म त केपी ओली जेलमा हुँदादेखि नै उनको उपचार गर्दै आएको मान्छे हुँ । भेट हुँदा जहिल्यै पनि ‘गुरुदेव’ भनेर सम्बोधन गर्ने गर्नुहुन्छ । तर, उहाँले प्रधानमन्त्री बनेपछिको यो समयसम्म एकपटक पनि कसरी अघि बढ्दा ठीक होला भनेर मसँग सुझाव लिनुभएको छैन ।

मसँग नै सुझाव लिनुपर्छ भनेको होइन । प्रधानमन्त्री बनेर कुर्सीमा बसिसकेपछि सबै कुराहरु आफैंलाई थाहा हुँदैन । सिस्टमका कारण धेरै काम आफूले सोचेजस्तो नभइरहेको हुन सक्छ । तर, त्यसका लागि बाहिर स्वतन्त्ररुपमा बसेका मानिसहरुले दिएको सुझाव पनि मान्ने स्वाभाव राख्नुपर्छ ।

तर, अहिलेका प्रधानमन्त्रीले भने अरुको सुझाव धेरै लिनुहुन्न कि जस्तो लाग्छ । उहाँहरुको आफ्नै एउटा समुदाय बन्यो । विश्वका मजदुरहरु एक हौं भनेको जस्तै एउटा समुदायको मात्रै कुरालाई विश्वास गर्दा पनि काम सोचेजस्तो हुन नसकेको हो कि भन्ने लाग्छ ।

अहिलेको राजनीतिमा नैतिक चेत र मानवीयता हराएको मैले अनुभव गरिरहेको छु । राजनीतिमा उमेर हदको कुरा पनि यसैको एक उपज हो । जसरी हिन्दू संस्कृतिमा हाम्रो उमेर अनुसारको आश्रम व्यवस्था छ । मेरो उमेर छँदासम्म र बल छँदासम्म काम गरेँ, अब तिमीहरु गर भनेर अरुलाई हस्तान्तरण गर्नुपर्ने हो ।

अझ अहिलेका प्रधानमन्त्री त जेलदेखि नै बिरामी हुनुहुन्छ । अहिले पनि त्यस्तै हुनुहुन्छ । त्यसैले उहाँले नैतिक चेतको आधारमा प्रधानमन्त्री पद छाडेर बस्नुभए पनि राम्रो हुने हो ।

म त भन्छु, यति समय भएपछि प्रधानमन्त्रीले स्वास्थ्यका कारण अब राजनीतिबाट विश्राम लिँदा पनि राम्रै हुन्छ । अहिले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष मध्ये केपी ओली शारीरिक रुपले कमजोर हुनुहुन्छ । छोराको मृत्युपछि प्रचण्ड पनि मानसिकरुपले कमजोर हुनुहुन्छ । दुबै कुनै न कुनै अवस्थामा कमजोर भएको अवस्थामा यही भावनाले पनि पार्टीलाई असर गर्छ कि भन्ने मलाई लागेको छ । तर, अब तपाईंहरुले चलाउनुहोस् भनेर छाडिदिनुभए हुने हो ।

राजनीतिमा लोभ हुन्छ, जसले गुटको जन्म गराउँछ । ओलीले हस्तान्तरण गरेपछि पनि चलाउने प्रचण्डजीले हो । उहाँले पनि कसरी पार्टी चलाउनु होला ? त्यसमा पनि आशंका नै छ ।

यसमा हामीले सबै मिलेर सिंगो पार्टीका रुपमा अघि नबढेसम्म जो सरकारमा आए पनि सोचेजस्तो प्रगति हुन समस्या नै छ जस्तो लाग्छ ।

अनलाइनखबरसँगको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार