युद्धकालका पीडितहरुले बेलाबखत नेताहरुलाई गाली गर्छन्, उनीहरु सत्तामा पुगे, हामीले केही पाएनौं भन्छन् । यसमा तपाईलाई कस्तो लाग्छ ?

मैले भन्दै आएको छु कि प्रमुख नेताको हैसियतले जनयुद्ध र शान्ति प्रक्रियामा भएका कामहरुको जिम्मेवारी मैले लिन्छु । म यसबाट भाग्दिनँ र भाग्ने कुरा हुनै सक्दैन । त्यसकारण यो प्रक्रियामा भएका राम्रा काम र कमीहरुका निम्ति पनि मैले नैतिकरुपले जिम्मेवारी लिएकै छु ।

कतिपय साथीहरु पीडामा हुनुहुन्छ, उहाँहरु कहिले काँही रिसाउनुहुन्छ, आवेगमा आउनुहुन्छ । उहाँहरुप्रति मेरो माया र सम्मान भइराख्छ, मलाई घृणा छैन । भनेको जस्तो काम नभएपछि आलोचना गर्नु, आवेग व्यक्त गर्नु, पीडा पोख्नु उहाँहरुको अधिकार हो भन्ने लाग्छ ।

तर, मैले के महसुस गर्छु भने चाहे घाइते अपाङ्ग हुन्, चाहे शहीद तथा पेवत्ता परिवार हुन्, सबैले आफ्ना गुमेका सदस्यहरुलाई सम्झिँदा प्रचण्ड ठ्याक्क अगाडि आउँछ । सबैले मलाई नै माया गर्छन् भन्ने राम्रो अनुभूत गर्छु । मलाई गाली गर्नेले पनि प्रचण्डबाट आश गर्छन् । यो मेरा लागि निकै ठूलो सन्तोष र गौरवको कुरा हुन्छ । मेरा विरोधी र आलोचकहरुले पनि आखिरमा गएर हेर्ने कहाँ हो ? ठोक्किने कहाँ हो भन्दा प्रचण्डमा नै ।

त्यसकारण मैले जनयुद्धका महान शहीदहरु, वेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरुप्रति सम्मान प्रकट गर्दा या पीडामा रहेका परिवारलाई सम्झिँदा मलाई गर्व हुन्छ । र, सबै मसँगै जोडिन्छन् । अरु साथीहरुले जिम्मा छोडे भन्ने छ मेरो । कुरा त ठूलठूला गर्छन् अहिले पनि, तर त्यतिबेलाका धेरै सहयोद्धा साथीहरु (मोहन वैद्य, बाबुराम र विप्लवतर्फ संकेत गर्दै) जिम्मेवारीबाट पन्छिनुभएको छ । म एक्लै जिम्मा लिने नेता भएको छु र मलाई यसमा गर्व छ ।

जनयुद्ध हुँदै यहाँसम्म आइपुग्दा तपाइर्हरुले हिजो उठाएका मुद्दाहरु चाहिँ अलपत्र परेका छन् जस्तो लाग्छ कि लाग्दैन ?

अलपत्रै परेका छन् भन्ने लागेको छैन । यो यथार्थ पनि होइन । किनभने, संघीय संसदमा ३३ प्रतिशत महिला छन् । स्थानीय तहमा त ४० प्रतिशत अनिवार्य प्रतिनिधित्व भएको छ । यसलाई हाम्रो आन्दोलनभन्दा बाहिरबाट बुझ्न मिल्दैन । भारतमा हेर्नुस् त, कतिवर्षदेखि ३३ प्रतिशत महिला भनेका छन्, तर सकेका छैनन् । दलितहरुको प्रतिनिधित्व र संवैधानिक आयोगसम्म हेर्नुभयो भने केही पनि भएन भन्न मिल्ने स्थिति होइन ।

अनलाइनखबरसँग गरिएको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार