माओवादी जनयुद्धका एक शीर्ष नेतामध्ये हुन् बाबुराम भट्टराई । उनैं भट्टराई हिजोआज कम्युनिस्ट आन्दोलन र माक्र्सवाद छोडेर नयाँ धारको समाजवादको पक्षमा वकालत गरिरहेका छन् ।

उनैं डा भट्टराईसँग साझापोष्टले गरेको कुराकानीको छोटो अंश यहाँ प्रस्तुत गरेका छौं –

दुःखद् कुरा जनयुद्धकै क्रममा नै नेतृत्व केन्द्रीकरणको नाउँमा केही व्यक्ति विशेषमा सत्ता, शक्ति केन्द्रित हुँदै जाँदा नयाँ वर्गको उदय हुन पुग्यो । स्टालिनको पालामा भएको ठूलो नोक्सानीबाट सिकेर हामीले ‘एक्काइसौं शताब्दीमा जनवादको विकास’ भन्ने कुरा गरे पनि व्यवहारतः त्यसलाई कार्यान्वयन गर्न नसक्दा माओवादी आन्दोलनभित्रबाट एउटा नयाँ वर्गको उत्पत्ति भएर अन्ततः संविधानसभाबाट संविधान जारी भैसकेपछि आन्दोलन विशृङ्खलित अवस्थामा पुग्न गयो ।

शान्ति प्रक्रियामा आइसकेपछि पार्टीका कार्यकर्ताहरूको व्यवस्थापन ठीक ढंगले गर्न नसक्नु र पार्टी पंक्तिमा संविधान निर्माण गरेर त्यसको जगमा टेकेर अगाडि जानुपर्छ भन्ने लाइनमा दृढतापूर्वक लाग्न नसक्नु र मुख्यतः मुख्य नेतृत्व गर्ने प्रचण्डजीको ढुलमुलपनको कारणले गर्दा अस्पष्टता रहनुले गर्दा बेलैमा हाम्रो नेतृत्वमा संविधान निर्माण गरेर अगाडि जान सकेनौं । यस्ता केही कमीकमजोरीहरूका कारणले गर्दा आन्दोलन कमजोर हुन पुग्यो ।

क्रान्ति निरन्तर अगाडि बढ्छ । समुद्रको छाल झैं क्रान्ति र परिवर्तनको प्रक्रिया कसैले रोकेर रोकिँदैन । नयाँ ढंगले अभियान अगाडि बढ्छ, क्रान्ति अगाडि बढ्छ । यसलाई हामीले बुझ्नुपर्छ ।

तर एउटा पक्ष खासगरी कमरेड प्रचण्डले नेतृत्व गरेको पक्ष अब आन्दोलन, क्रान्ति पूरा भयो भनेर हिजोका आन्दोलनका पूरै विराेधी मुख्यतः केपी ओलीले नेतृत्व गरेको जुन धार थियो त्यसमा समाहित भएर जानुले अन्ततः माओवादी आन्दोलनको ठूलो पंक्तिलाई विसर्जनको दिशातिर लगेको अत्यन्त चिन्ताजनक अवस्था छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार