
ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको डा. रमेश आचार्यले बताएका छन् ।
उनी तिनै चिकित्सक हुन्, जो कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान प्रान्तमा थिए । र, तीन हप्ताअघि नेपाल फर्केपछि खरिपाटी (भक्तपुर)मा व्यवस्था गरिएको क्वारेनटाइनमा २ हप्तासम्म रहेका थिए ।
मन्दिर जाँदा सावधान
राजधानीमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतसमेत उपस्थित एउटा कार्यक्रममा डा. आचार्यले कोरोना भाइरस ३० डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा फैलिन नसक्ने पनि बताए । ‘चर्को घाममा २ घण्टाभित्रमा यो भाइरस निष्क्रिय भएर जान्छ’ उनले भने, ‘त्यसैले, यो भाइरसको संक्रमणलाई लिएर आत्तिनु पर्दैन । तर, सतर्क रहन भने आवश्यक छ ।’
ज्वरो नाप्नका लागि हरेक मानिसले घर, पसल, कार्यलयमा थर्मोमिटर राख्नुपर्ने सुझाव दिएका उनले भिडभाड हुने ठाउँमा भने कोरोना संक्रमणको खतरा बढी हुनेमा सचेत गराए ।
‘मन्दिरमा भिडभाड हुने भएकाले केही समयको लागि ‘लकडाउन’ गर्न जरुरी छ’ उनले भने, ‘मन्दिर जाँदा खाली खुट्टा नहिडौँ, मोजालाई एक पटक प्रयोग गरिसकेपछि धोएर चर्को घाममा सुकाएर मात्रै प्रयोग गरौँ ।’







