
जीवनभर निष्ठा र इमानको राजनीति गर्दै आएका वामपन्थी राजनीतिज्ञ चन्द्रदेव जोशीले जीवनको उत्तरार्धमा बामपन्थी सरकारकै कार्यकालमा यस्तो मुद्दा बेहोर्नुपर्छ भन्ने सपनामा पनि चिताएका थिएनन् । उनैं जोशीसँग रातोपाटीले गरेको कुराकानीको सानो अंश ।
त्यो समयमा ललिता निवासको जग्गाबारे के निर्णय गर्नुभएको थियो ? वास्तवमै त्यसबेला भएको चाहिँ के थियो ?
त्यसबेला भएको के थियो भनेर बुझ्न त्यसको पृष्ठभूमिमा जानुपर्छ । त्यो महाभारत अहिले सबै भनेर सकिँदैन । धेरै कुरा आइसकेको पनि छ । जुन कुरासँग मेरो वास्ता पर्यो, त्यो सुरु भएको रहेछ २०५८ सालमा । त्यो कुरा समरजंग कम्पनीसँग जोडिएको रहेछ । त्यहाँ ३ रोपनी १२ जग्गा सरकारी अर्थात अधिग्रहण गरेको जग्गा रहेछ । त्यो जग्गामा केही मानिसहरुले (मलाई त नाम पनि थाहा छैन) यो पशुपति टिकिन्छा गुठीको हो र हामी गुठियार हौं, त्यसैले हामीलाई मोहीका रुपमा दर्ता गराइपाऊँ भनेर निवेदन दिएका रहेछन् । उनीहरुको निवेदनपछि गुठी संस्थान त्यसको छानविनमा लाग्यो होला ।
भनेपछि तपाईं मन्त्री भएको बेला त्यो फाइल क्याविनेटमा लैजानुभयो ?
सर्वोच्चको आदेश, गुठी संस्थानको निर्णय र प्रक्रियाअनुसार मन्त्रालयका कर्मचारीले टिप्पणी उठाएपछि मैले सदर गरेँ, अनि त्यो मन्त्रिपरिषद्मा गयो ।
त्यसवेला तपाईं विभागीय मन्त्री हुनुहुन्थ्यो, तपाईंले त फाइल फरवार्ड मात्रै गर्नुभयो, निर्णय मन्त्रिपरिषद्ले गर्यो । यसरी हेर्दा त त्यसबेलाका प्रधानमन्त्रीमाथि पनि अभियोग लाग्नुपर्ने हो भन्ने कुरा पनि आएका छन् । तपाईं यसमा के भन्नुहुन्छ ?
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई ‘मेरै क्याविबिनेटमा बसेको मन्त्री चन्द्रदेव जोशीले प्रक्रिया अघि बढाएको आधारमा मुद्दा दायर भएकोमा चित्त बुझेको छैन, म कालकुट विष खान तयार छु, यो हुनै सक्दैन’ भनेर लेखेका छन् । त्यो फाइल पठाएपछि मैले मन्त्रीबाट राजीनामा दिइहालेको थिएँ । असोज ३ मा मैले राजीनामा दिएपछि त्यो फाइलबारे असोज १४ गते मात्रै छलफल भयो र १८ गते पास भयो भनेर त्यसबेलाका सचिव दिनेशहरि अधिकारीले मलाई पछि भन्नु भएको थियो । त्यसकारण त्यो समग्र प्रक्रियामा म सामेल छैन ।
अब यो प्रकरण एउटा प्रक्रियामा अघि बढिसकेको छ । तपाईंमाथि जुन आरोप लागेको छ, त्यसलाई तपाईं कसरी सामना गर्ने तयारी गर्दै हुनुहुन्छ ?
यसमा मेरो केही पनि योजना छैन । अदालतले कुन किसिमले बोलाउँछ, कसरी उसले हेर्छ, त्यसमा सबैकुरा भर पर्छ । मेरो विचारमा अदालतले बयान लेला । अदालतलाई त विश्वास गर्नैपर्छ । अदालतले जे बोल्छ, सत्य बोल्छ भन्ने नै हामी सबैको विश्वास छ । अभियोगपत्रमा के भनेका छन् त्यो पनि मलाई त थाहा छैन । त्यो मैले हेर्नुपर्ने हुन्छ ।
अभियोगपत्र पढ्नुभएको छैन अहिलेसम्म ?
छैन, मैले पढेको छैन ।
तपाईंको हकमा ७ करोड ८ लाख ४८ हजार विगो मागदावी गरिएको छ । अदालतले पनि त्यही सदर गरेको खण्डमा के गर्नुहुन्छ त ?
कहाँबाट ल्याउनु मैले त्यत्रो रकम ? जसले जिन्दगीमा आठ लाख रुपैयाँ एकमुष्ठ देखेको त छैनभने त्यत्रो पैसा कहाँबाट तिर्नु ? मेरो वस्ताविकता तपाईंले अहिले जे देख्नुभएको छ (बानेश्वरमा पुरानो सानो घर देखाउँदै) यही हो । अब तपाईं आफैं भन्नुस् जोशीले त्यो पैसा तिर्न सक्छ कि सक्दैन ?







