भारतको राजधानी नयाँ दिल्लीमा अरविन्द केजरीवालले नेतृत्व गरेको आम आदमी पार्टी (आप)ले भारी बहुमत हासिल गरेको छ । ७० सिटको विधानसभामा ऊ एक्लैले ६२ सिट हासिल गरेर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई फेरि एक पटक लज्जास्पद हार व्यहोर्न विवश बनाइदिएको छ ।

देशभर साङ्गठनिक संरचना भएको धेरै पुरानो शक्तिशाली दल भारतीय कांग्रेसले त यस निर्वाचनमा एक सिट पनि ल्याउन सकेन ।

आपको यो जीत यस कारणले पनि उल्लखनीय रहेको छ कि दिल्लीमा यस पटक भाजपाले चुनाव जित्न निकै ठूलो शक्ति र स्रोत परिचालन गरेको थियो । २०० जना सांसदको विशाल हुल र लोकसभा चुनाव प्रचारका महारथी गृहमन्त्री अमीत शाह आफैँ यसका लागि जीउ ज्यान लगाएर खटेका थिए ।

मुलुकभरको लोकसभामा भाजपालाई भारी बहुमत हासिल भएपछि त्यसको प्रभाव दिल्लीमा पनि पर्छ भन्ने पूर्वानुमान धेरैको थियो । तर, यथार्थमा भने यो सही देखा परेन ।

त्यति ठूलो राजनीतिक फौजको दौडधुप, राज्ययन्त्रको पूरापूर प्रयोग र राष्ट्रिय मिडियाको व्यापक परिचालनले समेत आम आदमी दलको आमजनसमुदायमा रहेको प्रभाव थोरै पनि घटेन । प्रधानमन्त्री नरेन्द्र मोदीको जादूमयी भाषणले पनि त्यहाँ काम गरेन ।

सारा प्रयासका बाबजुद सन् २०१५ को चुनावमा जस्तै आम आदमी दलको ५४ प्रतिशत लोकप्रिय मत यस पटक पनि टसको मस भएन । भाजपाले केवल भारतीय कांग्रेसको र अन्य दलको लोकप्रिय मत आफ्नो पक्षमा तान्न सक्यो । भाजपाले पहिलेभन्दा ५ सिट र ६ प्रतिशत लोकप्रिय मत त बढायो तर आपको ९० प्रतिशत बहुमत भएको विधानसभामा त्यसले खासै केही अर्थ राखेन ।

यस चुनावले के सन्देश प्रवाहित गरेको छ भने हजार राज्यशक्तिका अधिकार र सय चोटिला भाषणभन्दा दुई–चारवटा जनमुखी कामको प्रभाव ज्यादा शक्तिशाली हुन्छ । दल विशाल हुँदैमा र साथमा राज्यसत्ता हुँँदैमा मात्र चुनाव जितिने होइन । राम्रो काम गर्‍यो भने भर्खरै उदाएको सानो दलले समेत भीमकाय पार्टीलाई निर्वाचनमा धुलो चटाउन सक्छ ।

जनमुखी काम गर्नका लागि कुनै दलले ठूलो सिद्धान्त बोकेको हुनुपर्र्दैन, आफ्नो घोषणामा इमान्दार र जनताको समस्याप्रति संवेदनशील भए पुग्छ ।

सन् २००२ देखि ‘परिवर्तन’ नामक एउटा एनजीओमा काम गरेका, एनजीओबाट अन्ना हजारेको भ्रष्टाचारविरोधी सत्याग्रह आन्दोलनमा सामेल भएका र त्यहीँको निराशाबाट सन् २०१२ देखि दलीय राजनीतिमा हाम्फालेका केजरीवाल कुनै खानदानी राजनीतिज्ञ होइनन् ।

आजभन्दा एक दशकअघिसम्म उनको दल आम आदमी पार्टीको भारतीय दलीय राजनीतिको सूचीमा नामोनिशान थिएन । भारतीय समाजमा व्याप्त भ्रष्टाचार र यथास्थितिप्रतिको असन्तोष र परिवर्तनको चाहनाले नै उनलाई राजनीतितर्फ डोहोर्‍याएको देखिन्छ ।

उनी कुनै समाजवादी वा लोकतान्त्रिक समाजवादी सिद्धान्तले लैस नेता पनि होइनन् । केजरीवालत हरेक दिन हनुमान–चालिसा पाठ गर्ने र आफ्नो जीतवाजीको दिनसमेत पार्टी कार्यालयदेखि हनुमानको मन्दिरसम्म विजय जुलुस गर्ने खालका धर्मभीरु सर्वसाधारण नेता हुन् । उनले.आफ्नो जीतको श्रेयसमेत मतदातालाई नदिएर हनुमानलाई दिएका छन् ।

उनको दलको भारी विजयको मुख्य कारण उनका त्यस्ता केही लोककल्याणकारी काम हुन्, जसले आमनागरिकको प्रत्यक्ष रूपमा भलाइ गर्छ । ५ वर्षको कार्यकालमा उनले दिल्लीमा सार्वजनिक विद्यालय शिक्षाको स्तर माथि उठाउने काम गरे । सार्वजनिक विद्यालयमा २० हजार नयाँ कक्षा कोठा थपिए । राजधानीमा उनले ४ सयभन्दा बढी छिमेकी क्लिनिक खोले, जहाँ निःशुल्क रूपमा तथा सस्तोमा स्वास्थ्य सेवा उपलब्ध हुन्छ ।

उनले सार्वजनिक अस्पतालको सेवाको स्तर पनि माथि उठाए । विद्यार्थी र महिलाका लागि उनले सार्वजनिक बसमा निःशुल्क यात्राको प्रबन्ध गरे । हरेक घरलाई २ सय युनिटसम्मको बिजुली र २० हजार लिटरसम्मको पानी उनले निःशुल्क रूपमा उपलब्ध गराए । जम्माजम्मी उनको कार्यकालमा उनले गरी भ्याएका काम यति नै हो ।

यिनै जनमुखी कामका बलमा उनले यस पटकको चुनावमा पनि गत चुनावमा जस्तै दिल्लीलाई अभेद्य किल्ला बनाउन सकेका हुन् । चुनावमा अरू सबै दलले उनको खिल्ली उडाए । उनले चाहिँ अरू केही नगरीकन केवल आफूले गरेको कामको मात्र प्रचार गरिरहे । अन्ततः कामले जित्यो, अफवाह र विरोधले दिल्लीका आममतदातालाई अलिकता पनि छुन सकेनन् ।

वाम विश्लेषक श्याम श्रेष्ठसँग शिलापत्रले गरेको कुराकानीमा आधारित ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार