघि सारेको सशस्त्र संघर्षको कार्यदिशालाई प्रचण्डपथ विचारधाराको रूपमा अङ्गीकार गरेको थियो । पार्टीका कार्यक्रमहरूमा, सभा–सम्मेलनमा जीवित नेताको फोटो टाँस्थ्यो ।

त्यही रोग नेकपामा भित्रिएपछि नेताहरू झस्किए । पार्टीका औपचारिक कार्यक्रममा जीवित नेताको फोटो झुण्ड्याउने निर्णय सचिवालय, स्थायी कमिटीले गरेको थिएन । कम्युनिस्ट पार्टीको प्रचलन, संस्कार, संस्कृति पनि त्यो होइन ।

यसअघि कार्यक्रममा कार्ल मार्क्स, भीआई लेनिन, माओत्सेतुङआदि नेताको फोटो टाँसिन्थ्यो । ती स्थान जीवित नेताका फोटाले लिन थालेका हुन् कि ? कम्युनिस्ट आन्दोलनका मञ्च नेतृत्वको पूजा–अर्चनाले ओगट्न थालेको हो कि भनेर नेता–कार्यकर्ता तहमा चिन्ता व्यक्त हुन स्वाभाविकै थियो ।

खतिवडाले त्यसैमा टेकेर प्रश्न गरे, “पार्टी कमिटीका कार्यक्रममा नेताहरूको फोटो टाँस्ने निर्णय कुन कमिटीले, कुन बैठकले गर्‍यो ?”

मञ्चमा बसेका सचिवालयका नेताहरू अवाक् भए ।

पार्टीको औपचारिक कार्यक्रममा शीर्ष नेताको फोटो झुण्ड्याएको यो नै पहिलो घटना भने थिएन । यसअघि वैशाख ९ गते पार्टी स्थापना दिवसको सन्दर्भ पारेर नेकपाले जिल्ला तहका कमिटीको एकीकरणको घोषणा गरेको थियो । त्यो कार्यक्रममा पनि यसैगरी अध्यक्षद्वयको फोटो मञ्चको दायाँबायाँ सजाइएको थियो ।पार्टी एकताको माहोल भएकाले त्यतिबेला विषयले खासै चर्चा पाएन ।

तर केन्द्रीय कमिटीको बैठकमा भने यस विषयले ठूलै बहस निम्त्याउने छ ।

रक्षात्मक ओली !

विधानतः ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटी बैठक १९ महिनापछि बस्न लागेकाले यसको महत्ता छ नै । राजनीतिक प्रतिवेदनमा पार्टी कामको योजनाप्रस्तुत गरिएकाले केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि थपिँदैछ । नेकपाको सम्पूर्ण शक्ति अब एकता महाधिवेशनमा केन्द्रित हुनेछ ।

देशभरिका नेकपाका क्रिम नेताहरू काठमाडौंमा भेला भएका छन् । फर्कंदा बेग्लै उमङ्ग– उत्साह बोकेर जानुपर्ने पार्टीका नेतृत्व पङ्क्तिका सिपाहीहरू बैठकको आरम्भमै निराश भए ।

अध्यक्षद्वयका तर्फबाट प्रस्तुत भएको ३५ पृष्ठको प्रतिवेदनले होइन । न सरकारको कामकारवाहीलाई लिएर भइरहेको विरोधले नै उनीहरूलाई निराश तुल्याएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको रक्षात्मक थालनी भाषणले उनीहरूलाई अशान्त तुल्यायो । वातैपिच्छे सरकारको वचाउ गनुपर्ने अवस्थाले उनीहरूलाई पिरोल्यो ।

एपेन्डिसाइटिसको शैल्यक्रियापश्चात् केपी शर्मा ओली खासै सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन् । लामो समयपछि मंगलबार उनले संसद्मा बोले । बालुवाटार बाहिरको पार्टी मञ्चमा उनले बोलेका थिएनन् । केन्द्रीय कमिटीको बैठकमा बसेर उनले दुई घण्टा बढी सम्बोधन गरे ।

सधैं रौसे तरिकाले, फुँदा गाँसेर, उखान टुक्का हालीहाली भाषण गर्ने  ओलील बुधबार पूरै रक्षात्मक अवस्थामा प्रस्तुत भए । प्रधानमन्त्रीको आवाज तुलनात्मक रूपमा दबिएको पाए । ऊर्जाको महसुस गर्न सकेनन् । पार्टीमा क्रमशः एक्लिँदै गएको, विरोधीहरूबाट घेरिएको, सरकारको बचाउ गर्न नसक्ने अवस्थामा पुगेको र सरकारको कामकारवाहीप्रति आफैं सन्तुष्ट हुन नसकेको उनको बोलीमा प्रष्टै झल्कन्थ्यो ।

दुई वर्षको अन्तरालमा परिणामले नै विरोधीको मुख टाल्नुपर्ने बेलाम प्रधानमन्त्री आफैं फाइल बोकेर सरकारको बचाउन गर्नुपर्ने आफैंमा सन्तोषजनक परिस्थिति होइन ।

यद्यपि, प्रधानमन्त्रीले सुरुमै सरकारले गरेका कामको फाँटवारी लगाएका छन् । अन्तर्राष्ट्रिय सूचकाङ्कहरूमा नेपालको अवस्था सुध्रँदै गएको दाबी प्रस्तुत गरेर बैठकमा उठ्ने आलोचनाको मुख टाल्ने कोसिस गरेका छन् ।

यसले सरकारको कार्यशैलीलाई लिएर बैठकमा हुने टिका–टिप्पणी केही हदसम्म रोक्ने नै छ ।

बाह्रखरी अनलाइनका लागि अक्षर काकाले तयार पारेको रिपोर्टको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार