
विप्लव नेकपा छोडेर स्वतन्त्र बसेका बौद्धिक व्यक्तित्व गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेपछि उनलाई भेट्न कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मालगायतको पत्रकारको ठूलो टीम वीर अस्पताल पुगेको छ ।
वीर अस्पतालमा रहेका लोहनीलाई भेट्न कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मासँगैं नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्याल, सत्ताधारी नेकपानिकट पत्रकार पुष्प न्यौपाने, पत्रकार मोहन लोहनी, वकिल विजय हमाललगायतको टोली पुगेको थियो ।
लामोसमयदेखि शारिरीक रुपमा गंभीर बिरामी परेपछि लोहनीलाई विप्लव नेकपाले आफ्नो पार्टीबाट बिदा गरेको थियो ।
विप्लव नेकपा छोडेपछि उनले स्वतन्त्र रुपमा राष्टिय जागरण अभियान नामक मंच खोलेर लोहनीले एमसीसीलगायत थुप्रै राष्टियताको मुद्धामा बोल्ने र लेख्ने काम गरेका थिए ।
स्वास्थ्यमा गंभीर बिरामी रहेका लोहनीलाई प्रहरीले अनावश्यक दुख दिइरहेको भन्दैं पत्रकारहरुले यो राज्यको मानवताविरोधी कार्य भएको बताए ।
प्रहरीको घेरामा अस्पतालमा उपचार गराइरहेका लोहनीले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै राज्यले आफुमाथि गंभीर खेलबाड गरिरहेको प्रतिक्रिया व्यक्त गरे ।
‘म पार्टी छोडेर स्वतन्त्र बसेको लामो समय भइसक्यो तर मलाई विप्लव नेकपाको नेता भनेर राज्यले दुख दिइरहेको छ’, उनले प्रश्न गरे, ‘के मैले बाहिर रहेर स्वतन्त्र रुपमा बोल्न र लेख्न नपाउने ?’
आफु गंभीर बिरामी रहेको कुरा अहिलेका गृहमन्त्री रामबहादुर थापा बादललाई जानकारी हुँदाहुँदैं किन गिरफ्तार गरेर दुख दिएको भन्दैं लोहनीले अस्पतालबाट आक्रोश पोखे ।
लोहनी माइजथेनिया ग्रयाविज र याङकाईहुई स्पोन्डिलाईटिसलगायत थुप्रैं रोगबाट पीडित हुन् ।
यस्तो बेला उनलाई बिनाशर्त प्रहरी हिरासतबाट मुक्त गर्नु गृहमन्त्री बादलको बुद्धिमानी हुने पत्रकारहरुको टोलीले बताएको छ ।








