के १२ बुँदे सम्झौता आवश्यक थिएन ? १२ बुँदेपछि मुलुकमा एक किसिमको शान्ति कायम भएको छ यो त उपलब्धिकै रूपमा लिनुपर्ने होइन र ?

१२ बुँदे सम्झौता आवश्यक थिएन एक । दोस्रो संसद् पुनस्र्थापनाको बाटोबाट आयौँ यो पनि गलत थियो । किनभने संसद पुनस्र्थापनको बाटो तत्कालीन सात दलको बाटो हो भने हाम्रो (तत्कालीन माओवादी) को क्रान्तिकारी अन्तिम सरकार, संविधानसभा र गोलमेच सम्मेलन थियो । तर हामी क्रान्तिकारी अन्तिम सरकारको बाटो छोडेर गिरिजाप्रसाद कोइरालाको संसद पुनस्र्थापनाको मागमा आयौँ । त्यसमा पनि पहिलो शक्ति नेपाली काँग्रेस, दोस्रो शक्तिमा पूर्व एमाले माओवादी भएर जब पुरानै संसदमा प्रवेश गर्‍यौँ त्यसपछि माओवादी आन्दोलनको क्रान्तिकारी विचार थियो त्यो विचार छोडेर पुरानै संसदीय व्यवस्थासँग सम्झौता गर्न पुग्यौँ ।

त्यसपछि नेपालको दस वर्षको जनयुद्ध फर्केर हिजो राजासहितको संसदीय व्यवस्था थियो, अहिले राजाविहीन संसदीय व्यवस्था छ । मूल संसदीय व्यवस्थामा फर्केको हुनाले जनताले त्यति ठूलो अनुभूति गर्न सकेका छैनन् । उही संसद भित्रको झगडा, पुरानै संसदीय क्यारेक्टर, मनोविज्ञानको सारमा हामी आइपुगेका छौँ । रूपमा समावेशी समानुपातिक चरित्र बोकेकाले केही फरक छ । अर्को कुरा अर्थ राजनीतिमा परिवर्तन आएन ।

मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र राजनीतक परिवर्तनको उद्देश्य राखेर गरिएको त्यो जनयुद्धपछि सारभूत रूपमा यी विषयमा कति परिवर्तन भयो जस्तो लाग्छ ?

राजनीतिक रूपमा जनयुद्धले राजालाई हटायो । गणतन्त्र आयो । गणतन्त्रले संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्थालाई हटाइदियो र बहुदलीय व्यवस्था जसलाई हामी गणतन्त्र भन्छौँ । हिजोको बहुदलीय व्यवस्थामा समावेशी र समानुपातिकको अवधारणा थिएन । अहिले समानुपातिक, समावेशी र सङ्घीयताको अवधारणामा जोडियो । जसले राजनीतिक सिस्टमका लागि प्लस प्वाइन्ट भयो । तर अर्थतन्त्रको हकमा पुँजीवादलाई नै अँगाल्यो, स्थापित गर्दै गयो । संस्कार र संस्कृतिमा पनि बहुलवादलाई नै स्वीकार गर्‍यो । जसले पँुजीवादी  संस्कार र संस्कृतिलाई नै आत्मसात गर्‍यो जुन पुरानो संसदीय चरित्रकै वरिपरि घुमिरह्यो । यसरी थोरै परिवर्तन देखिए पनि मूलभूत रूपमा परिवर्तन नआउँदा आज जनयुद्ध सुरु भएको २५ वर्षपछि पनि हेर्दा संसदभित्र झगडा, पुरानै चरित्र, पुँजीवाद बढेको, व्यक्तिवाद हाबी भएको र समाजवादतिर जाने भनिए पनि सामूहिकता नष्ट हँुदै गएको अवस्था छ ।

तपाईंले यसो भन्दैगर्दा जनयुद्ध गरेका नेताहरु नै अहिले स्खलित भएर पूरै दलाल तथा पुँजीपति वर्गमा रूपान्तरित भएका छन् । यो चरित्र कसरी परिवर्तन होला र ?

सबैभन्दा बढी विग्रेका भनेको नै जनयुद्धबाट आएका सीमित नेताहरु हुन् । सबभन्दा चाँडै रूप रङ कसले फेर्‍योभन्दा जनयुद्धबाट आएका नेताहरुले । त्यसकारण मानिसहरुमा असन्तुष्टि बढ्यो । जनयुद्धबाट आएका नेताहरुसँगै सबैभन्दा बढी आशा, भरोसा र विश्वास थियो, उनीहरु नै काँग्रेस पूर्वएमालेले भन्दा पनि चाँडो रङ फेरेर नवधनाढ्य वर्गमा परिणत भएकाले अविश्वास बढेको हो । तर नेपाली समाजमा जनयुद्धले जुन क्रान्तिकारी विरासत स्थापित गरेको छ त्यो २० औँ, ५०औँ वर्षसम्म रहन्छ ।

रातोपाटी अनलाइनसँगको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार