
सत्ताधारी नेकपा नेता राजेन्द्र राईले आफ्नो पार्टी कुनै पेशा नगरीकन पैसा थुपार्ने दलाल पार्टीको रुपमा परिणत भएको बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा समुह नेताको रुपमा बोल्दैं राईले यस्तो बताएका हुन् ।
समूहगत छलफलको निचोड सुनाउँदै नेता राईले पार्टी र आन्दोलन सही दिशामा नरहेको बताए । “हामी सही बाटोमा छैनौँ, यसरी जनताको जनवाद, समाजवाद आउन सक्दैन, किनकि, क्रान्ति जारी छ तर हामी आफै क्रान्तिका लागि नेतृत्व गर्न नसक्ने, क्रान्तिको शत्रु वर्गमा रूपान्तरण हुँदै छौं,” उनले आफ्नो समूहको निष्कर्ष सुनाए ।
“हामी दिन प्रति दिन माथिल्लो वर्गमा उक्लने कोसिसमा छौं, पुँजीपति वर्गमा रूपान्तरण हुने प्रयत्नमा छौं । सम्पति थोपर्ने होडबाजीमा छौं । त्यसैगरी दलाल नोकरशाही पुँजीवाद अबको क्रान्तिको शत्रु भनेका छौं । हामी आफैं कुनै पेसा, व्यवसाय नगरीकन सम्पत्ति थुपार्दै छौँ, पुँजीपति बन्दैछौं अर्थात् आफैं दलाल अथवा दलाल पुँजीपति बन्दैछौं । अर्कोतिर, जनताको जनवाद, समाजवाद प्राप्तिका लागि पहिलो सर्त राज्यसत्ता सम्पूर्ण रूपले हाम्रो हातमा आउनु हो तर हाम्रो हातमा सरकार र संसद मात्र आएको जो सम्पूर्ण सत्ता होइन, सुरक्षाका अंगहरू, कर्मचारी प्रशासन, अड्डा अदालत, संविधान, ऐन, कानुन आदि सबै हामीले सोचे जस्तो बनेको छैन र त्यस्तो बनाउने कुुनै सोचाइ, योजना र प्रयत्न पनि हामीबाट भइरहेको छैन, पुरानो राज्जसत्ताबाट जनताको जनवाद, समाजवादमा कसरी पुगिन्छ र ?,” उनले आफ्नो समूहमा उठेका कुरा बुँदागत रूपमा प्रस्तुत गरे ।
समृद्धि र विकासका कुरा गरे पनि त्यसको उपभोक्ता को हो भन्नेमा पार्टी प्रस्ट हुन नसकेको राईको भनाइ थियो ।







