
देश जलिरहेको बेला रोमका शासक निरो बाँसुरी बजाएर खुशी मनाइरहेको इतिहासलाई स्मरण गराउने काम नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको यो तस्बिरले देखाउछ ।
तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओली बाँसुरी बजाइरहेका देखिन्छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सारंगी रेटिरहेका छन् ।
यो दृश्य कुनै नाटक या फोटो मिलाएर बनाइएको होइन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको यथार्थ दृश्य हो ।मदन भण्डारी कला साहित्य प्रतिष्ठानका कलाकारहरु बालुवाटार पुगेर सारंगी साँझ आयोजना गरेका हुन् ।
सत्ताधारी नेकपाका प्रभावशाली नेताहरु बालुवाटारमा रात्रीभोजसहित निमन्त्रणा गरिएका थिए । सांरगी साँझमा रौसिएर ओलीसहितका नेताहरुले बाँसुरी बजाउने र सांरगी रेट्ने गरेका थिए । सांरगी र बाँसुरीको धुनमा नेकपा नेताहरुले बालुवाटारमा मनोरञ्जन गरेका थिए ।
कलाकारको समूहसँग बसेर नेकपाका तीन नेताहरुले बाँसुरी बजाउने र सारंगी रेट्ने गरेका थिए । यो तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
यो तस्बिरबाट पूर्व नेकपा एमालेका नेताहरुले आफूहरु एक भएको सन्देश पनि दिन खोजेका छन् । पछिल्लो समय ओली कमजोर भएको सन्देश जाँदा उनले वरिष्ठ नेता झलनाथ खनाललाई गत हप्ता बालुवाटारमा बोलाएर एक्ला एक्लै तीन घन्टा कुरा गरेका थिए ।
अर्का नेता माधवकुमार नेपाललाई पनि साथमा लिएर ओली शक्तिशाली बन्न खोजिरहेका छन् ।







