
नेपाल ट्रस्टले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार यहाँ आयोजना गरेको ट्रस्टको ‘सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण सार्वजनिक’ कार्यक्रममा ट्रस्ट सञ्चालक समितिका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गर्दै हालसम्म ट्रस्टको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
उनले व्यवस्थितरुपमा जानकारी दिन नसक्दा ट्रस्टबारे भ्रम आएकाले ट्रस्टको सम्पत्ति विवरण सार्वजनिक गरेको बताए । उनका अनुसार ट्रस्टको नाममा हालसम्ममा २१ हजार ५६२ रोपनी चार आना दुई पैसा एक दाम क्षेत्रफल जग्गा रहेको छ । जसअनुसारमा सबैभन्दा बढी धादिङमा १५ हजार १०१ रोपनी ११ आना दुई पैसा एक दाम रहेको छ ।
धादिङपछि काठमाडौँमा चार हजार ४४२ रोपनी तीन दाम, चितवनमा ७६७ रोपनी ११ आना दुई पैसा, सुर्खेतमा ४५७ रोपनी सात आना दुई दाम, नुवाकोटमा २४० रोपनी ६ आना, भक्तपुरमा ११३ रोपनी दुई आना तीन पैसा रहेको छ । यी जग्गाको लालपुर्जा ट्रस्टसँग रहेको छ । ट्रस्टको ललितपुर, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुपाञ्चोक, कास्की गरी १२ जिल्लामा जग्गा रहेका छन् । ट्रस्टका अध्यक्ष पोखरेलले ट्रस्टको जग्गाबारे जानकारी दिनका लागि श्वेतपत्र जारी गरिएको बताए ।
उनका अनुसार पुससम्ममा ट्रस्टको नाममा चलसम्पत्तिको रु ७८ करोड नौ लाख ७७ हजार ७९३ रहेको छ । यसैगरी अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउण्ड स्टर्लिङ ५० हजार १२४ समेत बैंकमा मौज्दात रहेको छ । श्वेतपत्रअनुुसार नविल बैंकको शेयर पाँच लाख ३३ हजार २४४ कित्ता, होटल डेल अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको छ हजार ७५० कित्ता ट्रस्टको स्वामित्वमा रहेको छ ।
सरकारले तत्कालीन राजा वीरेन्द्र शाहका परिवारको सम्पत्ति संरक्षण गर्नका लागि २०६४ मङ्सिर ६ गते नेपाल ट्रस्टको स्थापना गरेको हो । ट्रस्टको स्थापना गरेसँगै सरकारले तत्कालीन राजारानीका स्वदेश तथा विदेशमा रहेका सम्पत्ति ट्रस्टमा ल्याउने गरेको छ ।
यसैगरी ट्रस्टले विभिन्न ठाउँमा रहेका अचल सम्पत्तिसमेत सार्वजनिक गरेको छ । काठमाडाँैमा १९ स्थान, ललितपुरमा एक ठाउँ, भक्तपुरमा दुई ठाउँ धादिङ एक, सिन्धुपाञ्चोक एक, नुवाकोट तीन, धनकुटा एक, मकवानपुर एक, काभ्रे एक, सुर्खेत एक, कास्की एक र चितवन एक ठाउँमा विभिन्न दरबार, महल, बङ्गला र जङ्गल भएका अचल सम्पत्ति रहेको श्वेतपत्रमा उल्लेख छ । ट्रस्टको सम्पत्तिमध्ये गोकर्ण, कमलादी, टेकु, लाजिम्पाटको सम्पत्ति तत्कालीन राजदरबारबाट लिजमा दिइएको थियो भने दरबार र ताहाचलमा रहेको सम्पत्ति ट्रस्ट स्थापनापछि सरकारले लिजमा दिइएको हो ।
यसैगरी छोटो अवधिका भाडामा दिइएका सम्पत्तिमध्ये वैदेशिक रोजगार कार्यालय ताहाचल, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय काठमाडौँ, गरिबी निवारण कोष काठमाडौँ र निजामती आवासीय विद्यालय धनकुटा रहेका छन् । उनले ट्रस्टको सम्पत्ति अधिकतम हित हुने गरी प्रयोग गर्ने बताए ।
उनले ट्रस्टको सम्पत्तिबाट भएको आम्दानीले हामीले शैक्षिक, स्वास्थ्य, पर्यटन क्षेत्रसहित शिक्षामा छात्रवृत्ति र विद्यालय भवन, प्रयोगशाला बनाउन सहयोग गर्ने बताए । उनले पर्यटन क्षेत्रको होमस्टे संचालनका लागि कार्यविधि बनाएर जग्गा भाडामा दिइनसमेते बताए ।
१७४ रोपनी फिर्ता गर्ने प्रयासमा
यसैगरी ट्रस्टको नाममा रहेको तर मोही लागेको जग्गा १७४ रोपनी फिर्ता गर्ने प्रयासमा रहेको बताए । उनले उक्त जग्गाको बारेमा आफूहरुले सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई जानकारीसमेत गराइसकेको उपप्रधान एवं रक्षामन्त्री पोखरेलले जानकारी दिए ।
२०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले ट्रस्टको नाममा रहेको १७४ रोपनी जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी गर्ने निर्णय गरेको थियो । “त्यसबेला भएका निर्णय के–के भएका थिए, त्यसको जानकारी माग गरिएको छ”, उनले भने, “हामी त्यो मोहीमा कसरी गयो भनेर खोजनिती गर्दैछौँ ।”
त्यतिबेला काठमाडौँको मातातिर्थामा ५४ रोपनी एक आना तीन पैसा, थानकोट र महादेवस्थानको १०२ रोपनी तीन पैसा, सतुङ्गलको एक रोपनी छ आना एक दाम र बालाजु १० रोपनी छ आना एक पैसा मोही तथा निजको हकवालाको नाममा नामसारी गर्ने निर्णय गरेको थियो ।
समिति अध्यक्ष पोखरेलले देशभरि नै ट्रस्टका जग्गाको खोजीनीतिको क्रम जारी रहेको पनि बताए ।
ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने निर्णयमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री गच्छदार संलग्न देखिएका छन्।
ट्रस्टले जारी गरेको श्वेतपत्रमा थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको १७३ रोपनी मोहीका नाममा नामसारी गर्ने कार्यमा भट्टराई र गच्छदारको संलग्नता रहेको उल्लेख छ। श्वेतपत्रमा ट्रस्टका तत्कालीन संरक्षक प्रधानमन्त्री भट्टराई तथा ट्रस्ट सञ्चालक समितिका अध्यक्ष गच्छदार रहेका बेला २०६९ कात्तिक २ मा बसेको मन्त्रिपरिषद् विधेयक समितिको निर्णयानुसार ट्रस्टको स्वामित्वको पूरै १७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाका नाममा नामसारी भएको उल्लेख छ।
मातातीर्थको ५९ रोपनी १ आना ३ पैसा, थानकोट महादेवस्थानको १०२ रोपनी ३ पैसा, सतुंगलको १ रोपनी ६ आना १ पैसा र बालाजु इचंगुको १० रोपनी ६ आना १ दाम ट्रस्टको जग्गा भूमि ऐन २०२१ विपरीत व्यक्तिको नाममा नामसारी भएको श्वेतपत्रमा छ। त्यो जग्गा ११ जनाका नाममा नामसारी गरिसकिएको छ।
ट्रस्टसँग झन्डै २२ हजार रोपनी
देशभरका १२ जिल्लामा ट्रस्टका नाममा २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गा छ। धादिङमा सबैभन्दा धेरै ७० प्रतिशत अर्थात् १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम छ। जग्गा प्रयोगविहीन छन्।
काठमाडौंमा ४ हजार ४४२ रोपनी ३ दाम, भक्तपुरमा ११३ रोपनी २ आना ३ पैसा, ललितपुरमा ८ रोपनी १० आना ३ पैसा, नुवाकोटमा २४० रापनी ६ आना छ।
धनकुटामा १९४ रोपनी, मकवानपुरमा २६ रोपनी १ आना ६ दाम, काभ्रेमा ९ रोपनी १५ आना ३ पैसा १ दाम, सिन्धुपाल्चोकमा २७ रोपनी १३ आना १ पैसा १ दाम, सुर्खेतमा ४५७ रोपनी ७ आना २ पैसा, कास्कीमा १७४ रोपनी ४ आना २ पैसा, चितवनमा ७६७ रोपनी ११ आना १ पैसा १ दाम छ।
चल सम्पत्तितर्फ नेपाली रुपैयाँ ७८ करोड ९ लाख ७७ हजार ७९३ छ। एक लाख ४८ हजार ५८१ अमेरिकी डलर, ५० हजार १२४ पाउन्ड स्टर्लिङ रकम बैंकमा मौज्दात छ। नबिल बैंकमा पाँच लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता, नेपाल औद्योगिक विकास निगममा ६ हजार ७५० सेयर ट्रस्टको स्वामित्वमा छ। ट्रस्टको ६ वटा कम्पनीलाई आफ्नो जग्गा लिजमा दिएको छ भने सरकारी कार्यालय र विद्यालय गरी ४ वटा भवन भाडामा लिइएको छ।
गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट, कमलादीस्थित काठमाडौं प्लाजाको भवन, लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड रहेका भवन, टेकुस्थित बिजनेस पार्क, दरबारमार्गस्थित कम्प्लेक्स, ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्स लिजमा दिइएको छ। ताहाचल रेडक्रसमार्गस्थित ट्रस्टको स्वामित्वको भवन सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, गरिबी निवारण कोष, वैदेशिक रोजगार विभाग र धनकुटाको चुलीवनस्थित निजामती आवासीय विद्यालयलाई भाडामा दिइएको छ।
राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति २०६४ सालमा नेपाल ट्रस्टको नाममा ल्याइएको थियो। अझै पनि ट्रस्टको सम्पत्तिको खोजी कार्य जारी रहेको अध्यक्ष पोखरेलले बताए। उनले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी गर्ने दिशामा ट्रस्ट अगाडि बढिरहेको बताए। ट्रस्टको सम्पत्ति दानपुण्यका लागि मात्र नभएको उनको भनाइ छ। उनले पर्यटकीय विकासका लागि ट्रस्टको सम्पत्ति उपयोग गरिने समेत बताए।
‘होमस्टे बनाउने, विद्यार्थीलाई छात्रवृत्ति लगायतका सेवा दिन सञ्चालक समितिले प्रक्रिया अघि बढाएको छ’, उनले भने। उनले ट्रस्टको सम्पत्ति पारदर्शी गरिने समेत बताए।
ट्रस्ट अध्यक्ष पोखरेलले त्यो जग्गा आफ्नो भएको दाबीसहित उजुरी सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण गर्न बनेको जाँचबुझ आयोगमा दिइसकेको बताए। उच्च अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा बनेको आयोगले छानबिन गरिरहेको छ। ‘हामीले त्यो जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाम नामसारी भएको भन्दै आयोगमा उजुरी दिएका छौं’, उनले भने, ‘आयोगले छानबिन गरिरहेको छ। छानबिनपछि आउने प्रतिवेदनका आधारमा राखेर मन्त्रिपरिषद्ले निर्णय गर्छ।’ श्वेतपत्रमा गोकर्ण फरेस्ट रिसोर्ट, दरबारमार्ग र तहाचलको जग्गा यी होल्डिङलाई लिजमा दिएको सम्बन्धमा उल्लेख गरिएको सदस्यसचिव एवं ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए।
गोकर्णबाट एक अर्ब लाभ
यती होल्डिङ अन्तर्गतको गोकर्ण फरेस्ट रिसोर्ट प्रालि (साबिक एलएम सुभिर ब्रदर्स नेपाल प्रालि) लाई ३० वर्षका लागि लिजमा दिने मन्त्रिपरिषद्को निर्णयको आलोचना हँुदै आएको छ। श्वेतपत्रमा लिज अवधि थप भएको २५ वर्षमा एक अर्ब एक करोड ५१ लाख रुपैयाँ तथा पुरानो सम्झौताकै बाँकी अवधिमा चार करोड ३१ लाख आर्थिक लाभ हुने उल्लेख छ।
२९ करोडको लगानीमा ४८ वटा सुविधायुक्त कोठा तथा चार सयजना अट्ने सभाहल निर्माण हुनेछ। थप अवधि रिसोर्ट सञ्चालन हुँदा ३ अर्ब ९ करोड रकम अप्रत्यक्ष व्यावसायिक करबापत प्राप्त हुने अध्ययनबाट देखिएको श्वेतपत्रमा उल्लेख छ। थप रोजगारी सिर्जना, पर्यटन उद्योगमा टेवा, सम्पत्ति संरक्षण, सामाजिक–सांस्कृतिक प्रवद्र्धन हुने पनि उल्लेख छ।







