
प्रहरीले राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई सोमबार चितवनबाट पुनः गिरफ्तार गरेको छ ।
गत माघ ६ गते चितवनबाट गिरफ्तार भएका लोहनी करिब एक महिनाको हिरासत बसाइपछि सोमबार अदालतबाट रिहा भएका थिए । उनलाई अदालतपरिसरबाटै गिरफ्तार गरेर मकवानपुरतर्फ लगिएको जानकारी पारिवारिक स्रोतले दिएको छ । गम्भीर अस्वस्थताका कारण पार्टीबाट बिदा लिएर उपचार गराइरहेका र राष्ट्रियताका विषयमा बहस गर्न ‘राष्ट्रिय जागरण मञ्च’ गठन गरेर भारतीय अतिक्रमण, नेपाली भूभाग कब्जा, अमेरिकी परियोजना एमसीसीलगायत विषयमा अन्तरक्रिया गरेर काठमाडौँबाट चितवन पुग्नासाथ गत माघ ६ गते उनलाई प्रहरीले गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दा लगाएको थियो ।
लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्चमार्फत राष्ट्रियता र जनतन्त्रका बारेमा अभियान सञ्चालन गर्दै आएका थिए । उनले पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विषयमा बहस चलाउँदै आएका थिए । लोहनीलाई यसअघि पनि चितवनमै १३ दिन हिरासतमा राखिएको थियो । यो उनको तेस्रो गिरफ्तारी हो ।
यसैबीच प्रहरीले अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विकलाई पनि गिरफ्तार गरेको छ ।







