विप्लव नेकपाले अछामको तुर्माखादमा जनताको बीचमा सामना परिवारको भव्य सांस्कृतिक कार्यक्रम भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोमा घोर निन्दा एवम् भत्र्सना गर्दै पार्टीलाई अवैधानिक सङ्घर्षमा उत्रिन बाध्य नबनाउन कडा चेतावनी दिएको छ ।

नेकपाको सेती–महाकाली ब्युरोका इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

निर्माणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशव्यापी सञ्चालित जागरण अभियानअन्तर्गत जनकलाकार सङ्गठन सामना परिवारको सामना जागरण अभियान अछामको तुर्माखादमा जनताको बीचमा भव्य सांस्कृतिक कार्यक्रम भइरहेको बेला प्रहरी हस्तक्षेप भएको छ । शान्तिपूर्ण ढङ्गले जनकलाकारहरूले सांस्कृतिक कार्यक्रम गरिरहेको बेला भएको केपी वलीको दलाल सामाजिक फासिवादी सरकारले गरेको दमन र हस्तक्षेपको हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भेरी–कर्णालीको अभियान सकेर सेती–महाकालीको अछाम प्रवेश गरेदेखि नै अछामको प्रहरी प्रशासनले व्यापक दमन र पिछा गर्दै आएको छ । हाम्रो जिल्ला पार्टीले सुरुदेखि नै काठमाडौँ घर भएका सीडीओ भोजराज श्रेष्ठ र ललितपुर घर भएका डीएसपी दीपक भारतीसँग समन्वय गर्न खोज्दा उल्टै अराजनीतिक भाषा प्रयोग गर्दै दमन गर्ने र गोली हान्ने धम्की दिँदै आएका छन् । जनताको रगत–पसिनाबाट तलब खाएर दलाल प्रशासनको चाकरीमा जनदमनमा उत्रने सीडीओ र डीएसपीका कारण अछाममा हाम्रो पार्टी प्रतिरोध गर्न बाध्य हुँदैछ । इमानदार, बौद्धिक र जनप्रिय पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का अध्यक्ष पदमबहादुर धामीको हत्यारालाई कारबाही गर्ने विषयमा उदासीन र लाचार साबित भएका सीडीओ र डीएसपीले तल्लो स्तरका प्रहरी अधिकृत र जवानहरूलाई प्रयोग गरेर जबर्जस्ती हाम्रो पार्टीसँग मुठभेड निम्त्याउँदैछन् । त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी प्रहरी प्रशासनले नै लिनुपर्नेछ ।’

ब्युरो इन्चार्ज निर्माणको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसप्रकारको दमन र धडपकड नरोकिएमा यसको जबाफमा हामी सेती–महाकालीका सबै जिल्लाहरूमा प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुनेछौँ । जनकलाकारहरूमाथि भएको दमनका विरुद्ध देशका सम्पूर्ण कलाकर्मी तथा साहित्यकारलाई बोल्न हाम्रो पार्टी हार्दिक अपिल गर्दछ । हाम्रो शान्तिपूर्ण राजनीतिक कार्यक्रममा निरन्तर दमन हुँदै गएमा हामी अवैधानिक सङ्घर्षमार्फत यसको जबाफ दिन बाध्य हुनेछौँ ।’

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार