
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यापारीहरूको षड्यन्त्र पूरा गर्न लागेको निष्कर्ष सुनाएका छन् ।
पार्टीका नेता माधव नेपाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई बालुवाटार बोलाएर व्यापारी घरानाहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको र प्रचण्ड त्यसैको लहलहैमा लागेको निष्कर्ष सुनाएको स्रोतले बतायो ।
बुधबार बसेको पार्टी सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि गठित कार्यदल विघटन गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले सचिवालयका केही नेताहरू अलग्गै भेला बसेर व्यापारीकै स्वार्थपूर्ति गर्न लागेको भन्दै असन्तोष प्रकट गरेको उच्च स्रोतको भनाइ छ ।
“ठूला व्यापारी घरानाहरू सरकार गिराउन लागिपरेका छन् । उनीहरूको इच्छा पूरा हुनेगरी सचिवालयका नेताहरू लागि पर्नु दुःखद् कुरा हो भनेर प्रधानमन्त्रीज्यूले अवगत गराउनु भयो,” बालुवाटारनिकट स्रोतले भन्यो ।
सचिवालय निर्णयको केही समयपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बोलाएका थिए । बालुवाटारको भेटमा प्रचण्डको पछिल्लो गतिविधि पार्टीको हित विपरीत रहेको भन्दै असन्तोष प्रकट गरेको स्रोतको दाबी छ ।
ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई रोक्ने गरी गौतमलाई राष्ट्रियसभामा लैजान सकिँदैन भनेर नेताद्वयलाई अवगत गराएको स्रोतको दाबी छ ।
जवाफमा नेता नेपालले सचिवालयले निर्णय गरिसकेकाले कार्यान्वयनको विकल्प नरहेको बताएका थिए ।
“यो सबै अर्थमन्त्रीलाई रोक्ने डिजाइनमा भइरहेको छ । अर्थमन्त्रीलाई ठूला व्यापारी घरानाले रुचाइरहेका छैनन् । उनीहरू सरकारै गिराउने योजनामा छन् । तपाईंहरू उनीहरूको षड्यन्त्रको मतियार बन्दै हुनुहुन्छ,” ओलीले सचेत गराएको कुरा स्रोतले उद्धृत गर्यो ।
स्रोतका अनुसार मंगलबार खुमलटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम बसेका थिए । खुमलटार बैठकपछि ठूला व्यापारी घरानासँग बैठक बसेर खतिवडालाई रोक्ने योजना बनाइएको स्रोतको दाबी छ । भेटमा कोको व्यापारी थिए भन्नेचाहिँ स्रोतले खुलाउन चाहेन ।
“अहिले सरकारविरुद्ध को-को व्यापारी षड्यन्त्रमा छन्, सबै छर्लङ्ग छ । सचिवालयका नेताहरू उनीहरूकै लहैलहैमा लाग्नु दुःखद् हो,” एक नेताले भने ।







