एउटा चुनावदेखि अर्को चुनावसम्मको राजनीतिलाई अन्त्य गरेर हरेक समयमा राजनीति हुने हरेक वेला राजनीतिक सरोकार राख्नेखालको काम राजनीतिक दलले गर्नुपर्छ ।

त्यसपछि मात्रै लोकतन्त्र जीवन्त हुन्छ । अनि मात्रै समाजवादमा जान हामीले बल पाउँछौँ । अहिले त चुनावका लागि जनतासँग पैसा उठाउन पुराण लगाउने, यज्ञ गर्ने, मन्दिरमा गएर पूजा लगाउने खेल सुरु भएको छ । हामीभन्दा यस्तो पूजा बढी गर्ने कांग्रेस नै हो । हामी त घोषित रूपमै धर्मलाई व्यक्तिको आस्था मात्रै मान्ने समूह हौँ । कांग्रेसभन्दा राप्रपा अझै पूजाआजामा दत्तचित्त भएर लाग्ने होला । पश्चिम बंगालमा यस्तै भएको थियो । त्यहाँ काली पूजा र दुर्गा पूजाको जिम्मेवारी कम्युनिस्टले आफ्नो हातमा लिएपछि जनताले पूजाआजाकै कुरा हो भने त यिनीहरूले भन्दा त्रिणमूलले राम्रो पूजा गर्ला भन्ने सोचे ।

बर्नी स्यान्डर्सले कर्पोरेट हाउससँग चन्दा नलिईकन चुनाव लड्न सक्छन् भने हाम्रा जनताले कर्पोरेट हाउससँग मज्जाले कम्पिटिसन गर्न किन सक्दैनन्, जनता साँच्चै जागरुक भए भने । किनकि, जनता कमजोर छैनन् । राजनीतिक कार्यदिशाको मूल नै समाज बदल्नुभन्दा चुनाव जित्नु हो भने जसले जित्न सक्छ, त्यही मान्छे चाहिन्छ र जेले जितिन्छ त्यो नै चाहियो । त्यसैले, यथास्थितिमा समाजमा जो शक्तिशाली देखिन्छ, त्यसैलाई ल्याएर उभ्याइदिएपछि चुनाव जितिन्छ ।

विप्लवले बारुदको सट्टा विचारको कुरा गरिदिएको भए हामीलाई समस्या पर्ने थियो । उनले बारुदको कुरा गरिदिए, त्यसैले उनी प्रहरीको चिन्ताको विषय हुन पुगे । त्यस्तै डा. बाबुराम भट्टराईले माक्र्सवादमा अडिएर यसको नयाँ व्याख्या गर्न खोजेको भए हामीलाई चुनौती हुन्थ्यो । तर, उनी अब माक्र्सवाद पुरानो भयो भनेर हिँडे, हामीलाई हाइसन्चो भयो । विप्लव प्रहरीको जिम्मामा भट्टराई पत्रकारको जिम्मामा ! हामीलाई क्या मस्ती ! यी दुवैले हाम्रो टाउको दुखाउन सकेनन् । हामीलाई सबैले हाइसन्चो बनाइदिए ।

जुन दिन नयाँ पिँढीले यिनीहरूसँग विचार छैन भन्ने थाहा पाउँछन्, त्यतिखेर भने हाम्रो हालत के हुन्छ ? जस्तो बंगालको हालत भयो, हाम्रो पनि त्यही हुनेवाला छ ।

नयाँपत्रिका दैनिकसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार