
सत्ताधारी नेकपा पार्टीभित्र अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँड गर्नुपर्ने र प्रधानमन्त्रीले पार्टी र सरकारको पनि नेतृत्व गर्दा काम प्रभावकारी हुन नसकेको गुनासो बढ्दै थियो ।
गत मंसिर ५ गते बसेको सचिवालय बैठकले सम्बोधन गर्दै दुई अध्यक्षको कार्यविभाजन गर्यो– “आम रूपमा पार्टीको काम अध्यक्ष प्रचण्डले गर्ने, प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने ।”
सचिवालयले ‘कार्यकारी’ अध्यक्षको भूमिका प्रदान गरे पनि प्रचण्डले त्यसको उपयोग गर्न भने नसकेको टड्कारो देखिन्छ । पार्टीका निर्णय कार्यान्वयन त परै जाओस्, ओलीको अनुपस्थितिमा सचिवालयको बैठक पनि डाक्न सकेका छैनन् । १५ दिनभित्र टुङ्ग्याउने भनिएको एकताको काम महिना डेढ महिना बितिसक्दा पनि अलपत्र छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल दुई अध्यक्षको सहमति, समझदारीबिना पार्टीले निर्णय गर्नै नसक्ने बताउँछन् ।
“महाधिवेशनसम्म जे समझदारी, सहमति गरेका छौं, त्यो पालना हुनुपर्छ । दुई अध्यक्षले सहमतिका साथ कार्यसूची ल्याउने र त्यही आधारमा निष्कर्ष, निर्णयमा पुग्नुपर्छ,” पोखरेलले अन्तर्वार्तामा भनेका छन् ।
कोरोनाको भय, आतङ्क र असरबारे पार्टी बेखबर छ । रोकथाम, न्यूनीकरणका लागि सरकारलाई निर्देशन समेत दिन नसक्नेगरी थला परेको देख्दा केन्द्रीय कमिटी सदस्यहरू अचम्भित छन् ।
प्रचण्डले ‘लाइकमाइन्डेड’हरूको समूह बनाएर त्यसैका आधारमा पार्टी सञ्चालन गर्न खोजेको ओली समूहले आरोप लगाएको छ ।
“पार्टीभित्र निश्चित मान्छेहरू, लाइकमाइन्डेड (समान विचार) भनिएकाहरू बस्ने, बसेर सन्दर्भ समूह बनाउने, सन्दर्भ समूहले बनाएको विचारका आधारमा पार्टीलाई प्रभावित बनाउन खोज्नु सर्वथा अनुचित कुरा हो,” सचिवालय सदस्य ईश्वर पोखरेल भन्छन् ।







