
यहाँहरूलाई के–के कार्यादेश दिइएको छ ?
एमसीसी भनेको के हो ? यो कसरी विकसित हुँदै आयो ? नेपालसँग सम्बन्ध, सम्झौता कसरी अगाडि बढ्यो ? के–के पक्ष विद्यमान छन् ? इन्डो प्यासिफिक रणनीति (आईपीएस) सँग यसको के साइनो छ ? यसले नेपालमा पार्ने अल्पकालीन, दीर्घकालीन प्रभाव के हो ? आदि समग्र कुराको अध्ययन गर्ने, विवेचना गर्ने, नेपालको राष्ट्रिय हितसँग कति हदसम्म मिलेको छ जाँच्ने, पर्गेल्ने र पार्टीलाई सुझाव दिने नै हामीले पाएको कार्यादेश हो ।
सम्झौताका केही बुँदा नेपालको हितमा देखिएनन् भने संशोधनका लागि सुझाव दिनुहुन्छ त ?
हामी अध्ययनको प्रारम्भमै छौं । अध्ययन सामग्री पनि जम्मा भइसकेको छैन । अहिले नै यसबारे टिप्पणी गर्दा हतार हुन्छ । अध्ययनबाट के निष्कर्ष आउँछ, हामी जस्ताको जस्तै पार्टीलाई बुझाउँछौं । अध्ययन, विवेचना गर्दा राष्ट्रहितलाई नै केन्द्रमा राख्छौं ।
नेपाल–अमेरिकाबीच दौत्य सम्बन्ध स्थापित भएको ७० वर्ष व्यतीत भइसकेको छ । अमेरिका त्यतिबेलादेखि नै विकास साझेदार राष्ट्र पनि हो । एमसीसी प्रकरण गिजोलिँदै जाँदा दुई देशबीचको सम्बन्धमै असर त पुर्याउँदैन ?
हामी के कुरामा सचेत छौं भने, नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, राष्ट्रिय अखण्डताले युक्त मुलुक हो । हामी संसारभरिका सबै मुलुकलाई मित्र मान्छौं । अमेरिकासँग हाम्रो लामोसमयदेखि दौत्य सम्बन्ध छ । दौत्य सम्बन्ध निरन्तर विकसित, व्यवस्थित, सुदृढ हुँदै आएको छ । अमेरिकाले नेपालको राष्ट्रिय विकासमा विभिन्न ढंगले सरसहयोगहरू गर्दै आएको छ । हामी सरसहयोगको अवस्थालाई अझ अगाडि बढाउन तत्पर पनि छौं । अमेरिकासँगको सम्बन्ध थप सुदृढ गर्न चाहन्छौं । तर, पञ्चशीलको पाँच सिद्धान्त, संयुक्तको राष्ट्रसंघको बडापत्र, स्वतन्त्र, समाता, सम्मानको सिद्धान्तका आधारमा हामी सम्बन्धलाई विकास गर्न, सहयोग र सद्भाव बढाउन चाहन्छौं । हाम्रो चाहना यतिमात्रै हो ।
तर, एमसीसी अनुदान प्रस्तावले नेकपा ध्रुवीकृत भयो, केन्द्रीय सदस्यहरू विभाजित भए नि ?
जीवन्त पार्टीभित्र विषय आउँछन् । बहस, विमर्श हुन्छ । यसलाई अन्यथा लिनु हुँदैन । बहस, छलफल भएन भने पार्टी–आन्दोलन समृद्ध हुँदैन । केही कुरामा विवाद भयो भन्दैमा नेकपा अलमलिएर बस्दैन । फस्ने कुरै आउँदैन । नेकपाभित्र विधि, पद्धति, प्रणाली छ । कुनै पनि विषयका बारेमा घनिभूत छलफल गर्छौं । नेकपाभित्र एमसीसीको बारेमा कुनै विवाद छैन । विभाजित पनि छैन । कार्यदलमा पनि हामी विभाजित छैनौं । एकरूप धारणा बनाएर अघि बढ्छौं ।







