कम्युनिस्ट आन्दोलनमा युवा विद्यार्थी समुदाय नयाँ क्याडर उत्पादन गर्ने कारखानाका रूपमा बुझिन्छ । तर, यसले दृष्टिकोण निमार्णका लागि खास क्लास चलाउँदैन । सही दृष्टिकोण कसरी निर्माण हुन्छ ? भनेर कुनै बहस चलाउँदैन ।

मार्क्सवादको आधारभूत ज्ञान प्राप्तिमा आफूलाई आतुर बनाउँदैन । तर, ऊ दौडिरहेको छ । कुन पद ठूलोे र लाभको हो, त्यो भकुर्न ऊ दौडन्छ । लाभको पदमा म, म नभए मेरो गीत गाउने मान्छेलाई चाहिन्छ भन्दै ऊ दौडन्छ । आफूले गरेका गल्तीमा पनि ताली हान्ने र तेल घस्नेलाई बढुवा गर्नका लागि ऊ दौडन्छ । अब दौड यतिमा मात्र सीमित भएन कि मार्क्सवादका विद्यार्थी माइतीघर (पशुपति वा स्वयम्भू) मण्डलालगायत देशैभरका चोकमा प्रार्थनासभा र क्याम्पसमा शान्तिपूजा गरेपछि प्रधानमन्त्रीको शल्यक्रिया सफल हुन्छ भन्ने ठाउँमा पुगेको छ । यसरी हेर्दा अखिल, अब अखिलजस्तो रहेन । विश्वदृष्टिकोणका आधारमा अखिल ईश्वरीय आशीर्वाद, दान र वरदानमा बदलियो ।

विवाहको मौसममा अखिलका नेता—कार्यकर्ताको अर्को चित्र देखिन्छ । मार्क्सवादका विद्यार्थीको विवाह लगनको दिनबाहेक अर्को दिन गर्नैहुँदैन । दुलही (अखिलकी नेत्री)लाई सुनले ढाकिएन भने सामाजिक हैसियत कमजोर हुन्छ भन्ने बुझाइ बलशाली बन्दै छ । हामी विवाहलगत्तै थर फेर्छौं, चुरापोतेमा रमाउँछौँ र निधारदेखि थाप्लोसम्म सिन्दुर लगाएर मख्ख हुन्छौँ । तर, पनि हामी भौतिकवादी दर्शनका विद्यार्थी र अखिलका नेता भएको भ्रममा रमाइरहन्छौँ । आमा र हजुरआमा अथवा भाउजू र माइजूलाई ‘शिवलिंगको पूजा गर्नु भ्रम हो’ भन्ने विषय बुझाउने दिशातिर होइन कि उहाँसँगै शिवलिंगको पूजा गर्ने पंक्तिमा उभिन्छौँ । यसरी नयाँ समाज र संस्कृति निर्माणको उद्देश्यबाट हामी चिप्लिन्छौँ र पुरानै समाजको रुढिगत कुरीतिमा फर्कन्छौँ ।

सही र गलतबीचमा सीमारेखा कोर्न नसक्ने कार्यकर्ता पार्टी आन्दोलनमा बाक्लिँदै गर्दा सहीको ठाउँमा गलत, आलोचनात्मक चेतको ठाउँमा गुलाम, भौतिकवादी विश्वदृष्टिकोणको ठाउँमा ईश्वर र ईश्वरीय शक्तिको विश्वासमा चुर्लुम्म डुब्छौँ । यसरी कार्यकर्ता तहको दृष्टिकोण र व्यवहारमा धमिलोपन बाक्लिँदै गर्दा माथिको मुहान कस्तो छ ? भनेर हेर्न जरुरी हुन्छ । ‘भैँसी पूजारी’ भनेर मुहानमाथि भएको आक्रमणले हैरान भएका कार्यकर्ता नेताले नै श्रीमतीको स्वास्थ्यका लागि गलेश्वर मन्दिरमा आरती लगाएपछि भैँसी पूजा होइन भन्ने तर्कमा स्वतः फितलो भए ।

हामी आफ्नो जन्मदिन बडेमानका केक काटेर धुमधामसँग भोजभतेरसहित मनाउँछौँ र कार्यकर्ताले त्यही सिकून् भन्ने ठान्छौँ । विवाहको रजत वा स्वर्ण वर्ष भन्दै भोजभतेरसहित जोरैबाजा बजाएर मनाउँछौँ र कार्यकर्ताले यो पनि गर्न मिल्ने रहेछ भनेर सिक्छन् । पार्टीका केन्द्रीय सदस्य बाआमा मर्दा सेतो कपडासहित १३ दिनसम्म क्रियाकर्ममा बस्छौँ र कार्यकर्ताले यसैलाई नजिर बनाउँछन् । जुन गतिविधि कम्युनिस्टको भौतिकवादी विश्वदृष्टिकोणसँग मेल खाँदैन ।

कम्युनिस्ट पार्टीको तर्फबाट मन्त्रीसमेत बनेका पार्टी केन्द्रीय सदस्यले अकुत सम्पत्ति कमाउँछ । त्यसलाई वैधानिक बनाउने नाममा अर्को भयंकर गल्ती गर्छ र मिडियामा खुलेआम भन्छ, ‘विवाहमा श्रीमतीको माइतीले दाइजो दिएका हुन् ।’ कम्युनिस्टले पनि दाइजो लिन मिल्ने रहेछ भनेर कार्यकर्ता र जनताले दाइजो लिन सिक्छन् । लगभग विस्थापित भइसकेको दाइजो प्रथा कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यबाटै पुनस्र्थापना गर्ने कामको नेतृत्व हुन्छ भने हाम्रो हालत के भइरहेको होला ? रुद्री पूजा, पितृपिण्ड, ग्रहशान्ति हुँदै बर्सेनि जनैपूर्णिमामा जनै फेर्नेसम्मका अन्धविश्वासका गतिविधि जब कम्युनिस्ट पार्टीको केन्द्रमा सघनतामा देखिन्छ, तब त्यसले तल कार्यकर्ता र जनतासम्म नकारात्मक ढंगले विस्तारित रूप लिन्छ । परिणाम कम्युनिस्ट आन्दोलन क्रमशः भौतिकवादी विश्वदृष्टिकोणबाट विचलित भएर देउरालीमा फूलपाती चढाउने ठाउँमा पुगेर विसर्जन हुन्छ ।

समाजमा पर्ने नकारात्मक प्रभाव अर्को हुन्छ । समाजमा कम्युनिस्ट पार्टीको प्रभाव बढ्दै जाने र लोकप्रिय मत प्राप्त गर्ने, तर यही समाजमा पूर्णिमामा शालीनदी नुहाएर महिनाभरि स्वस्थानी कथामा लठ्ठिने जनताको संख्या पनि बढ्ने अवस्था सिर्जना हुनु केको परिणाम हो ? दृष्टिकोणका हिसाबले यी दुई घटना विपरीत हुन् । समाजमा कम्युनिस्ट पार्टीको प्रभाव बढ्दा स्वस्थानी कथामा विश्वास गर्ने जनताको संख्या घट्नुपर्ने अथवा स्वस्थानी कथामा विश्वास गर्ने जनताको हिस्सा बढ्दै जाँदा कम्युनिस्ट पार्टीको प्रभाव घट्नुपर्ने, तर दुवै एकै समयमा बढ्नुको अर्थ कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता आफैँ भौतिकवादी विश्वदृष्टिकोणमा विश्वास गर्दैनन् भन्ने हो ।

विश्वदृष्टिकोणमा यस्तो कमजोर पंक्तिले जनाताबीचमा कम्युनिस्ट विचार र नयाँ संस्कृति प्रचार गर्न र प्रभाव बढाउन सक्दैनन्/सकेका छैनौँ भन्ने प्रमाण हो । जब कम्युनिस्टले जनताबीचमा वैचारिक र सांस्कृतिक काम गर्दैनौँ, त्यो जनता अस्थिर, अस्थायी र क्षणभरमै अर्को पार्टीको समर्थक वा सदस्यको रूपमा देखापर्छ ।

न्यौपानेको नयाँ पत्रिकामा प्रकाशित लेखको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार