
नेपालमा अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग लिने कि नलिने भन्ने विवाद भइरहँदा एमसीसीको एसिया हेर्ने अधिकारी नेपाल आइपुगेका छन् ।
एमसीसीमा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चारदिने भ्रमणका लागि शुक्रबार सुटुक्क काठमाडौँ आइपुगेका हुन् ।
‘नेपालसँगको साझेदारीको हिस्सास्वरूप नियमित तथा जारी परामर्शका लागि उहाँ आउनुभएको हो,’ नेपालस्थित अमेरिकी दूतावासले भनेको छ। ‘भ्रमणका क्रममा उहाँले एमसीसी र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) का कर्मचारी, अर्थ मन्त्रालयबाट नवनियुक्त एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष र नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री लगायत सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ।’
सन २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पुरा गर्ने देशहरूलाई आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नका निम्ति समय–सीमित अनुदान प्रदान गर्दछ, दूतावासले भनेको छ। नेपाल र अमेरिकाबीच २०७४ भदौमा नेपालका लागि ५० करोड अमेरिकी डलरको अनुदान सहमतिमा हस्ताक्षर भएको थियो।
‘दक्षिण एसियाकै पहिलो उक्त सहमति सरकार, नागरिक समाज र अन्य सरोकारवालाहरूसँग परामर्शको प्रक्रिया अपनाएपछि गरिएको थियो,’ दूतावासले भनेको छ।
दक्षिण एशिया मामिला, सार्वजनिक कुटनीति हेर्ने जिम्मेवारी पाएका एक उच्चअमेरिकी अधिकारीले नेपाल भ्रमण गरेलगत्तै एमसीसीका उपाध्यक्ष शुक्रबार नेपाल आइपुगेका हुन्।







