मंगलबार साँझ उत्तरी दिल्लीको हिंसाग्रस्त क्षेत्रमा केही व्यक्तिलाई भीडले घेरेको थियो । भीडका केही मानिस घेरिएका व्यक्तिको हातबाट मोबाइल खोस्ने प्रयास गरिरहेका थिए ।
घेरिएका ती व्यक्तिको मोबाइलमा मंगलबार उत्तरी दिल्लीमा भड्किएको हिंस्रक घटनाहरूको फुटेज थियो ।

उनीहरू आफ्नो मोबाइल बचाउने प्रयास गरिरहेका थिए । केही बेरमा त्यहाँ केही ढुंगा आएर खसे । र, तुरुन्तै छेउकै गल्लीबाट एक व्यक्ति भागिरहेको देखियो, जसको हातमा कपडा बाँधिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिको हातमा गोली लागेको थियो । सडकको दोस्रोतर्फबाट एउटा घरको छतबाट कसैले ती व्यक्तिमाथि गोली चलाएको थियो ।
यस्तो बबालपछि त्यो गल्लीको बाटो बन्द गरियो । भीडले घेरिएका ती व्यक्ति त्यही गल्ली हुँदै मुख्य सडकतिर जाने प्रयास गरिरहेका थिए ।
घेरिएका ती व्यक्ति पत्रकार थिए । गल्ली बन्द भएका कारण उनीहरू उक्त क्षेत्रका अन्य गल्ली हुँदै त्यो भीड भएको ठाउँमा पुगेका थिए ।
उनीहरू कम आक्रोशित भीडतिर जान चाहन्थे । तर, दिल्लीमा फैलिएको हिंसाको रिपोर्टिङ गर्दा उनीहरूले यस्तो परिस्थितिको सामना गर्नुपरेको यो पहिलो घटना भने होइन ।
दिल्लीलाई हेर्दा लाग्छ कि यो सहर बारूदको एक चितामा बसेको छ । मंगलबार बिहान ती पत्रकार धारा १४४ लगाइएको क्षेत्रमा पुगेका थिए । यसको मतलब दुई वा तीनभन्दा बढी मानिस एक ठाउँमा भेला हुन पाउँदैनन् ।
सोही क्षेत्रमा मानिसको एउटा हुलले एउटा बजारमा आगो लगाइदियो जुन क्षेत्रमा अधिकांश पसल मुसलमान समुदायका मानिसले चलाउँदै आएका छन् ।
जल्दै गरेको टायरको दुर्गन्ध र जल्दै गरेको बजारबाट उडिरहेका धुवाँ धेरै टाढाबाट देख्न सकिन्थ्यो । यस्तो कठिन स्थितिको रेकर्डिङ ती पत्रकारले आफ्नो मोबाइलमा गरिरहेका थिए ।
उक्त क्षेत्रबाट करिब ५ सय मिटर टाढा केही युवाले पसलहरूमा ढुंगा हानिरहेका थिए ।
जब उनीहरूले देखे कि केही पत्रकारले उनीहरूको हर्कतलाई क्यामेरामा रेकर्ड गरिरहेका छन् तब उनीहरू पत्रकारमाथि नै ढुंगा हान्न थाले । ती पत्रकार एउटा ओभर ब्रिजमा थिए । उनीहरू आफ्नो ज्यान बचाएर त्यहाँबाट भाग्नुपर्यो ।
धार्मिक नारा
प्रदर्शनकारीले बीच–बीचमा जय श्री रामको नारा पनि लगाइरहेका थिए ।
केही क्षेत्रमा सयदेखि २ सय मानिसको भीड पनि देखिन्थ्यो । तीमध्ये केही मानिसको हातमा तीर थियो, एक/दुई मानिस जय श्री राम, भारत माता की जय, बन्दे मातरमजस्ता नारा लगाइरहेका थिए । त्यो भीडमा केही मानिस ‘देशका गद्धारहरूलाई गाेली ठोक…..’ जस्ता नारा पनि लगाइरहेका थिए ।
यता, मुस्लिमहरूको घर छेउका गल्लीहरूमा केही केटा उभिएका थिए । उनीहरूको हातमा फलामे रड र डन्डा देखिन्थ्यो ।
उनीहरू आफ्नो क्षेत्रभन्दा बाहिरका केटाहरूलाई पनि जम्मा गरिरहेका थिए ताकि, दोस्रोतर्फबाट हुन सक्ने आक्रमणको सामना गर्न सकियोस् ।
यी हिंस्रक घटनाहरूमा कैयौं मुसलमानहरू मारिएको हल्ला फैलिरहेको छ । धेरै हिन्दुहरू घाइते भएका बताइएको छ ।तर, कोही पनि यस्ता कुराको खण्डन वा पुष्टि गर्न तयार छैनन् ।
अटो चालक गुलशेर भन्छन्, ‘प्रशासन नामको कुनै चिज नै छैन । यस्तो लाग्छ कि सरकारले हामीलाई लड्न र मर्नका लागि छाडिदिएको हो ।’
राजीवन नगरका रेजिडेन्ट कमिटीका महासचिव इस्लामुद्दीन भन्छन्, ‘केही बाहिरी मान्छे हिन्दू र मुसलमानबीच दरार पैदा गर्ने प्रयास गरिरहेका छन् ।’
१८८४ को सिख दंगासँग तुलना
इस्लामुद्दीन पछिल्लो अवस्थालाई १९८४ मा भएको सिख दंगासँग तुलना गर्छन् ।
उनी मान्छन् कि जब भारतीय जनता पार्टीका नेता कपिल मिश्राले भडकाउ अभिव्यक्ति दिएका थिए, त्यतिबेलै उनीविरुद्ध सही कदम उठाइएको भए अवस्था यति नाजुक हुँदैन थियो ।
कपिल मिश्रा यसअघि आम आदमी पार्टीबाट विधायक थिए । तर, उनी अब भाजपाका सदस्य हुन् । भडकाउ अभिव्यक्तिका कारण उनी विवादित बन्ने गरेका छन् ।हालै मात्र दिल्ली विधानसभा चुनावलाई इन्डिया भर्सेस पाकिस्तानको बीचको चुनाव भनेपछि निर्वाचन आयोगले उनलाई सचेत गराएको थियो ।
उनले गत आइतबार प्रहरीलाई अल्टिमेटम दिँदै भनेका थिए, ‘तीन दिनभित्र जाफराबाद क्षेत्रको एक मुख्य सडकलाई खाली गराइयोस् ।’
उनकाे यस्तो अभिव्यक्ति नै दिल्लीमा हिंसा भड्काउनमा जिम्मेवार रहेको कतिपयको बुझाइ छ ।यद्यपि, उत्तरी दिल्ली लोकसभा क्षेत्रका भाजपा सांसद गौतम गम्भीरले कपिल मिश्राको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । यसका बाबजुत अहिलेसम्म कपिल मिश्राको विरुद्ध पार्टी र प्रहरीको तर्फबाट कुनै खालको कारबाही भएको छैन ।
मिश्राले आफ्नो भाषणमा जे भने, भीडमा कैयौं मानिस त्यस्तै खालको कुरा गरिरहेका छन् ।
मंगलबार अबेर राति कपिल मिश्राले एक भिडियो ट्वीटमा लेखेका छन्, ‘जाफरबाद खाली भइसकेको छ, दिल्ली अर्को शाहीन बाग बन्ने छैन ।
यसको केही घन्टाअघि उनले एक ट्वीट गरेका थिए, ‘मलाई ज्यान मार्ने धम्की आइरहेको छ । बन्द सडकलाई खुलाउनुपर्छ भन्नु कुनै अपराध होइन । सीएएको समर्थन कुनै अपराध होइन ।’
तर, केही आशा बाँकी छ
एक रिटेल स्टोरमा काम गर्ने रोशनले मुस्लिम बहुल क्षेत्रतिर इशारा गर्दै भने, ‘अबको तीन दिनमा यो ठाउँ ‘ती मानिस’बाट खाली गराइनेछ ।’
उता, लोक सेवाको तयारी गरिरहेका युवा पृथ्वीराजले लभभग ३ सय मानिसको भीडतिर देखाउँदै भने, ‘प्रहरीले यी मानिसलाई केही भनिरहेको छैन किनकि यी मानिस दंगाका कारण होइनन्, मुसलमान कारण हुन् ।’
प्रहरीले भने त्यो क्षेत्रमा अश्रुग्याँस प्रहार गरी भीडलाई तीतरबितर पार्ने प्रयास गरिरहेको थियो ।
अनि सुरु भयो हिंसा
२२ फेब्रअरी शनिबारको रात दिल्लीको जाफराबाद मेट्रो स्टेसनक मुन्तिर केही महिला धर्नामा बसेका खबर आयो ।
सोसल मिडियामा भाइरल केही भिडियोमा देख्न सकिन्छ, बीच सडकमा स्टेज लगाइएको थियो । ती मानिस यसलाई नागरिकता कानुनविरुद्धको प्रदर्शन भनिरहेका थिए ।
सडकमा यो भीड यस्तो बेलामा उत्रिएको थियो जतिबेला भीम आर्मीका प्रमुख चन्द्रशेखर आजादले २३ फेब्रुअरीमा भारत बन्दको आह्वान गरेका थिए ।
२२ फेब्रअरीको रात केही ठाउँमा नागरिकता कानुनविरुद्ध मानिसहरू एकट्ठा भइरहेको खबर फैलियो । यो सबै जमघट दिल्लीको यमुनापार क्षेत्रमा भइरहेको थियो । उक्त क्षेत्र करिब पाँच किलोमिटरमा फैलिएको छ ।
दिल्लीको कश्मीरी गेटभन्दा सात किलोमिटरको दूरीमा सीलमपुर छ । यसैसँग जोडिएको छ जाफराबाद । त्यसपछि आउँछ मौजपुर, जसको छेउमै छ बाबरपुर । सोही सडकभन्दा अघि जाँदा आउँछ यमुना बिहार र दायाँ मोडिँदा गोकलपुरी र बायाँ मोडिँदा करिब दुई/तीन किलोमिटरको दूरीमा आउँछ भजनपुरा । यी सबै क्षेत्रमा मिश्रित समुदाय छन् । उक्त क्षेत्रमा हिन्दु, मुसलमान र सिख बस्छन् ।
२२ फेब्रुअरीमा यी क्षेत्रमा जब मानिसहरू सडकमा उत्रिए, तब बाटा बन्द भएका कारण आममानिसको हैरानी सुरु भयो । ट्राफिक लगभग ठप्प भयो ।
आइतबार बिहानैदेखि नागरिकता कानुनका समर्थक र आममानिसले बाटो बन्द गरिएकोप्रति आपत्तिप्रकट गर्न थाले ।
उनीहरूको भनाइ थियो, ‘दिल्लीलाई अर्को शाहीन बाग (दिल्लीको हिंसाग्रस्त क्षेत्र) बन्न दिने छैनौँ, बच्चाहरूको बोर्ड एक्जाम छ ।’
जाफराबादको विरोध प्रदर्शनमा बसिरहेका महिलाको भनाइ अर्कै थियो । ‘हामी ४५ दिनदेखि केही किलोमिटरअगाडि विरोध प्रदर्शन गरिरहेका थियौँ । तर, सरकारले सुनेन । जबसम्म हामी सरकारमाथि दबाब बढाउन सक्दैनौँ, तबसम्म हाम्रो सुनवाइ हुँदैन । त्यसैले हमी सडकमा उत्रिएका हौँ’, उनीहरू भन्दै थिए ।
आइतबार दिउँसो जाफरबादमा बबाल मच्चिसकेको थियो । अर्कोतिर जाफरबादसँग जोडिएको मौजपुरमा सीएए समर्थकको भीड देखियो । दुवैतर्फबाट ढुंगा हानाहान सुरू भयो ।
मौजपुर पुग्नेमा भाजपा नेता कपिल मिश्रा पनि हुन् । त्यहाँ पुगेको केही बेरपछि मिश्राले भिडियो ट्वीट गरेका थिए । ट्वीटमा मिश्राले प्रहरी र आम मानिसको समर्थन गरेका थिए ।
आइतबार साँझ हुँदै गर्दा केही क्षेत्रमा ढुंगा हानाहान भइरहेको थियो । दुवै पक्षका मानिसका तर्फबाट नाराबाजी भइरहेको थियो । नारा लगाउँदै दुवै पक्षले सामाजिक सञ्जालमा भिडियोहरू सेयर गर्न थाले ।
यस्तै परिस्थिति बढ्दै जाँदा त्यसले हिंसाको रूप लिएको हो ।
अहिलेसम्म २० जनाको मृत्यु
दिल्लीमा जारी हिंसामा अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ । गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील कुमार गौतमलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले हिंसाका कारण २० मानिसको मृत्यु भएको र १ सय ८९ जना घाइते भएको उल्लेख गरेको छ । (बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद)









