
बर्नी स्यान्डर्स ७९ वर्षका पुगे । उनी आफूलाई ‘स्वघोषित समाजवादी’ ठान्छन् । लामो समयदेखि भोरमेन्ट सिनेटर रहेका स्यान्डर्स सन् २०१६ को राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट्स प्रइमरका प्रतिस्पर्धी थिए । उनले अन्तिम चरणमा हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए ।
हिलारी र ट्रम्पबीचको प्रतिस्पर्धामा हिलारी हारिन । डेमोक्र्याट्स समर्थकहरुहरु नमिठो मानिरहे । डेमोक्र्याटिक पार्टीले स्यान्डर्सलाई उम्मेवार बनाएको भए ट्रम्पले जित्ने थिएनन् भन्ने धारणा राख्ने धेरै थिए । तिनै स्यान्डर्स सन् २०२० को राष्ट्रपति निर्वाचनका लागि फेरि प्राइमर निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
उनी बुढा छन् र पुरुष हुन् । तर रमाइलो के भने उनका अधिकांश समर्थकहरु युवा र महिला छन् । पछिल्ला सर्वेक्षणहरुले अमेरिकामा महिला र युवाहरुमा समाजवादप्रति मोह बढ्दै गइरहेको देखाएको छ । अघिल्लो पुस्ताका पुरुष र धनी अमेरिकीहरु ‘समाजवाद भनेको कम्युनिष्टको प्रेत हो’ भन्ने ठान्दछन् । उनीहरु ठान्छन् कि अमेरिकी न कहिल्यै कम्युनिष्ट भयो न हुनेछन् । अमेरिकाका लागि स्वतन्त्रता, लोकतन्त्र र खुल्लापन नै सदावहार आर्दश हुन् ।
तर नयाँ सर्वेक्षणहरुले बद्लिदो अमेरिकी मुडको संकेत गर्दछन् । सन् २०१९ को एक सर्वेक्षण अनुसार ५०% भन्दा बढी अमेरिकी वर्तमान आर्थिक प्रणालीसँग असन्तुष्ट छन् । अमेरिकाका १८ देखि ५४ वर्ष उमेर समूहभित्रका ५५% महिला भन्छन्- हाम्रो प्राथमिकता समाजवाद हो ।
अमेरिकामा डेमोक्रेटिक पार्टी लिवरलहरुको पार्टी मानिन्थ्यो तर डेमोक्र्याट समर्थकमा समाजवादप्रति झुकाव बढ्न थालेको छ । ५६% अमेरिकी युवाहरु पुँजीवादको विद्यमानस्वरुप विश्व मानवताका लागि लागि राम्रोभन्दा बढी हानीकारक छ भन्ने ठान्दछन् ।
यी अनुपातमा समस्या के छ भने पुँजीवाद र समाजवादको एउटै अर्थ र परिभाषा छैन । उत्तरदाताहरुले एउटै बुझाईमा यो छनौट गरेका हुन् भन्न गाह्रो छ । अधिकांश अमेरिकीहरुको पुँजीवादबारेको धारणा शेयर पुँजी बढाई लगानीकर्तालाई मात्र फाइदा पुर्याउने खालको अर्थतन्त्र भन्ने छ ।
पुँजीवादबारेको यो बुझाई अमेरिकामा ४ दशकदेखि बन्दै आएको हो । पुँजीवादको नयाँ रुप पनि देखा परेको छ जहाँ कर्पोरेट कम्पनीहरुले मुनाफालाई भन्दा समुदाय, वातावरण र मजदुरहरुको हितलाई ध्यान दिन थालेका छन् । तर त्यतातिर मान्छेहरुको ध्यान गएको छैन । उदाहरणका लागि भर्खरै मदिरा निर्माता कम्पनीहरु एबी इनवेभ, एयर लाइन्स जेट ब्लु र मौद्रिक व्यवस्थापक ब्लाक रोकले दीगो व्यवसायिक अभ्यासको नयाँ प्रतिबद्धता व्यक्त गरेका छन् ।
आजभन्दा करिब ५० वर्ष अघि अर्थशास्त्री मिल्टन फ्रिडम्यानले भनेका थिए– व्यवसायको एक मात्र उद्देश्य आफ्नो स्रोतसाधानलाई मुनाफा आर्जन गर्ने गतिविधिमा लगानी गर्नु हो । फ्रिडम्यानको धारणा एक दशक नबित्दै कर्पोरेट संस्थाहरुको लागि सर्वस्वीकार्य जस्तो भएको थियो जसले शेयरधारक पुँजीवादको रुप प्रकट गरेको थियो ।
शेयरधारक पुँजीवाद नै सही यसले लगानी प्रवर्द्धन र धितोपत्र बजारमा फाइदा नपुर्याएको हैन तर आर्थिक असमानता र जलवायु परिवर्तनजस्ता सामाजिक तथा पर्यावरणीय सवालहरु झनै उल्झिएको गुनासो बढ्दै गयो । त्यो समय उपभोग विश्लेषण र मौद्रिक इतिहासबारे फ्रिडम्म्यानका अनुसन्धानहरु प्रशंसित भएका थिए । फ्रिडमान अवधारणालाई पूरै अस्वीकार गर्न अहिले पनि सकिँदैन ।
तर, शेयरधारक पुँजीवादलाई मात्र बढी महत्व दिँदा शेयरहोल्डरहरुको भूमिका र महत्व घट्ने, व्यवस्थापकको भूमिका र महत्व बढ्ने, प्रकारान्तले शेयरहोल्डरहरुकै आम्दानीमा गिरावट आउन सक्ने विश्लेषण पछिल्लो समय गर्न थालिएका छन् । अधिकांश उपभोक्ता, श्रमिक र समाजका सचेत लगानीकर्ताले यी कमीकमजोरी प्रष्टै देख्न थालेका छन् । उनीहरुले यसको परिवर्तनका लागि कर्पोरेसनहरुमा दबाब बढाएका छन् ।
विस्तारै अमेरिकीहरुमा के धारणा बन्दैछ भने कम्पनी भनेको केवल मुनाफा खोज्नका लागि हैन । त्यसले उपभोक्ता हित र सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नुपर्दछ । सन् २०१७ मा गरिएको एक सर्वेक्षण अनुसार ७८% आमेरिकी उपभोक्ताहरु व्यवसायले सामाजिक न्यायको पालना गरोस् भन्ने चाहन्छन् भने ७६% ले त्यसो नगर्ने कम्पनीको वस्तु आफूले खरिद नगर्ने बताएका थिए । ५०% भन्दा बढी उत्तरदाताले आफुले त्यस्ता उत्पादकहरु बहिष्कार गर्न थालिसकेको बताएका थिए ।
सन् २०१६ मा गरिएको अर्को एक सर्वेक्षणअनुसार ९०% मजदुरहरु कम्पनीले श्रमिकसँग मूल्य, मुनाफा र व्यवस्थापन सम्बन्धि निर्णयको साझेदारी गरुन् भन्ने चाहन्छन् । यहाँसम्म कि मजदुरहरु सामाजिक उत्तरदायित्वसहितको कम्पनी बनाउन आफ्नो ज्याला कटौती गर्न समेत मन्जुर रहेको बताएका थिए ।
यसप्रकारको बढ्दो सामाजिक दबाबबीच कम्पनीहरु दीगो विकास र सामाजिक उत्तरदायित्वबाट विचलित हुन असंभव हुँदै गएको छ । जस्तो कि सन् २०१८ को अन्त्यमा ब्लाक रकले भनेका थिए, ‘कम्पनीहरुले अब वित्तिय आयआर्जनको तथ्यांक प्रस्तुत गरेर मात्र हुँदैन, त्यस्तो आय कसरी सम्भव भएको र त्यसले समाजलाई कसरी राम्रो प्रभाव पार्दछ, त्यो पनि बताउन सक्नु पर्दछ ।’
सन् २०१८ मा ८६% अमेरिकी कम्पनीहरुले गरिबी न्यूनिकरण, वातावरणीय संरक्षण, सामाजिक गतिविधि र सुशासनका क्रियाकलापमा आफ्नो सरोकारबारे उल्लेख गरेका थिए । सन् २०११ सम्म यस्ता कम्पनीहरु २०% भन्दा कम थिए । सन् २०१७ मा युनिलिभरले दीगो जीवन यापनको अवधारणा र प्याकेज नै बनाएको थियो । हेन, जेरी, डोब, हेम्यानजस्ता कम्पनीहरुको ख्यातिको स्कोर आर्थिकभन्दा बढी दीगोपन सम्बन्धी मानकबाट बनेको हो ।
त्यसो भए के अब शेयरधारक पुँजीवादको युग अन्त्य हुँदै गएको हो भन्ने प्रश्न उठ्न सक्दछ । तर, अहिले पनि अधिकांश अमेरिकीहरु यो तर्कलाई शंका गर्दछन् । उनीहरुको सोचमा व्यवसायहरुले अबलम्बन गरेका सामाजिक उत्तरदायित्वहरु सीमित र लिपपोती गर्ने खालका छन् जसले युवा पुस्तालाई पुँजीवादतिरै अपिल गर्न सकोस् ।
बर्नी स्यान्डर्सप्रति महिला र युवाहरुमा आकर्षण बढ्नुको कारण भने शिक्षा र स्वास्थ्य सम्बन्धि स्यान्डर्सका धारणा हुन् । उनी निशुल्क शिक्षा र स्वास्थ्यको पक्षमा छन् । स्कूल कलेजको शुल्कले सबैभन्दा चर्को प्रभाव युवाहरुमा पर्दछ । अधिकांश अमेरिकी युवाहरु पढ्ने उमेरमा अभिभावकसँग छुट्टिसकेका हुन्छन् । उनीहरुमाथि काम गर्दै पढ्नुपर्ने दबाब छ ।
स्वास्थ्य सेवाको सुलभताको चर्को दबाब महिलामाथि हुन्छ । पाठेघर सुरक्षा, महिनावारी गडबढी, असुरक्षित यौन सम्बन्ध, गर्भनिरोध वा गर्भपतन, सुत्केरी, शिशुस्यहार र शिशु स्वास्थ्यजस्ता समस्या महिलाहरुले सामना गर्नुपर्दछ । महिलाहरुको स्वास्थ्य दायित्व पुरुषहरुको भन्दा कम्तीमा १० गुणा बढी हुन्छ ।
स्यान्डर्स बारम्बार यो प्रश्न गर्दछन् कि स्केनिडिनेवियनजस्ता साना र क्यानाडाजस्तो थोरै जनसंख्या भएका देशमा निःशुल्क शिक्षा र स्वास्थ्य सम्भव भइसक्यो, अमेरिकीजस्तो धनी र शक्तिशाली देशमा त्यो किन सम्भव छैन ?
स्यान्डर्सका ती तर्कहरु सामान्य लाग्दछन् तर अमेरिकी समाजमा त्यसको गहिरो प्रभाव पर्न थालेको छ । सन् २०१९ को अर्को एक राजनीतिक सर्वेक्षणमा भनिएको छ– यतिखेर ‘लिवरल’ र ‘कम्युनिष्ट’हरु विश्वव्यापी अभूतपूर्व नैतिक, वैचारिक र नीतिगत संकटमा छन् । अबको राजनीतिक प्रतिस्पर्धा ‘कन्जर्भेटिभ’ र ‘सोसलिष्ट’हरुको बीचमा केन्द्रीकृत हुन थालेको छ ।
अमेरिकी महिला र युवाहरुमा स्यान्डर्सप्रतिको बढ्दो मोह कतै त्यसैको परिणाम त हैन ?







