पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीलगायतका शीर्ष नेताले जन्माएको हुर्काएको कम्युनिष्ट पार्टीभित्र आज गुटबन्दी मात्र होइन, अनुशासनहीनता, दण्डहीनता, अनैतिक, नातावाद, कृपावादलगायतका विकृति, विसंगति झांगिएका छन् । बाहिरबाट हेर्दा एकदमै इमान्दार देखिने नेता, कार्यकर्ताहरु पनि भित्र भित्र खोक्रो बनिसकेका छन् । उच्च नैतिकता, सादा जीवन र इमान्दार कार्यकर्ता ओझेलमा परेका छन् ।

अहिले नेकपामा तीन प्रकारका कार्यकर्ता छन् । एक प्रकारका कार्यकर्ता अहिले पनि गाउँमा हलो जोतेर पार्टीलाई ‘लेबी’ तिरिरहेका छन् । जो अहिले पनि शोषित, पीडित अवस्थामै छन् । दोस्रो खालका कार्यकर्ता नेताहरुको पुच्छर समाएर हाटहुट, लाटलुटमै व्यस्त छन् । यस खालका कतिपय कार्यकर्ताहरुले नेताहरुको पालनपोषण पनि गर्दै आएका छन् ।

तेस्रो खालका कार्यकर्ता जो छन्, तिनीहरु सत्ताको आडमा दिन दुगुना रात चौगुना अकूत सम्पत्तिको मालिक बनेका छन् । शीर्षनेताको भान्छादेखि बेडरुमसम्म यिनै नवधनाढ्य कार्यकर्ताको पहुँच छ । सभासद्, मन्त्री र राजदूतलगायतका राजनीतिक नियुक्तिहरु यिनीहरुकै सेटिङमा हुने गरेको छ । नेताले पत्याएका यस्ता छट्टुहरुकै नेकपामा बोलावाला छ । हिजो गाउँबाट काठमाडौँ पढ्न आउँदा एउटा स्टोब बोल्नेहरुको आर्थिक हैसियत सामन्तीहरुको भन्दा कम छैन । राजनीतिमा लागेर उनीहरुले यत्रो सम्पत्ति कसरी जोडे ? जिब्रो टोक्नुपर्ने अवस्था छ ।

तैपनि, नेकपाले लोकलाज जोगाउन कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता लागू गरेको छ । यो आचारसंहिता जारी गर्नुपरेबाटै नेकपाभित्र कति ठूलो विकृति, विसंगति झांगिएको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ । नेता, कार्यकर्ता अनुशासनहीन, अनैतिक र भ्रष्ट नभएको भए यो आचारसंहिता जारी गर्नुपर्ने नै थिएन । किनकि, पुष्पलालले परिकल्पना गरेको यस खालको कम्युनिष्ट पार्टी होइन ।

कम्युनिष्ट पार्टी भन्नासाथ फलामे अनुशासन, उच्च नैतिकता र सादा जीवन उच्च विचार भनेर बुझिन्छ । तर, आज पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी टुकुचा मिसिएको वाग्मतीजस्तो बनेको छ । त्यसलाई सफा गर्न आर्यघाटको प्लाष्टिक उठाएर मात्र हुँदैन । समस्या कहाँ छ त्यहाँबाट उपचार थाल्नुपर्ने हुन्छ । के यसका लागि अध्यक्षद्वय तयार हुनुहुन्छ ? यदि हुनुहुन्छ भन नेकपाका केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण सबैभन्दा पहिला सार्वजनिक गर्ने आँट नेतृत्वले गर्न सक्नुपर्छ । आफूले माथि बसेर नीतिगत भ्रष्टाचार गर्ने, अनि तलका कार्यकर्तालाई नैतिकताको पाठ सिकाउने कुरा नै अनैतिक हो ।

जे होस्, ढिलै भए पनि पार्टीमा विकृति, विसंगति झांगिएको कुरालाई आत्मसात गर्दै आचारसंहिता लागू गर्ने जुन आँट नेकपाले ग¥यो, त्यसको अनुशरण भावी पुस्ताले गर्ने हो भने कम्युनिष्ट आन्दोलन देश र जनताको लागि कोशेढुंगा सावित हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार