
प्रधानमन्त्री केपी ओलीको अप्रेसनमा लागेका चिकित्सकहरुले ओलीलाई तत्काल डिस्चार्ज गर्न नसकिने बताएका छन् ।
गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य सूचकांकहरु समान्य भए पनि तत्काल डिस्चार्ज गर्ने मिति तोक्न नसकिने चिकित्सकहरुले बताएका हुन् ।
प्रधानन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले अपेक्षाकृत सुधारका लक्षण देखिएको भनिए पनि डाक्टरहरुलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने बताइन् ।
“अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौँ । भोलि नै पर्सि नै भनेर मिति तोक्न सकिँदैन तर छिटोभन्दा छिटो डिस्चार्ज गरेर पठाउछौं,” उनले भनिन् ।
डा. शाहले अहिले नै डिस्चार्ज गर्दा हुने भए पनि घरमा समेत अस्पतालको जस्तै व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय लाग्ने बताइन् ।
प्रधानमन्त्री ओलीले एक महिना सावधानी अपनाउनुपर्ने डा. शाहको भनाइ थियो ।
औषधिको डोज बढी भएका कारण संक्रमणको खतरा रहे पनि पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई समेत त्यस सम्बन्धि ज्ञान भएकाले संकट नआउने उनले बताइन् ।
“सुरुमा अलिकति सावधानी अपनाउनुपर्छ पहिलो १ महिना खासगरी । औषधिको डोज बढी भएकाले संक्रमणहरुको सम्भावना रहन्छ । तर उहाँले पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई पनि यस सम्बन्धि ज्ञान भएकाले यसमा त्यती संकट नआउला त्यही पनि उहाँले पुरै पब्लिक भएर भीडभाडमा जान हामी सल्लाह दिँदैनौँ । आफ्नो दैनिक काम सचिवालयबाट गर्न सक्नुहुन्छ,” डा. शाहले भनिन् ।
रुघाखोकी र अरु संक्रमण भएका व्यक्तिहरुबाट जोगिनुपर्ने बताइन् ।
सामान्य मान्छेहरु जस्तै सक्रिय हुन ६ महिना देखि वर्षदिनको समय लाग्ने उनको भनाइ थियो ।







