
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले १३ बुँदे लालपत्र जारी गर्दै एनसेलको सिमकार्ड र रिचार्जकार्ड बिक्रिबितरणमा प्रतिबन्ध गर्नुका साथैं साथैं एनजिओ र आएनजिओलाई आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
नेकपा राप्ती ब्युरो इन्चार्ज समरद्धारा लामो लालपत्र जारी गर्दै आफ्नो पार्टीले जारी गरेको लालपत्रलाई जसले उल्लंघन गर्छ उसका विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको छ ।
१३ बुँदे लालपत्रमा जनप्रतिनिधि भनिनेहरुको नाममा रहेका नीजि निर्माण कम्पनी र निर्माण सामाग्रीलाई पनि खारेज गर्ने घोषणा समेत गरेको छ ।
यस्तो छ नेकपा राप्ती ब्युरोले जारी गरेको १३ बुँदे लालपत्रका बुँदाहरु –
नेपाल कम्युनिस्ट पार्टी
राप्ती ब्यूरो “लाल-पत्र”
आदरणीय जनसमुदाय,
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले नेपालको बिद्यमान संसदिय राज्य व्यवस्थाको विरुद्ध बैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनार्थ “एकीकृत जनक्रान्ती”को नविनतम कार्यदिशाको प्रयोग सहित अघि वढिरहेको छ।नेपाली राजनैतिक आन्दोलन र संसदिय व्यवस्थाको इतिहासमा केपि नेतृत्वको समाजिक दलाल सरकार सर्वाधिक संकट र जनबिरोधी हर्कतका कारण चौतर्फी आलोचना ,घृणा र तिरस्कारको सिकार बनेको छ।आफ्ना बिदेशी मालिकहरुको आशिर्वाद तथा सहयोगमा सम्पन्न गरिएको संसदिय तथा स्थानीय निर्वाचनको नौटङ्की मार्फत अगाडि आएका संसदिय तथा स्थानीय कथित जनप्रतिनिधिहरु वैदेशिक शक्ति केन्द्रका भाडाका टट्टु र आज्ञाकारी कारिन्दा बनेका छन।
आज देशको ब्यापार घाटा र वैदेशिक रिन निकै डरलाग्दो रूपमा वृद्धि भैरहेको छ।बेरोजगार युवाहरू विश्वका अधिकाङ्श मुलुकमा सस्तो-श्रम बेच्न बाध्य पारिएका छन।स्वास्थ्य क्षेत्रमा निजीकरण र माफियाकरणका कारण सामान्य झाडापखाला र क्षयरोगका कारण बार्षिक ८-१० हजार मानिसहारुको मृत्यु भैरहेको छ।शैक्षिक सस्थाहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्रीका रूपमा केन्द्रित हुन पुगेका छन । लागुऔषध दुर्ब्यसनिले सिंगो नेपाली समाजलाई गिजोल्दै लगिरहेको छ।सामाजिक बिकृती र बिसङ्गतिले सिमा नाघिसकेको छ।महङ्गी ,हत्याहिंसा तथा वेलगाम सबैतिर वृद्धि गरिएका कर प्रणालीले जनतालाई आजित तुल्याएको छ।राज्यसत्ता अन्तर्गत सरकार सम्हाल्न पुगेका कथित केन्द्रिय तथा स्थानीय जनप्रतिनिधिहरु यो समस्याहरको समाधान गर्न त परै जाओस् बरु राष्ट्रघात ,जनघात,भ्रष्टाचार ,कमिसनखोर लगाएतका दर्जनौं काण्डहरुमा मुछिन पुगेका छन।कालापानी ,लिम्पियाधुरा र लिपुलेक लगायतका हजारौं हेक्टर जमिन भारतिय साम्राज्यवादले आफ्नो देशको नक्शामा समावेश गर्दा मौसमी राष्ट्रवादको मुखुण्डोधारी केपि सरकार मुखमा पट्टि बाधेर बसेको छ भने त्यसको विरुद्धमा आन्दोलन गर्ने देशभक्त क्रान्तिकारी हरुका विरुद्ध निर्ममतापुर्वक दमन संचालन गरिरहेको छ। राष्ट्रको करोडौ बजेट दुरुपयोग गर्दै वर्तमान प्रधानमन्त्रीले पुर्वराजा ज्ञानेन्द्र शाही कै शैलिमा आफ्नो फोटो प्रचार गर्न जन्मदिन मनाउने तथा विभिन्न शिर्षक उप-शीर्षकहरुमा आफ्नो नेताकार्यकर्ताहरुलाई करोडौं रकम बितरण गरेका छन।”समृद नेपाल सुखी नेपाली”, को कागजी नारा “कंगाल नेपाल दुखी नेपाली” को तितो सत्यको व्यवहारिक रुपमा अभिव्यक्त हुन पुगेको छ।आफुलाई कम्युनिस्ट बताउने सरकारको नेतृत्व गरिरहेका नेताहरुको न कम्युनिस्ट चरीत्र छ न त उनिहरुले संचालन गरिरहेको सरकार नै कम्युनिस्ट भन्न लाएक छ। उनिहरुले आफ्ना बिदेशी प्रभु सामु आफुहरु कम्युनिस्ट नभएको ,प्रजातान्त्रिक पद्धतिमा आएको ,संसदिय व्यवस्था स्वीकार गरेको र नाम मात्र कम्युनिस्ट भएको लाज घिन पचाएर बयान गर्छन् भने यता जनतालाई आफुहरु कम्युनिस्ट भएको जामा भिरेर, भ्रम दिएर जनता माथी शोषण र दमन थोपार्न पुगेका छन।उनिहरुले चौतर्फी स्याल हुइया चलाएका छनकी ,देश बिकासमा कायापलट भयो। समाजवाद आयो । तर तथ्य र तथ्यांकहरुले के साबित गरेका छन कि आर्थिक बर्ष ७६/७७ को साधारण खर्च बितेका ८महिनामा १५-२०%मात्र खर्च भएको छ।
आदरणीय जनसमुदाय ,
राष्ट्र र जनताका यिनै बिद्यमान विकराल समस्याको समाधानार्थ हाम्रो पार्टीले बिद्यमान राज्यसत्ताका विरुद्ध संघर्षरत छ।हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ कि बिद्यमान यी समस्याहरु संसदिय राज्यव्यवस्थाका उपज हुन र यसको समाधान केवल बैज्ञानिक समाजवादी राज्यसत्ता द्वारा मात्र संभव छ।बैज्ञानिक समाजवादी राज्यसत्तामा जनताका गास ,बाँस,कपास ,शिक्षा ,स्वास्थ्य ,रोजगार ,संचार र मनोरञ्जन ग्यारेन्टी हुनेछ ।राष्ट्रघात,जनघात ,भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध बैज्ञानिक समाजवादी राज्यसत्ताले कठोर र निर्मम कदम चाल्ने छ।राष्ट्र एवं जनता वास्तविक शान्ति र स्वाधीनता सहित समृद्धिको पथमा लम्कने छन ।हाम्रा छिमेकी मुलुक चीन र भारत क्रमशः जापान र बेलायतका उपनिवेश बनाइए तर हाम्रो मुलुक पिता-पुर्खाहरुको बिरताका कारण कसैको पनि उपनिवेश बनेन तर आज हाम्रा छिमेकी मित्र रास्ट्रहरु बिकासका दृष्टिले निकै अघि बढेका छन तर हाम्रो अवस्था नवऔपनिवेशिक रहेको छ।सामाजिक दलालका प्रतिनिधिहरु हाम्रो देश गरिव र निर्धन छ तसर्थ वैदेशिक सहयोग बिना देशको बिकास असम्भव छ भनिरहेका छन ।के यो कुरा साचो हो त ? हाम्रो निष्कर्ष के छ भने देश बिकासको पुर्वाधारका रुपमा रहेका जलश्रोत ,वनजङ्गल ,जडिबुटी ,जमिन र जनशक्तिको सहि सदुपयोग गर्न सक्दा हाम्रो देश छोटो समयमा समृद्ध मुलुकमा प्रवेश गर्नेछ र विकसित राष्ट्र सङ्ग प्रतिस्पर्धा गर्नेछ ।हाम्रा यिनै बिचार उदेश्यहरु आम जनतामा पुर्याउन हाम्रो पार्टीले विभिन्न अभियानहरु संचालन गरिरहेको छ।हाम्रो पार्टीको सचेतापुर्ण अभियान, पार्टी ले दिनप्रतिदिन प्राप्त गर्दै गरेको लोकप्रियता र राजनैतिक उचाइ र जनप्रेमबाट आतंकित भएर अतालिएको केपि नेतृत्वको सामाजिक दलाल सरकारले हाम्रो पार्टी विरुद्ध थोपारेको कथित प्रतिबन्धले एक बर्ष पुरा गरेको छ।सामाजिक दलाल बर्ग द्वारा नेतृत्व गरिएको सरकारले बितेका एक बर्षमा चौतर्फी आलोचना र घृणाको सामना गर्नुपरेको छ।प्रतिबन्धसङ्गै उनिहरुले घोषणा गरेका थिए नेकपालाई एक महिनामा पत्तासाफ गरिनेछ ।नेकपालाई सहयोग गर्ने सहयोगिहरुलाई समेत कार्वाहीको दायरामा लिइनेछ,उनिहरुका जनबिरोधी हर्कतका विरुद्ध ने.क.पा.ले सामाजिक दलाल सरकार विरुद्ध प्रतिबन्धको घोषणा गर्यो ।यस बिचमा उनिहरुले आफ्ना फौजी गतिविधिहरु व्यापक बनाए जस अन्तर्गत भोजपुरका क.निरकुमार राई र तिर्थराज घिमिरे तथा सर्लाहीमा कुमार पौडेललाई गोलिहानी हत्या गरियो र दोहोरो भिडन्तको हल्ला चलायो ।उहाँहरु क्रमशः सोलुखुम्बु सेक्रेटरी ,युवा संगठनको भोजपुर जिल्ला सदस्य र सर्लाही जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो।यसका साथै देशब्यापी रूपमा झन्डै २हजार नेताकार्यकर्ताको गिरफ्तारिका साथै दर्जनौं अप्रेसन ,अभियानहरु संचालन गरे । उनिहरुको दमनका विरुद्ध प्रतिरोध संघर्षका साथै हाम्रो पार्टीका तर्फबाट मुख्यतः राजनैतिक तथा संगठनात्मक अभियान मार्फत जनसम्वन्ध सुदृढ गर्ने अभियानहरु अगाडि बढाइयो ।उक्त अभियान को दौरान थुप्रै योद्धाहरु आन्तरिक दुर्घटनाका कारण साहादत र घाइते बन्नपुगेका छन।प्रतिबन्धको कथित फौजी योजनाका विरुद्ध सन्चालनगरिएका राजनैतिक तथा साहसिक प्रतिरोध अभियानहरुले हाम्रो पार्टीलाई एउटा शक्तिशाली र क्रान्तिकारी पार्टीको रूपमा स्थापित गर्न मद्दत गरेको छ।
आदरणीय जनसमुदाय ,
कथित प्रतिबन्ध पछि संचालन गरिएका दमन,प्रतिरोध र पुनः प्रतिबन्धका राष्ट्रिय राजनैतिक परिदृश्यमा राप्ती ब्यूरोले पनि आफुलाई आजको सापेक्षतामा संघर्षका विभिन्न मोर्चाहरुमा समाहित गर्न पुगेको छ।राप्ती क्षेत्रमा भएका विभिन्न प्रतिरोध संघर्षहरुले केन्द्रिय र स्थानीय शासकहरुको निद-हराम गरेको छ।यस बीचमा राप्ती क्षेत्रमा झन्डै १५० जना नेताकार्यकर्ता गिरफ्तार गरिएका छन।ती नेताकार्यकर्ताहरु न्यायलयको क्षेत्रबाट मुक्त भइ अधिकाङ्स पार्टीको कामकाजमा जोडिएका छन। राप्ती क्षेत्र जनयुद्ध कालको केन्द्रिय आधार इलाका हो।जहाँको प्रत्येक गाउँ बस्ती ,खोलानाला र डाडाकाडाहरु सहिदहरुको रगतले सिंचित भएको छ।आज राप्ती क्षेत्रले आफ्नै आखा अगाडि देखिएको र भोगेको गद्दारी र प्रतिक्रान्तिलाई दुत्कार्दै पुनः एकीकृत जनक्रान्तिमा समर्पित बन्ने प्रक्रियाको थालनी गरेको छ। इतिहासका तथ्यहरुले साबित गरेको यो कुरामा हामी स्पष्ट र दृढ छौ कि कुनै पनि राजनैतिक क्रान्तिका विरुद्ध खडा हुने शासकहरु हरेक क्रान्तिको मशालले भस्म खरानी हुने गरेका छन।तसर्थ दलाल संसदिय व्यवस्था ,सामाजिक दलालहरु द्वारा नेतृत्व गरिएको केपि नेतृत्वको सरकार नेपाल कम्युनिस्ट पार्टी द्वारा अघि बढाइएको एकीकृत जनक्रान्तिले इतिहासमा नामनिशान मेटिने गरि ध्वस्त पार्नेछ र नेपाल बैज्ञानिक समाजवादी मुलुकमा रुपान्तरण हुनेछ।केपी नेतृत्व को सरकारले हाम्रो पार्टीको विरुद्ध लगाएको कथित प्रतिबन्ध एक बर्ष पुगेको सन्दर्भमा सामाजिक दलाल सरकार का विरुद्ध प्रतिरोध र समाज सुधारको क्षेत्रमा आम्सिक क्रान्ति को लागि राप्ती क्षेत्रमा क्रियाशिल विभिन्न सरोकारवाला संघ सस्था आम जनसमुदाय र दलाल सरकारको प्रदेश तथा स्थानीय निकायहरुमा जानकारी एवं कार्यान्वयनको लागि यो लाल पत्र जारि गरिएको छ।
१. अरबौ कर छली गर्ने लुटेरा दुरसंचार प्रदायक कम्पनी Ncell का सिम कार्ड र रिचार्ड कार्ड आयत-निर्यात बिक्रि-वितरणमा प्रतिवन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ।
२. कथित लघुबित्तिय सस्था / माइक्रोफाइनान्स का नाममा जनता लुट्ने र मार्ने सम्पुर्ण सस्थाहरुलाई प्रतिवन्ध गर्दै आम किसान मजदुरलाइ रिन (कर्जा)नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त ससम्मान फिर्ता गर्न सम्बन्धि बित्तीय सस्थालाइ हाम्रो पार्टी चेतावनीमुलक निर्देशन गर्दछ।
३.लागुऔषध दुर्व्यसनले समाजलाई दिनप्रतिदिन बिकृत विघटित र अपराधिकरन पार्दै लगिरहेकोले लागुपदार्थको प्रयोग तथा बिक्रि वितरण नगर्न /नगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ।
४.सोझा साझा जनतालाइ गरिबी,आर्थिक अभाव बेरोजगारी र अशिक्षाको फाइदा उठाउदै विभिन्न प्रलोभन तथा झुटो आश्वासन दिएर networking व्यापारमा संलग्न गराइ ठग्ने गरेकोले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त रवैया बन्द गरि विविध कारण सो कार्यमा लागेका दाजु भाइ तथा दिदी बहिनी लाई उक्त कार्य संलग्न नहुन सुसूचित गर्दै सदस्य(Member) बनाउने नाममा असुलिएको सम्पुर्ण रकम क्षतिपूर्ति सहित फिर्ता गर्न सम्बन्धित निकायलाइ हाम्रो पार्टी निर्देश गर्दछ।
५ मजबुरिमा पारेर वा परेर चर्को व्याजमा रिन प्रवाह गरि बेघरबार बनाउने सुदखोर, मिटर-व्याजी, साहु-महाजन लाई यस्तो कार्य नगर्न/नगराउन चेतावनी दिनुका साथै जो जस्को छिनुवा पासका नाममा लिइएका घर जग्गा धन सम्पती अविलम्ब फिर्ता गर्न र चर्को ब्याज दरमा लिएको रिन नतिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ।
६. कथित जनप्रतिनिधि भनिने दलाल सत्ताका मत्तियारका रुपमा केन्द्र देखि स्थानीय सम्म क्रीयाशिल तिनका निर्माण कम्पनी, निर्माण सामाग्री र उनिहरु द्वारा निर्देशित उपभोक्ता समिती लाई तत्काल खारेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।
७. भारतीय नम्बर प्लेटका सवारी साधन तथा चलचित्रमा पुर्णरुपमा रोक लगाएको हाम्रो पार्टी घोषणा गर्दछ।
८.कालोबजारी गर्ने, उपभोक्ता ठग्ने, खोला नाला तथा काठ चोरीपैठारी तस्करी गर्ने लगायतका अवैध कार्य गर्ने कथित उधोगि व्यापारी र समयमा काम सम्पन्न्न नगर्ने र गरे पनि गुणस्तरहिन काम गर्ने निमार्ण व्यवसायीलाई लाई बहिस्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ।
९. विभिन्न नाममा धर्म-सस्कार सस्कृती र समाज बिरोधि व्यापारीक प्रयोजनमा गरिने मेला-महोत्सव र महायज्ञ नगर्न/ नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ।
१०.जनसत्ताको नीति नियम र अनुमति बेगर संचालित ngo/ingo लाई प्रतिवन्धित गरिएको छ।
११.गुण्डागर्दी/ जुवातास/ जाडरक्सी/ बाल तथा बहु विवाह /यौन-व्यभिचार/मानव तस्करि/ ढुकुटी लगायत सामाजिक अपराधका मुलकारक भएको हुदा त्यस्ता कार्य नगर्न/ नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।
१२. ज्यानमारा बिषालु रक्सी उत्पादन बिक्री वितरण तथा उपभोग नगर्न/नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।
१३. कृषि, पर्यावरणको खिलाप जग्गा जमिन खण्डिकरण गर्ने, शिक्षा र स्वास्थ्य जस्तो सेवाको क्षेत्रमा व्यापारिकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारी लगायतका भुमाफिया, शैक्षिक माफिया, स्वास्थ्य माफिया कमिसनखोर लाई जनपरिसदको केन्द्रिय निति अनुरुप जनकार्वाही गरिने छ ।
२०७६ फागुन २८
समर
इन्चार्ज







