
नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले गोकुल वास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री केपीको संलग्नता रहेको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले गोकुल प्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने बताउँदै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गरे ।
उनले भने,‘प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव छैन् ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको कुरा आएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै कडा प्रश्न गरे ।
गजुरेलले भने,‘उहाँले यत्रो दिन किन गुपचुप राख्नुभयो ? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ, अहिले उहाँले गोकुल बाँस्कोटा प्रकरणमा छानबिनको सवालमा अर्कै टिप्पणी गर्नुभएको छ । अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन्, अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ ।’
गजुरेललेयो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन खोज्नुभएको त छैन् ? भनेर पनि आशंका व्यक्त गरे । ‘अडियो आएपछि उहाँले किन केही गर्नुभएन ? २ महिनासम्म के हेरेर बस्नुभयो ? उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भिर छ।’–उनले थपे ।
उनले वर्तमान सरकार अब दुई तिहाईको बलमा टिक्ने अवस्था नभएको पनि चित्रण गरे । गजुरेलले भने,‘हामी त सरकारको तमाशा हेरिरहेका छौं । यो व्यवस्था र संविधानमा नै खोट छ, पछिल्ला विभिन्न काण्डले त झनै व्यवस्था र संविधानमाथि प्रश्न खडा भएको छ । यो व्यवस्था र संविधान नै नेपाली जनताको हितमा छैन् । यो परिवर्तन हुनुपर्छ ।’







