
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् ।
विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता विपरित भएकोले कुनैपनि हालतमा संसदबाट पारित हुन नदिने बताए । सचेतक गुरुङले पास गर्ने स्थितिमा असमान बुँदा र नेपाललाई तल पार्ने किसिमका प्रावधानहरु पूर्णरुपले संशोधन गरिने बताएका छन् ।
उनले यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसक्ने भन्दै भने, “अमेरिकाले हामीलाई पहिलो कुरा नेपाललाई इन्डो प्यासिफिक स्ट्रयाटेजिक पार्टनरसिप (आइपीएस)मा नरहने कुरा स्पष्ट गर्नु पर्छ, दोस्रो कुरा त्यससँग जोडिएका कुनैपनि प्रोजेक्ट नलिने, तेस्रो कुरा आइपीएससँग नजोडिएका विशुद्ध आर्थिक विकाससंग मात्र जोडिएका र त्यसमा पनि समान सर्तहरुको आधारमा मात्रै व्यापक सुधारपछि मात्रै स्वीकार्न सकिन्छ ।”
सत्तारुढ (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका गुरुङले पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका कुराहरु समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेश भएको उनले बताए । उनले अमेरिकाले चाहेको र सोँचेको जस्तो मात्रै नभएर नेपालको राष्ट्रिय हितअनुकुल बनाएर एमसीसी सम्झौता अनुमोदनको वातावरणको लागि आफूहरु छलफल गर्न तयार रहेको पनि बताए ।
एमसीसीका विषयमा पार्टीभित्र र बाहिर ब्यापक विरोध बढ्दै गएपछि अध्ययनका लागि कार्यदल बनेको थियो । अध्ययन कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन पेस गरिसकेको छ । अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्ने र नगर्ने विषय टुंगो लाग्नेछ । एमसीसीमा रहेका कतिपय बुँदाहरु राष्ट्रिय हित विपरित भएको भन्दै विरोध हुँदै आएको छ ।
कालिगण्डकीदेखि तामाकोशीसम्मको सबै जलविद्युत आयोजनालाई केन्द्रीकृत गरेर ४ सय केबीको विद्युत प्रशारण लाईन नेपाली उपभोक्ताहरुलाई वितरण गर्ने भन्दा पनि त्यसलाई सोझै पाल्पाको डाँडो हुँदै इण्डियाको सीमानामा लगेर भारतसँग विजुलीको व्यापार गर्न खोज्नुले आशंका पैदा भएको बताए ।







