सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिशनको विषयमा गरेको कुराकानीको टेप बाहिरिएपछि सञ्चारमन्त्रीबाट गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएपनि यो प्रकरण त्यत्तिकै नसेलाउने भएको छ । यो प्रकरणमा सत्तारुढ र प्रतिपक्षकै जिम्मेवार नेताहरु मुछिएका छन्

टेपकाण्डका मुख्य पात्र विजयप्रकाश मिश्रले यसबारे धेरै तथ्य खुलाएपछि लहरो तान्दा पहरो झर्न थालेको छ । लेखा समितिले ११ फागुनमा यसबारे गर्ने भनेको बैठक ८ गते बोलाएपछि घटनालाई ओझेलमा पार्न खोजेको भन्दै मिश्रले टेप बाहिर ल्याएको स्वीकारेका छन् । लेखा समितिका सदस्यहरुमाथि समेत प्रकरणमा संलग्न भएको संकेत गरेका छन् । यसमा सत्तापक्ष र विपक्षको समेत मिलेमताको विषय बाहिर आएको छ ।

प्रेस खरिद प्रकरणसँगै एमाआरपी खरिदको विषय पनि खुल्न थालेको छ । जुन फ्रान्सको कम्पनि ओभरथ्रोले पाएको थियो । त्यसबखत यसको प्रतिनिधि फ्लोरेन पाकोलेन थिए । एमआरपी छाप्ने टुंगो लाग्दा विकल पौडेल पासपोर्ट डिभिजनमा नेपाल सरकारको टेक्निकल अफिसर थिए । पछि सुरक्षा मुद्रणमा कार्यकारी निर्देशक भएर गए । उनलाई कार्यकारी निर्देशक बनाएर लान पनि ठूलै योजना अनुसार भएको थियो । पछि पाकोलेन जर्मन कम्पनिमा गए । जर्मनको भेडस कम्पनिको सहयोग लिएर रिपोर्ट तयार गर्न थालियो । मिश्रले भनेका छन्, ‘प्रेस खरिदको मूल्यांकनमा आठ देखि १० अर्ब वृद्धि गरियो । होल सोलुसनका लागि वृद्धि गर्नुभयो । पछि हाफ सोलुसनको निर्णयमा गए ।’

रिपोर्ट तयार गरी सञ्चार मन्त्रालयमा पेश गरियो । मन्त्रालयमा सहसचिव, सचिव र मन्त्रीको नेतृत्वमा कार्यदल बनाएर दुईपटक यसलाई मन्त्रिपरिषदले पारित गरेको अवस्था छ । यसले ओली मन्त्रिपरिषद पनि खरिद प्रकरणमा मुछिएको छ । जसका कारण ठूलै तरंग आउन सक्छ ।

मिश्रले भनेका छन्, ‘स्पेशिफिकेशनमा गलत तरिकाले ल्याउने, स्टडी रिपोर्टमा मूल्य वृद्धि गरेर ल्याउने कार्य भयो । साँढे पाँच अर्ब रुपैयाँ भ्रष्टाचार भएको छ ।’ उनको यो दाबी प्रमाणित भएमा पाँच अर्बको भ्रष्टाचार हुँदा सत्तापक्ष र प्रतिपक्षको मिलेमतोको समेत विषय बाहिर आउनसक्छ । लेखासमिति जसरी सक्रिय हुनुपथ्र्यो त्यसरी नभएको देखिएको छ । यसबाट समिति पनि विवादमा तानिएको छ ।

प्रकरणमा स्वीस कम्पनि खरिद प्रतिष्पर्धाबाट बाहिरिनु अघि प्रधानमन्त्री केपी शर्मा ओली यूरोपेली मुलुकका एकजना राजदूतलाई बोलाएर आफ्नो मान्छेलाई प्रेस विक्रीमा संलग्न हुने कम्पनिको एजेन्ट बनाउन भनेको वरिष्ठ पत्रकार युवराज घिमिरेले खुलासा गरेका छन् । यसबाट प्रधानमन्त्री ओली समेत प्रेस खरिदको प्रक्रियामा संलग्न भएको विषय बाहिर आएको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

ओलीले प्रेस विक्रेता कम्पनिको एजेन्ट बनाउन भनेका व्यक्ति आङछिरिङ शेर्पा हुन् जो यती ग्रुपका अध्यक्ष थिए र ताप्लेजुङको हेलिकोटप्टर दुर्घटनामा ज्यान गुमाउन पुगे । उनी दुर्घटनाकै दिन यही कामका लागि यूरोप उड्दै थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार