जनयुद्ध छाडेर पार्टी एकता गरिएको हो : सूर्य थापा,केन्द्रीय सदस्य

जनयुद्धको कारणले कतिपय उपलब्धी हासिल भएका छन् । गणतन्त्र लगायतका राजनीतिक उपलब्धीलाई हामीले मान्छौं । तर, जनयुद्धको महिमागान गर्नुचाहिँ आवश्यक छैन । जनयुद्ध छाडेर पार्टी एकता भएको हो । जनयुद्धका उपलब्धिहरुलाई यथोचितरुपमा सम्मान र संस्थागत गरिएको छ ।

छाडिसकेको जनयुद्धको पक्षमा धेरै ‘वान साइडेड लभ’ गरिरहनु आवश्यक छैन । जनयुद्धमा बलिदान गर्ने शहीदहरु, घाइते र अंगभंग भएकाहरु, बेपत्ता हुनेहरुको यथोचित सम्मान, क्षतिपूर्ति, खोजविन मेलमिलाप जे गर्नुपर्ने हो, शान्ति प्रक्रियासँग जोडेर यी समस्याको समाधान गर्नुपर्छ । त्यसपछि जनयुद्ध सधंैका लागि बिर्सनुपर्छ ।

जनयुद्ध स्वीकार गरेर पार्टी एकता भएको पनि होइन । जनयुद्धको कार्यदिशालाई हामीले मानेर पार्टी एकता गरेको होइन । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि यो एकता भएको हो । एमालेले अंगीकार गरेको कार्यदिशाका आधारमा पार्टी एकता भएको हो ।

जहाँसम्म जनयुद्ध दिवसको कुरा छ, जनयुद्ध दिवस भनेर मनाइएको होइन । त्यो संघर्षमा ज्यान गुमाउनेहरुको स्मरण गरिएको हो । जनयुद्ध र जनआन्दोलनका शहीदलाई जहिले सम्झिए पनि हुन्छ ।

जनयुद्धबारे महाधिवेशनले व्याख्या गर्छ

विष्णु रिजाल, केन्द्रीय सदस्य

पहिलो कुरा त पार्टीले जनयुद्ध दिवस मनाउने निर्णय गरेको छैन । फागुन १ गते जनयुद्ध र जनआन्दोलनका शहीदको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । माओवादी जनयुद्ध नेपाली राजनीतिक इतिहासको कठोर यथार्थ हो । यसका पक्ष–विपक्षमा आ–आफ्ना तर्क छन् ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने नेकपाको एकीकरण जनयुद्ध गरिरहेको माओवादी र शान्तिपूर्ण राजनीतिको नेतृत्व गरिरहेको एमालेबीच एकता भएको होइन । जनयुद्ध बिसर्जन गरेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र शान्तिपूर्ण राजनीति गरिरहेको एमालेबीच एकता भएको हो ।

हाम्रो पार्टीमा इतिहासका कतिपय घटनाहरुलाई हेर्न विषयमा एकरुपता कायम गर्न बाँकी नै छ । यो बहस, छलफलले यसले लामो समय लिन सक्छ । मचाहिँ जनयुद्ध लडेर आएका साथीहरुको चित्त दुखाउन चाहान्न । जनयुद्ध भएको दिनलाई पार्टीले मानेको छ । जनयुद्धलाई कसरी हेर्ने भन्ने आधिकारिक दृष्टिकोणबारे महाधिवेशनमा छलफल हुन्छ ।

अनलाइनखबरले गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार