
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई सम्झौताबाट यो बिन्दुमा नल्याएको भए आफुहरु श्रीलंका र पेरुमाजस्तै सिद्धिने खतरा रहेको बताएका छन् ।
बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित सभा’मा प्रचण्डले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने बताएका हुन्।
विप्लव नेकपालाई सङ्केत गर्दै उनले भने, ‘एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ।’
तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुद्धको आरम्भ गरेको थियो। विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उहाँले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे।







