जब नेपालमा नवउदारवादलाई आर्थिक नीति बनाएर काम भयो तब यी उद्योग तथा व्यवसायहरू चौपट भएर गएका छन् । यसरी राष्ट्रिय पुँजीको आधार खतम पार्ने पहिलो नेपाली काङ्ग्रेस हो र दोस्रो नेकपा एमाले हुँदै ‘नेकपा (नेकपा)’ मा परिणत भएको दलाल पुँजीवादी पार्टी ।

दलाल पुँजीवादीहरू यसो किन गर्दैछन् त ? किनभने साम्राज्यवादीहरूले यस्तो देशमा आफ्नो बजार कायम गरेर बजारमा एकाधिकार कायम गर्न यसो गर्दछन् । भारतीय साम्राज्यवादको आदेशमा यहाँका दलालहरूले यी उद्योगहरू ध्वस्त पारेर त्यसबापत आउने खर्चबाट आफू विलासी जीवनमा छन् भने जनताको बिचल्ली बनाएका छन् । यही कारणले गर्दा नै करिब १ करोड नेपाली युवाहरूले विदेशमा सास्तीको जिन्दगी जिउन र प्राणलाई हत्केलामा राख्न बाध्य छन् । त्यसैबाट आउने विप्रेषणले दलाल शासकहरू र तिनका आसेपासेहरूले भोजभतेर गरिरहेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नाममा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारमा रहेका जुकाहरूले करका रूपमा जनताको रगत–पसिना चुसिरहेका छन् ।

देशको अर्थतन्त्रका मालिकहरू पनि अतिकेन्द्रित र अति एकाधिकारी भएकाले दसजना दलाल पुँजीपतिहरूले मध्यमवर्गलाई समेत बेस्सरी चुसिरहेका छन् । नेपालमा १ प्रतिशत दलाल पुँजीपतिहरूको नेतृत्व गर्नेहरू क्रमशः दसजनालाई लिँदा निम्नप्रकारका छन् :

विनोद चौधरी (१.६ बिलियन डलर), शेष घले (४१० मिलियन डलर), उपेन्द्र महतो (३६० मिलियन डलर), अजेय सुमार्गी (२०० मिलियन डलर), आदित्य झा (१०० मिलियन डलर), जीवा लामिछाने (९२ मिलियन डलर), पशुपतिशमशेर राणा (८४ मिलियन डलर), बलराम चेनराई (७० मिलियन डलर), राजेन्द्र खेतान (६२ मिलियन डलर), ज्ञानेन्द्र शाह (५० मिलियन डलर) आदि ।

यी नेपालका शीर्ष दसजना मात्र हुन् । यी दसजनाले नै अर्थतन्त्रमा मात्र होइन, बरु राज्यतन्त्रमा पनि निर्णायक भूमिका निर्वाह गर्छन् ।

उनीहरूलगायत दलाल पुँजीपतिहरूद्वारा मजदुर, किसान, सिपाही र सुकुमबासी मात्र होइन, बरु मध्यमवर्ग पनि नराम्रोसँग चुसिँदै गएको छ किनभने बढी रस उनीहरूबाटै आउँछ । अब मध्यमवर्गको ७५ प्रतिशत सङ्ख्यामाथितिर बढ्दैन, किसान, मजदुर र सिपाहीको पङ्क्तिमा पुग्न बाध्य छ । अति केन्द्रीकरण र अति एकाधिकारको परिणाम यही नै हुन्छ । न्यून वैतनिक कर्मचारी, खुद्रा व्यापारी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी नै नेपालका मध्यमवर्ग हुन् ।

दलाल पुँजीवाद कति बलियो भएको छ भने यसले संसद्वादी नेताहरूलाई समेत किनेर दलाल पुँजीवादको हिस्सेदार बनाउँछ । यही कारणले गर्दा राज्यसत्ताले अर्थतन्त्र सञ्चालन गर्दैन, बरु अर्थतन्त्रले राज्यसत्ता सञ्चालन गर्दछ । यसकारण साम्यवादी दल रङ बदलेर दलाल पुँजीवादी बनेको हो । यही कारणले गर्दा शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, आवास क्षेत्र, वाणिज्य क्षेत्र, न्यायालय, प्रशासन, सुरक्षाबल सबैतिर दलालीकरण भएको छ । दीनहीनहरूले कहीँ पनि सास फेर्ने र न्याय पाउने स्थान रहेको छैन । सास फेर्नका लागि विद्रोहको विकल्पबाहेक अरू बाँकी रहँदैन । दलाल पुँजीवादले नै नोकरशाही पुँजीपति र सामन्ती अवशेषलाई पनि दलालै बनाएको छ ।

अतः दलाल पुँजीवाद र नेपाली शोषित–उत्पीडित जनताबीचको अन्तरविरोध नै आजको नेपालमा प्रधान अन्तरविरोधका रूपमा रहेको छ ।

विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनद्धारा रातोखबरमा प्रकाशित लेखको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार